१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सप्तरीका अस्पतालमा औषधी अभाव

सप्तरी- सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधी अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् ।

स्थानीय निकायको निर्वाचन पश्चात सरकारी संस्था स्थानीय निकायमा हस्तान्तरण भएको र सम्बन्धित स्थानीय निकायले औषधी खरिद नगर्दा स्वास्थ्य चौकी तथा अस्पतालमा  औषधी अभाव भएको गुनासो आएको हाे ।

करिब ८० प्रकारका औषधी अस्पताल तथा स्वास्थ्य चौकीबाट वितरण गर्नुपर्ने सरकारी प्रावधान रहे पनि हाल सिटामोल समेत नरहेको बुझिएको छ ।

वरदाही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रामनारायण मिश्रका अनुसार औषधीको पुरानो मौज्दात सकिएको र हाल थप औषधीको व्यवस्था नभएका कारण सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । उता जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि औषधि अभाव भएको त्यहाँका कर्मचारीले बताउँदै आएका छन् ।

नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरी जिल्लाअन्तर्गत राजविराज नगरपालिकाभित्र रहेको सगरमाथा अञ्चल अस्पतालमा समेत औषधी र स्वास्थ्यकर्मीको अभाव रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा दयाशंकरलाल कर्णले बताए ।

तीन सातादेखि चिसो हावा र शीतलहरका कारण सप्तरीमा निमोनिया, रुघाखोकी, स्वासप्रश्वास, दम लगायतका बिरामीको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

तर उनीहरुको उपचारका लागि सप्तरीमा औषधी अभाव भएको छ । निःशुल्क औषधि नपाउँदा आर्थिक अभाव भएका व्यक्ति बाहिर गएर औषधि खरिद गर्न पनि कठिन भइरहेको र खरिद गर्न जाँदा खर्चिलो हुने गरेको स्थानीय अजयकुमार भगतले बताए ।

हाल सप्तरी जिल्लामा अत्यधिक चिसोका कारण आधा दर्जन व्यक्तिले ज्यान गुमाइसकेका छन् । रासस
 

प्रकाशित: २७ पुस २०७४ ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App