१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरासँग छैन ‘कोसेली’

पोखरा – पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सम्झनाको चिनो वा कोसेली के लैजान्छन् ? व्यवसायी भन्छन्, ‘माछापुच्छेको छाँया फेवातालमा परेको दृश्य देखिने तस्बिर मात्र ।’ त्यसबाहेक यहाँ कुनै त्यस्तो विशेष उत्पादन वा ब्रान्ड छैन, जसले पोखरालाई चिनाउँछ । पर्यटन क्षेत्रमा छुट्टै पहिचान बनाए पनि उत्पादन क्षेत्रमा पोखराले अहिले सबै पाहुनाको कोसेली हुने विशेष उत्पादन दिन नसकेको व्यवसायीको भनाइ छ । भएका पुराना उत्पादनलाई निरन्तरता दिन नसक्दा अहिले पोखराले कोसेलीमा पहिचान गुमाएको व्यावसायी बताउँछन् ।

‘पोखरासँग वास्तवमा अहिलेसम्म विशेष कोसेली केही छैन, जसलाई घुम्न आएका पाहुनाले चिनो बनाउन सकून्,’ युवा व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेल भन्छन्, ‘हामी यसमा चुकेका हुन सक्छौं ।’
विभिन्न जिल्लाको उत्पादन ती ठाउँका गहनासरह मूल्यवान हुने भए पनि पोखराको ब्रान्ड अहिलेसम्म कतै नरहेको उनले बताए । उनले अहिले फेवातालमा माछापुच्छेका छायाँ परेको तस्बिर मात्र बिकेको बताए । ‘अहिलेसम्म हेर्ने फोटोमात्र यहाँको चिनो हो । पोखरा घुम्न आउनेले अरु केही पाएका छैनन्,’ उनले भने, ‘कोसेलीको रुपमा घरमा सजाएर राख्न मिल्ने उत्पादन छैन ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार पोखरासँग केही वर्षअघिसम्म धेरै नै उत्पादन थिए, जुन पोखरा आएका पाहुनाले चिनोको रुपमा किनेर लैजान्थे । ती अहिले सबै हराइसकेका छन् । चिनोको रुपमा स्थानीय स्तरमा उत्पादित सामग्री हराउँदै गएको र नयाँ ब्रान्ड नआउँदा पोखराले चिनो गुमाएको उनी बताउँछन् ।
‘अहिले पर्यटकले पोखरा घुमेर फर्किंदा कोसेलीको रुपमा लैजाने केही पनि छैन, कुनै पनि ब्रान्ड हामीसँग चिनोको रुपमा छैन,’ उनले भने, ‘पोखराको आफ्नो ब्रान्ड नहुनु दुखद हो ।’ उनका अनुसार पोखरामा बिक्री हुने थान्का, पस्मिना यहाँका उत्पादन होइनन् । बाहिरबाट आयात गरेर बिक्री गरिएको हो । ‘चिनोको रुपमा केहीले थान्का र पस्मिना किनेर लगे पनि त्यो पोखराको ब्रान्ड होइन,’ उनले भने ।

संघका उपमहासचिव पोखरेल सानो आकारको लगानीबाट पनि गज्जबको कोसेली बन्न सक्ने अवस्था भए पनि त्यसतर्फ ध्यान नगएको बताउँछन् । ‘पोखराको चिनो उत्पादन गर्न ठूलो लगानी जरुरी छैन । सानै लगानीले पनि पोखरा झल्काउँछ,’ उनले भने, ‘यसमा हाम्रो सोच नपुगेकै हो । अब सानो लगानीमा अर्थपूर्ण कोसेली बनाउनुपर्छ । ब्रान्ड कायम गर्न सक्यो भने यहाँ आउने पर्यटक त्यसका लागि ठूलो खर्च गर्न तयार छन् ।’

पोखरा पर्यटकीय सहर भएकोले पनि सानो मूल्यमा चिनो किन्न सक्ने गरी उत्पादनमा ध्यान दिनुपर्ने उनको धारणा छ । ‘उत्पादन यस्तो होस्, जसले पोखराको पहिचान पनि कमाओस् र व्यवसायीलाई उद्यमशील पनि बनाओस्,’ पोखरेलले भने ।

