१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डेरी उद्योगमा १५ अर्ब लगानी

काठमाडौं – किसानले उत्पादन गरेको दूधको व्यवस्थित बजारीकरण गर्न निजी क्षेत्रले करिब १५ अर्ब रुपैयाँ लगानी गरेको छ । दुग्ध उत्पादमा चार लाख ५० हजार किसान आबद्ध रहेको र २० हजारभन्दा बढीले रोजगारी पाएको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

एसोसिएसनको सातौं महाधिवेशनको अवसरमा बुधबार आयोजना गरिएको पत्रकार भेटघाटमा सो जानकारी दिइएको हो । व्यवसायीले दूधमा गरिएको मूल्य समायोजनलाई ‘त्रुटिपूर्ण’ भन्दै यसबाट डेरी उद्योगले घाटा बेहोर्नु परेको दाबी गरे । उनीहरुकै भनाइमा ‘दुग्ध विकास संस्थानको बदमासी’का कारण डेरी उद्योगले प्रतिलिटर २ रुपैयाँ १४ पैसा घाटा बेहोर्नुपरेको एसोसिएसनका अध्यक्ष सुमित केडियाले बताए ।

मूल्य समायोजन गर्दा किसानले ६९ प्रतिशत र डेरी उद्योगले ३१ प्रतिशत मूल्य पाउने गरेका छन् । सरकारले विगत तीन वर्षयता दूधमा प्रतिलिटर ६ रुपैयाँ मूल्य वृद्धि गरेको छ । संस्थानले भने भित्रभित्रै किसानबाट निर्धारित मूल्यभन्दा बढीमा दूध खरिद गर्ने गरेकोले निजी डेरी उद्योग मर्कामा परेको केडियाले दाबी गरे । संस्थानका कारण निजी डेरीले दूध अभावसमेत बेहोर्नु परेको उनको तर्क थियो ।

केडियाले दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि समयसापेक्ष मूल्य समायोजनका साथै नीतिगत सुधारमा जोड दिए । डेरी उद्योगको लागत खर्च र कच्चा दूधको गुणस्तरमा थप सुधार, कुशल उत्पादन प्रणाली, प्रशोधन प्रणाली लगायतको प्रविधिलाई किसान र उद्योग तहसम्म व्यापकता दिनुपर्ने, डेरी रिसर्च इन्स्टिच्युटको स्थापना र प्रविधि सुधार गर्नुपर्ने माग गरेका छन् । सरकारले डेरी उपकरण आयातमा सहुलियत दिँदै आएकोमा डेरी मेसिनरीमा पनि सहुलियत दिनुपर्ने माग व्यवसायीले गरेका छन् । एसोसिएसनका अनुसार कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान छ ।

दूधबाट दैनिक ३ करोड रुपैयाँभन्दा बढी रकम सहरबाट गाउँतर्फ प्रवाह भइरहेको छ । कुल ४८ लाख ५० हजार लिटर उत्पादित दूधमध्ये १५ प्रतिशतमात्रै डेरी उद्योगसम्म आपूर्ति हुने गरेको एसोसिएसनले जनाएको छ । ३५ प्रतिशत अनौपारिचक रुपमा खपत हुने गरेको छ । उत्पादन गर्ने किसानले ५० प्रतिशत दूध उपभोग गर्छन् ।
 

प्रकाशित: २७ पुस २०७४ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App