१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जाजरकोटका बिरामीको उपचारमा खटिए जुम्लाका चिकित्सक

जुम्ला – दुई सातादेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आउन नसकेपछि जुम्लाबाट विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ । भाइरल ज्वरोका  बिरामीको उपचार गर्न जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट बालरोग विशेषज्ञ डा. नम्रता सिन्दान, मेडिकल अधिकृत सूर्य चौधरीसहितको टोली जाजरकोट गएको हो ।

जाजरकोट जुम्लासँग जोडिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्षेत्रभित्र पनि पर्ने भएकाले चिकित्सक टोली रोग प्रभावित क्षेत्र पठाइएको अस्पतालका निर्देशक धर्मराज गोसाईले बताए । उनका अनुसार क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले पत्र लेखेर भाइरल ज्वरो प्रभावित क्षेत्रमा बिरामीको उपचारका लागि विशेषज्ञ टोली पठाइदिन आग्रह गरेका थिए ।  चिकित्सकको टोली पुगेपछि बिरामीलाई राहत पुग्ने उनको भनाइ छ । कर्णाली राजमार्ग हँुदै टोली जाजरकोटका लागि हिँडिसकेको छ, उनले भने, टोली कम्तीमा दुई सातासम्म त्यहाँ बस्नेछ । गोसाईले भाइरल ज्वरोको प्रकोप नियन्त्रण नहुन्जेलसम्म विशेषज्ञ टोली नफर्कने बताए ।

भाइरल प्रभावित गाउँमा स्थानीय चिकित्सकले रोग नियन्त्रणमा ल्याउन नसकेपछि जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि पठाइएको छ ।
 

जुनुचाँदेका विभिन्न वडामा भाइरल प्रकोप बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ । भाइरल ज्वरोबाट मंगलबारसम्म १२ जनाको ज्यान गइसकेको चिकित्सकले बताएका छन् । रुघा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्नेजस्ता समस्या पीडितमा देखिएको चिकित्सक डा. पवन शाक्यले बताए । भाइरल प्रभावित गाउँमा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट परिचालित चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको टोलीले रोग नियन्त्रणमा ल्याउन नसकेपछि मंगलबार जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि पठाइएको डा. शाक्यले बताए ।  जिल्ला अस्पताल जाजरकोटका निमित्त प्रमुखसमेत रहेका डा. भूपेन्द्र मल्लले पनि गाउँमा भाइरलको प्रकोप बढ्दै गएका कारण उपचारमा खटिएको बताए । डा. शाक्यका अनुसार अहिलेसम्म सात सयभन्दा बढीको उपचार गरिसकिएको र अझै दुई हजारभन्दा बढी बिरामी उपचारको पर्खाइा छन् ।   

यसैबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले मुगु र कालिकोटमा पनि विशेषज्ञ सेवा सुरु गर्ने भएको छ । कालिकोटमा महिनाको दुईपटक र मुगुमा महिनामा एकपटक विशेषज्ञ टोलीले बिरामीको जाँच गर्ने निर्णय भएको जानकारी गोसाईले दिए ।

उनका अनुसार विशेषज्ञ सेवा सञ्चालनका लागि दुइटै जिल्ला स्वास्थ्य कार्यालयमा कार्यतालिकासहित पत्राचार भइसकेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सक टोली बिरामीको घरदैलोमै पुग्नेछ । पिछडिएका जिल्लामा सेवा विस्तार गर्ने तयारीका साथ कालिकोट र मुगुमा प्रतिष्ठानले सेवा विस्तार गरेको हो ।
‘कार्यक्षेत्रभित्र पर्ने प्रत्येक अस्पतालसँग सुझाव माग्छौं,’ गोसाईले भने, ‘सेवा विस्तार गर्दै जान्छौं ।’ अहिले जुम्ला अस्पतालबाट हाडजोर्नी, एनेसथेसिया, मेडिसिन, गाइनो र बालरोगसँगै जनरल सर्जरीका लागि विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ । प्रतिष्ठानले कर्णालीका डोल्पा र हुम्लामा पनि विशेषज्ञ सेवा दिइरहेको छ ।
 

 

प्रकाशित: २७ पुस २०७४ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App