१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कम छैनन् कोरियोग्राफर

काठमाडौं – सन् २००२ की ‘मिस नेपाल’ माल्भिका सुब्बा फेसन कोरियोग्राफीमा आपूmलाई ‘चुजी’ कोरियोग्राफर मान्छिन् । उनले कोरियोग्राफी गरेको सौन्दर्य प्रतियोगिताको संख्यालाई हेर्दा उनी ‘चुजी’ नै हुन् भन्ने प्रष्टिन्छ । २१ वर्षको उमेरमा ‘मिस नेपाल २००२’ बनेपछि यता उनले हालसम्म ७ वटा मात्र सौन्दर्य प्रतियोगिता र त्यही अनुपातमा फेसन गतिविधिमा कोरियोग्राफी गरेकी छन् ।

‘म प्रायः विदेशमा हुने नेपालीले आयोजना गर्ने सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गर्छु । मलाई स्वदेशमा भन्दा बढी विदेशमा बस्ने नेपालीहरुबाट नै कोरियोग्राफीको अफर आउँछ,’ माल्भिकाले खुलाइन्, ‘विदेशमा हुने सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गर्दा आफ्नो डिमान्ड जति नै पैसा पाउँछु । तर नेपालमा मेरो कोरियोग्राफीको रेट भन्दा आयोजक तर्सिन्छन् ।’

माल्भिकाले सन् २०१७ मा ‘मिस युके नेपाल’, ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ र ‘मिस्टर एन्ड मिस लुम्बिनी कलेज’ गरी तीनवटा मात्र सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरिन् । ‘म जुन पायो त्यही सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गर्दिन । आफूलाई चित्त बुझ्ने र मनपर्ने किसिमका मात्र इभेन्टको कोरियोग्राफी गर्छु,’ उनले नागरिकसँग भनिन्, ‘पारिश्रमिक भनेको कामको अवस्था अनुसार हुन्छ । बढी समय लाग्ने काम र कम समय लाग्ने काम हेरेर पारिश्रमिक निर्धारण हुन्छ ।’

पारिश्रमिकको रकम माल्भिकाले खुलाउन नचाहे पनि आयोजकले आफूलाई दिने पारिश्रमिकमा कहिल्यै पनि रोक नलगाएको खुलाइन् । ‘अहिलेसम्म च्यारिटी बेस इभेन्टको अफर त आएको छैन, त्यस्तो इभेन्टमा काम गर्ने पनि मन छ,’ उनले भनिन्, ‘तर इभेन्टको कोरियोग्राफी लामो समयसम्म गर्नुप¥यो भने चाहीँ केही पारिश्रमिक पनि लिने अवस्था आउन सक्छ ।’ माल्भिकाले सन् २०१५ को ‘मिस नेपाल’मा सहायक कोरियोग्राफरका रूपमा समेत काम गरिसकेकी छन् ।

माल्भिका सुब्बा

सौन्दर्य प्रतियोगिता र फेसन इभेन्टमा कोरियोग्राफी गर्नेमा माल्भिका एक उदाहरण मात्र हुन् । पुसको चिसोले काठमाडौं एक डिग्रीको तापक्रममा कठ्यांग्रिरहँदा सौन्दर्य प्रतियोगिता र फेसन इभेन्ट गर्ने आयोजकलाई भने जाडोको कुनै पर्वाह नै छैन । कामसँगै दाम पनि आउने भएपछि आयोजकले कोरियोग्राफरलाई निश्चित अवधिका लागि प्रतियोगीहरूलाई प्रशिक्षण दिन खटाइरहेका छन् ।

दुई दशकअघिबाट मोडलिङ हुँदै फेसन कोरियोग्राफीमा आएकी जयन सुब्बा मानन्धरको व्यस्तता चिसो मौसममा पनि सेलाएको छैन । उनी आफ्नो काममा आएको प्रस्तावमा चुजी त छैनन् तर आएका सबै प्रस्तावलाई स्वीकार्दिनन् । त्यसको कारणमा पारिश्रमिक नै जोडिएको छ ।

‘काम गरेपछि जोकोहीलाई पनि पारिश्रमिक चाहिन्छ । पारिश्रमिकमै कुरा नमिलेपछि काम गर्नुको अर्थ पनि हुँदैन । यो जाडोको सिजनमा मैले पारिश्रमिकमै कुरा नमिलेर तीनवटा प्रोजेक्ट अस्वीकार गरें,’ जयनले भनिन्, ‘मेरो पारिश्रमिकको निश्चित खाका छ । म इभेन्ट र आयोजक हेरेर कोरियोग्राफी गरेबापत न्यूनतम ३० हजारदेखि अधिकतम १ लाख पारिश्रमिक लिन्छु । कोरियोग्राफीको समयावधिले कति पारिश्रमिक लिने भन्ने रकम निर्धारण गर्छ ।’ सासुको निधनभएपछि झन्डै २५ दिनसम्म कोरियोग्राफीबाट टाढिएकी जयनले त्यस अवधिमा कमै मात्र सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थिति जनाइन् ।

फेसनको करियरमा झन्डै दुई सय बढी सौन्दर्य प्रतियोगिता र इभेन्टको कोरियोग्राफी गरिसकेकी जयनले वर्षमा अधिकतम ९ वटा इभेन्टको कोरियोग्राफी गर्छिन् । ‘मलाई कामको अभाव छैन । पारिश्रमिक चित्त बुझेमा मात्र काम गर्छु । तर केही आयोजक मेरो पारिश्रमिकको स्केल भन्दा आधा रुपैयाँ मात्र दिन खोज्छन् । त्यस्तो इभेन्टमा काम गर्नुको अर्थ पनि हुन्न,’ उनले भनिन् । नेपालको पहिलो मोडलिङ एजेन्सीका रूपमा रहेको दि ¥याम्प एन्ड मोडलिङ एजेन्सीकी सञ्चालिकासमेत रहेकी जयनका उत्पादन वेनिशा हमाल, विमलेश अधिकारी, ऋचा शर्मा, अञ्जली शर्मा, विनय श्रेष्ठलगायत छन् ।

नेपालमा फेसन इभेन्ट र सौन्दर्य प्रतियोगिताको कोरियोग्राफीमा पुरुष सहभागिता पनि कम छैन । पछिल्लो समयमा सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य व्यस्त कोरियोग्राफरका रूपमा चिनिन्छन् । १८ वर्षको करियरमा झन्डै पाँच सय बढी इभेन्ट तथा प्रतियोगिताको कोरियोग्राफी गरिसकेका रोजिनले वर्षको सालाखाला २५ देखि ३० वटासम्मका इभेन्ट तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गर्छन् । उनको पारिश्रमिक लिने शैली पनि आफ्नै किसिमको छ । ‘मैले तीन किसिमबाट आफ्नो पारिश्रमिक निर्धारण गरेको छु ।

रोजिन शाक्य

पुरानाको निरन्तरता, वर्षमा एउटा मात्र प्रतियोगिता गर्ने आयोजक र पहिलो पटक कार्यक्रम गर्ने आयोजक गरी तीन वर्ग विभाजन गरेको छु,’ रोजिनले भने, ