१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हिरासतमै अनशन

काठमाडौं- चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले प्रहरी हिरासतमैै अनशनलाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामालगायत माग राखेर सोमबार १४औं अनशन थालेका केसीलाई त्यसको केही घन्टामै अदालतको अपहेलना आरोपमा गिरफ्तार गरिएको थियो ।

आदेशअनुसार प्रहरीले मंगलबार बिहान केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराए पनि बयान नसकिएको भन्दै हिरासतमा राखिएको छ । केसीले माग पूरा नभएसम्म अनशन जारी राख्ने अडान दोहो¥याएका छन् ।
स्वास्थ्यमा उतारचढाव देखिएपछि केसीलाई वीर अस्पताल, मेडिकल विभागमा भर्ना गरिएको छ । केसीको रक्तचाप घटेको, मुटुको चालमा उतारचढाव देखिएको चिकित्सकले बताएका छन् । प्रहरीले केसीलाई वीर अस्पताल भर्ना गरिएको जनाएको छ । प्रहरी निगरानीमै वीर अस्पतालमा भर्ना गरिएका केसीलाई मोबाइलमा कुरा गर्नसमेत दिइएको छ । केसी पक्षले आफूले उपचार नमागेको प्रहरीले जबरजस्ती वीर अस्पतामा भर्ना गराएको बताएका छन् ।
केसीले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरी ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशन थालेका थिए । पत्रकार सम्मेलनपछि केसीविरुद्ध परेको अपहेलना मुद्दामा सर्वोच्च अदालतले उनलाई पक्राउ गरी उपस्थित गराउन आदेश दिएको थियो । आदेशपछि प्रहरीले सोमबार राति उनलाई अनशनस्थलबाटै गिरफ्तार गरी महानगरीय प्रहरी बृत सिंहदरबारमा राखेको थियो ।
अदालतको आदेशअनुसार प्रहरीले मंगलबार ९ बज्न २० मिनेट बाँकी रहँदै केसीलाई सर्वोच्च अदालत पु¥याए पनि बयान दिउँसो २ बजेदेखि मात्र लिइएको थियो । उनलाई प्रहरी एम्बुलेन्समा अदालत लगिएको थियो ।
केसीलाई गिरफ्तार गर्न सोमबार ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । अनशनस्थलबाट पक्राउ गरी महानगरीय प्रहरी बृत सिंहदरबारमा राखिएका केसीलाई सोमबार राति ११ बजेतिर उनका केही सहयोगी र अधिवक्ता सुरेन्द्र कार्कीसँग भेट गर्न दिइएको थियो । मंगलबार बिहान केसीलाई उनका सहयोगी र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रहरी हिरासतमा भेटेका थिए । यसअघि नेपाल चिकित्सक संघले सोमबार राति नै विज्ञप्ति निकालेर केसीलाई निसर्त रिहा गर्न माग गरेको थियो ।
केसीको गिरफ्तारीविरुद्ध मंगलबार विभिन्न ठाउँमा प्रदर्शन भएका छन् । बिहान आठ बजे राजधानीको माइतीघरमा हजारांै समर्थक भेला भएर केसीको पक्ष र गिरफ्तारीको विरोधमा प्रदर्शन गरे । चितवनको भरतपुरमा पनि प्रदर्शन गरिएको छ । डा. केसी अलाइन्सले बुधबार दिउँसो १ बजे देशभर  प्रदर्शन गर्न आह्वान गरेको संयोजक डा. अभिशेक सिंहले बताए । सिंहका अनुसार प्रदर्शनमा सहभागीले ‘म पनि डा. केसी, मलाई पनि पक्राउ गर’ भन्ने प्ले कार्ड बोक्ने  छन् ।
प्रदर्शनमा सहभागीले ‘निमुखाका लागि न्याय, समानता र आत्म सम्मानविरुद्ध न्याय, म पनि डा. गोविन्द केसीको समर्थन गर्छु, न्यायालय खोई, म पनि  डा. केसी अरेस्ट मि’ जस्ता नारा लगाएका थिए । माइतीघरमा पूर्वप्रधानमन्त्री डा. भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रवप्न्द्र मिश्र, कलाकार, चिकित्सक, पत्रकार मानवअधिकारकर्मी, पूर्वप्रशासकलगायतको ठूलो उपस्थिति थियो ।
विरोध कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य थापाले स्वतन्त्र र मर्यादित न्यायपालिका माग्दा मानहानिको मुद्दा लाग्ने भए सबैलाई लगाउन चुनौती दिए । उनले २०६० सालमा आफूमाथि राजाद्रोहको मुद्दा लगाइँदाको प्रसंग पनि सुनाए । ‘विशेष अदालतमा मेरोतर्फबाट बहस गर्ने वकिलमध्ये सुवास नेम्बाङ पनि हुनुहुन्थ्यो । अदालतमा बहस चलिरहँदा नेम्बाङले बाहिर के नारा लागिरहेको, छ सुन्नुस् त भन्नुभयो । बाहिर तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध नारा लागिरहेको थियो । अनि नेम्बाङले गगनलाई मानहानि लाग्छ भने बाहिर नारा लगाउने सबैलाई लगाउनुस् भनेपछि मलाई तारेखमा छाडिएको थियो ।’

थापाले डा.केसीले उठाएको विषय चिकित्सा शिक्षा सुधारमात्रै नभएर ३ करोड नेपालीको स्वास्थ्य सेवासँग जोडिएको बताए । ‘डा. गोविन्द केसीलाई मानहानिको मुद्दा लाग्छ भने हामी सबैलाई मुद्दा लगाइयोस्’, उनले भने, ‘डा. गोविन्द केसीलाई तत्काल रिहा गरियोस् ।’ विवेकशील साझा पार्टीका संयोजक मिश्रले डा. केसीलाई रातारात गिरफ्तार गर्नु निन्दनीय भएको बताए । ‘यो लज्जाजनक विषय हो’, उनले भने, ‘अहिलेको अवस्थामा केसीलाई रिहा गर्नुपर्छ । उनले लगाएका आरोपमाथि छानबिन गर्नुपर्छ ।’ चिकित्सक जीवन क्षेत्री, अभिशेक सिंह, कालुसिंह खत्रीलगायतले गिरफ्तारीको विरोध गरेका थिए ।
यसैगरी डा. केसीलाई गिरफ्तार गरिएको घटनाको विभिन्न दलका नेता एवं सामाजिक अगुवाले विरोध गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् पूर्वसभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्री भट्टराई, माओवादी नेता नारायणकाजी श्रेष्ठ, एमाले सचिव प्रदीप ज्ञवाली, पूर्वस्वास्थ्यमन्त्री थापा, कांगेस नेता विश्वप्रकाश शर्मा, धनराज गुरुङलगायतले केसीको गिरफ्तारीको विरोध गरेका छन् ।

प्रकाशित: २६ पुस २०७४ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App