१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तालको पानी हिउँमा परिणत

मनाङको माथिल्लो मनाङस्थित गंगापूर्ण ताल । यो तालको पानी अहिले चिसोका कारण जमेको छ । तालको पानी जमेर समथर मैदान बनेको छ । तस्बिर सौजन्यः हरिप्रसाद पन्त

पोखरा – हिमाली जिल्ला मनाङमा चिसोले दैनिकी कष्टकर बन्दै गएको छ । चिसोका कारण तालको पानीसमेत जमेको छ । अधिक चिसो भएपछि प्रहरीले मातहतका कर्मचारीलाई हिमाली ज्याकेटसहितका न्यानो कपडा लगाउन अनिवार्य गरेको छ । त्यस्तै चिसोबाट जोगिन ठाउँठाउँमा सामूहिक रूपमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

चिसोका कारण माथिल्लो मनाङको गंगापूर्ण तालको पानी जमेको छ । तालको पानी जमेपछि स्केटिङ खेल्न मिल्नेगरी समथर भएको त्यहाँस्थित प्रशासनले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले गंगापूर्ण तालको पानी जमेर समथर बनेको जानकारी दिए । ‘स्केटिङ खेल्न मिल्नेगरी तालको पानी कडा स्वरूपमा जमेको छ,’ उनले भने ।


मनाङको तापक्रम योपटक माइनस १६ डिग्रीसम्म ओर्लेको छ । तापक्रम यतिसाह्रै तल ओर्लेको पहिलोपटक हो । मौसम विज्ञान विभागले यसबारेमा निरन्तर जानकारी लिइरहेको छ ।


पन्तले घाम लागे पनि चिसो अधिक रहेको बताए । ‘गंगापूर्ण ताल जमेर हिँड्न मिल्ने भएको छ,’ पन्तले भने, ‘ताल नै जम्ने गरी चिसो भएपछि योपटक अवस्था अलि जटिल बनेको छ ।’ उनले चिसोबाट जोगिन कर्मचारी र सर्वसाधारणलाई आग्रह गरेको बताए । ‘सबैतिर सुनसान छ । कार्यालयमा सेवाग्राही कम छन्,’ उनले भने । सर्वसाधारणलाई चिसोबाट जोगिन सचेत गराउँदै जिल्लाका विभिन्न ६ ठाउँमा सामूहिक रूपमा आगो ताप्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । ‘मनाङको तापक्रम यतिसाह्रै तल ओर्लेको पहिलोपटक रहेछ,’ उनले भने, ‘मौसम विज्ञान विभागले समेत यसबारेमा हामीसँग जानकारी लिइरहेको छ ।’ मनाङको तापक्रम योपटक माइनस १६ डिग्रीसम्म ओर्लेको उनले बताए ।
मनाङका प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले मातहतका कर्मचारीलाई चिसोबाट जोगिन सचेत गराउँदै हिमाली ज्याकेट लगाउन अनिवार्य गरेको बताए । ड्युटीमा खटिँदा हिमाली ज्याकेटसहितका न्यानो कपडा लगाउन कर्मचारीलाई आग्रह गरेको उनले जानकारी दिए । त्यसबाहेक प्रहरीले बढी चिसो भएका ठाउँका बासिन्दाका लागि दाउरासमेत वितरण गरेको छ ।

अधिकारीले अधिक चिसो भएपछि प्रहरीलाई नै सचेत बनाएको बताए । ‘चिसोका कारण प्रहरी नै बिरामी पर्न सक्छन् । त्यही भएर हिमाली ज्याकेट र ट्राउजर लगाउन भनेका हौं,’ अधिकारीले भने, ‘अधिक चिसोका कारण ड्युटीमा खटिन पनि मुस्किल छ । तर पनि सचेतना अपनाउन भनेका हौं ।’ चिसोका कारण मनाङका बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको डिएसपी अधिकारीले बताए ।

हिमाली जिल्लामा खटिने प्रहरीका लागि सरकारले नै हिमाली ज्याकेट वितरण गर्दै आएको छ । अन्यको तुलनामा हिमाली ज्याकेट बढी न्यानो हुने भएकाले लगाउन निर्देशन दिएको समेत अधिकारीले बताए । ‘अत्याधिक चिसोका कारण मनाङमा जनजीवन थप कष्टकर बन्ने देखिएको छ । त्यही भएर प्रहरीलाई त सचेत बनाएका छौं नै स्थानीयलाई पनि जाडोबाट जोगिन भनेका छौं,’ उनले भने । उनका अनुसार घाम लाग्दा तापक्रम केही बढेर न्यानो अनुभव भए पनि बिहान बेलुकी निकै ने चिसो छ

डिएसपी अधिकारीले मनाङ सदरमुकाम चामे गाँउपालिकाअगाडिको चौर, नेस्याङ–४ हुम्दे बजार, नेस्याङ–६ मनाङ बजार, नासोङ गाउँपालिका भवनअगाडि, चामेको कोतो बजार, ताल बजारलगायतका स्थानमा मनाङ प्रहरीले हरेक दिन दिउँसो ४ बजेदेखि नै सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाएको छ ।


‘स्थानीय प्रशासनसँग समन्वय गरेर सामूहिक रूपमा दाउरा संकलन गरेर आगो बाल्ने व्यवस्था मिलाएका छौं,’ उनले भने । डिएसपी अधिकारीका अनुसार मनाङको सदरमुकाम चामेमा जिल्ला प्रहरी कार्यालयसहित हुम्दे, धारपानी, ताल र क्युबारमा प्रहरी चौकी छन् । ती चौकीमार्फत स्थानीयका लागि आगो ताप्ने व्यवस्था मिलाएको अधिकारीले बताए ।
‘स्थानीयलाई पनि चौकी भएका ठाउँमा आगो ताप्ने व्यवस्था गरेका छौं । हुनेखाने जाडो छल्न बजार झरेका छन्,’ उनले भने, ‘जिल्लाभित्रै रहेका बासिन्दाका लागि न्यानोको व्यवस्थापन गरेका हौं ।’ उनका अनुसार जिल्लामा सबै गरी १ सय ८८ जना प्रहरीको दरबन्दी रहेकोमा हाल १ सय ३२ जना छन् । अरू निर्वाचनपछि बिदामा बसेका छन् ।


करिब ६ हजार ५ सय जनसंख्या रहेको मनाङमा ४ हजारभन्दा बढी मान्छे जिल्लाबाहिर छन् । जिल्लाबाट बाहिरिएकाहरू काठमाडौं, बेशीसहरलगायतका ठाउँमा बस्दै आएका छन् । कात्तिक लाग्न थालेपछि जिल्ला छाड्ने स्थानीयहरू फागुनपछि बल्ल घर फिर्न थाल्छन् । अधिक चिसोका कारण मनाङका निजी तथा सरकारी विद्यालय बन्द रहेको प्रहरीको भनाइ छ ।


 

प्रकाशित: २७ पुस २०७४ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App