पूर्वअध्यक्ष मुल्मीका अनुसार पोखरा व्यापारिक केन्द्र बन्नुअघि यहाँ राडी, पाखी, घरेलु कपडा उत्पादन हुन्थे । घरघरमा हुने तानमा बुनेका ती सामग्री चिनोको रुपमा बिक्री हुन्थ्यो । पछि त्यो परिष्कृत भयो र गलैंचा बनाउन थालियो । गलैंचा घरमै बुन्ने गरिन्थ्यो । तर अहिले ती गलैंचा पनि पोखराबाट हराएको उनले बताए । उनका अनुसार कपडापछि पोखराको पहिचान दिलाउने गरी यहाँ तामा, पितल र काँसका भाडा प्रचलित थिए । पोखराको पुरानो बस्ती तेर्सापट्टिमा ती भाँडा उत्पादन हुन्थे । बागलुङदेखि पाल्पासम्म यी भाँडाको व्यापार हुन्थ्यो र चिनारीको रुपमा लिने गरिन्थ्यो । ती सामान पनि हराउँदै गएको उनले बताए । ‘तामा, पितल, काँसका भाँडा थकाली र गुरुङ समुदायले घरमा सजाएर राख्ने चिनोको रुपमा थिए । तर, ती पनि अहिले हराए,’ उनले भने ।

मुल्मीका अनुसार २०१७ पछि तिब्बती पोखरा आए । नेपाल भित्रिएका तिब्बतीले कार्पेट उद्योग खोले । नेपालको कार्पेट उद्योग पोखराबाटै सुरु भएको हो । पोखरामा तिब्बतीले सुरु गरेको कार्पेट कुनै बेला निकै नै चल्तीमा थियो । ती पनि हराउँदै गए । पछि कार्पेट उद्योग ललितपुरको जावलाखेल सारियो । २०२५ पछि ललितपुरमा कार्पेट बनाउने काम सुरु भएको उनले बताए ।

त्यसपछि पोखरा चिनाउने छवालीका सामान बन्न थाले । छवालीका झोला, पूजाथाली लगायत सामान बन्न थालेका थिए । एक दशकसम्म त्यसको भरपूर उपयोग भयो । अझ पनि छवालीका सामान बनाउने काम कास्की बाहिरका जिल्लामा हुन्छ । तर, पोखराले सुरुवात गरको छवालीका सामान अहिले हराइसकेको मुल्मीले बताए ।

‘फरकफरक समयमा पोखराको पहिचान दिने सामान थिए । ती सामानले अहिले बजार हिस्सा गुमाए,’ मुल्मीले भने, ‘अब नयाँ उत्पादन जरुरी छ, जसले पोखरालाई चिनाओस् ।’ पोखरा अब ठूलो सहर भइसकेकोले पनि यसको महŒव रहेको उनले बताए । उनले पोखराले कुनै चिनो निकाल्यो भने त्यसले अझै पनि बजार पाउने सम्भावना रहेको बताए । ‘गतिलो उत्पादनलाई ब्रान्ड बनाउन सक्ने हो भने त्यसले पक्कै बजार पाउँछ,’ उनले भने, ‘चिनो वा उपहार त्यो सहरको कथाको रुपमा रहन्छ ।’

महिला उद्यमी गीताकुमारी तिवारी उपहारको सामान उत्पादन गर्न नसकेको अवस्थाले उद्यमशीलतामा पोखरा एकदम कमजोर रहेको प्रस्ट्याउने बताउँछिन् । ‘घुम्नका लागि पाहुना पोखरा आउँछन्, लेकसाइड गएपछि भयो, आँखाका लागि चिनो छ, दिने केही छैन’ उनले भनिन् ।

इतिहासका जानकार गेहेन्द्रमान उदास पोखराले आधुनिकतासँगै चिनो गुमाएको बताउँछन् । ‘कुनै बेला पोखरा भन्नासाथ त्यसको सम्बन्ध राडी, पाखी, घलेकसँग जोडिन्थ्यो,’ उनले भने, ‘अहिले ती सबै हराए । नयाँ उत्पादन आएनन् ।’
नेवार समुदायले पोखरामा चिनाएको काँस, तामाका भाँडाको पनि अहिले पहिचान गुमेको उनले बताए । पूर्वप्राध्यापक समेत रहेका उदासले अब पोखरालाई प्राकृतिक रुपमा मात्र नभई उत्पादनले पनि चिनाउनुपर्ने बताए । ‘पोखरा सहरको विशेष चिनो ल्याइदिनू भनेर कसैले अह्रायो भने अब दिने केही छैन,’ उनले भने, ‘अब यसमा ध्यान दिने बेला भएको छ ।’

प्रकाशित: २७ पुस २०७४ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App