१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिकाले थाल्यो खरको छाना विस्थापन अभियान

रोल्पा-  रोल्पाको सुवर्णावती गाउँपालिकाले पाँच वर्षभित्र सबै खरका छाना विस्थापन गर्ने भएको छ ।

गाउँपालिकाको प्रथम सभाले पाँच वर्षभित्र गाउँपालिकालाई खरको छानारहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको बताएको छ ।

विगतमा खरको छाना भएका घर आगलागीको चपेटामा परेको हुँदा आगामी दिनमा सो समस्याबाट बच्नका लागिसमेत यस्तो अभियान चालिएको सुवर्णावती गाउँपालिका–४ का वडाध्यक्ष जेडबहादुर विष्टले जानकारी दिए ।

आगलागीको अत्यधिक सम्भावना हुने र दुई-चार वर्षको अन्तरमा छाना परिवर्तन गरिरहनु पर्ने समस्याबाट मुक्त हुन गाउँपालिकाले यस्तो निर्णय गरेको विष्टले बताए ।

गाउँपालिकाभित्र बसोबास गर्दै आएका गरिब र विपन्नका लागि टिनको पाता सहयोग गर्ने भन्दै चालु आवमा रु एक करोड विनियोजन भइसकेको गाउँपालिकाले बताएको छ । गरिबीका कारण टिनले घर छाउन नसक्नेका लागि प्रति घरधुरी रु ५० हजार मूल्य बराबरको कर्कट पाता सहयोग गर्ने भएको छ ।

बढ्दो सुख्खा खडेरीका कारण आगलागीको प्रकोप बढिरहेको हुँदा खरको छाना आगलागीको अत्यधिक जोखिममा रहने भएकाले गाउँपालिकाभित्रका सबै फुसका घर विस्थापित गराउने निर्णय गरेका छाैँ, सुवर्णावती गाउँपालिका–३ का वडाध्यक्ष गंज क्षेत्रीले भने।

यस वर्ष गाउँपालिकाभित्र पर्ने आठवटै वडाका २०० घरधुरीलाई रु ५० हजारका दरले सहयोग गर्ने क्षेत्रीले जानकारी दिए । आफ्नो वडाका २५ गरिब घरधुरी छनोटका लागि आफैँ सर्वेक्षणमा गएर वास्तविक गरिब छनोट गरिने क्षेत्रीले बताए ।

 

प्रकाशित: २७ पुस २०७४ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App