१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अस्पतालबाट १ घण्टा बाहिर निस्किए नर्स

काठमाडौं- विभिन्न माग राख्दै बुधवारदेखि सुरु भएको नर्सहरुको आन्दोलन शुक्रवार पनि जारी रह्यो। शुक्रबार पनि देशभरका नर्सहरु एक घण्टा अस्पतालमा ड्युटी छोडेर बाहिर निस्केका थिए। ‘माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ’, नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले भनिन्। नर्सहरुले विभिन्न ११ सुत्रीय मागहरु राखेका छन्।

मानवअंग प्रत्यारोपण केन्द्रका नर्सहरुमाथिको अनियमितता,अन्य स्वास्थ्य संस्थाहरुमा नर्सहरु माथि भएको शोषण र नर्स नर्सिङ पेशामा भएका नीतिगत बिभेदका बिरुद्धमा संघले ११ सूत्रीय माग राखी आन्दोलन सुरु गरेका हुन्। ‘माग पुरा नभएसम्म आन्दोलन जारी हुन्छ,भोलीदेखि तीन घण्टा बाहिर निस्कने कार्यक्रम छन्,’ महासचिव केसीले भनिन्।

स्वास्थ्य मन्त्रालयको मानवअंग प्रत्यारोपण केन्द्रको बिषयमा बनेको छानविन समितिले बुधबारनै मन्त्रालयमा प्रतिवेदन पेश गरिसकेको छ। प्रतिवेदनले मानव अंग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य मन्त्रालयको नियमावली बिपरित कर्मचारी भर्ति गरेको र आन्तरिक द्धन्द्ध व्यवस्थापन गर्न नसकेको कमजोरी औंल्याएको छ। प्रतिवेदन हेरी कस्तो कारबाही गर्ने भन्ने जिम्मा भने मन्त्रालयको सचिवको रहेको छानविन समितिका संयोजक भोलाराम श्रेष्ठले बताए। ‘हामीले प्रतिवेदन बुझाएका छौं,के गर्ने सचिव ज्यूको निर्णय हुन्छ’श्रेष्ठले भने।

मन्त्रालयको प्रतिवेदन अहिलेसम्म संघमा नआएको र नर्सको पूर्नवहाली नगर्ने प्रतिवेदनले आन्दोलनको माग सम्बोधन नहुने भएकोले माग जारी रहने संघकी महासचिव केसीको तर्क छ। ‘हामीले अहिलेसम्म लिखित प्रतिवेदन पाएका छैनौं,माग सम्वोधन नभएको प्रतिवेदन मान्य हुने छैन’ उनले भनिन्।

नर्स बाहिर निस्कदा अस्पतालको वार्डमा विदामा परेका नर्सहरुलाई लिएर बिरामीलाई असर नपर्ने गरी व्यवस्थापन गरेको अस्पतालहरुले जनाएका छन्। ‘अन्य दिन पनि थप ड्युटी खटाएरै व्यवस्थापन गर्ने सोंचमा छौं’टिचिङ अस्पतालका प्रशासक गोविन्द बहादुर प्रधानले भने।

 

 

प्रकाशित: २८ पुस २०७४ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App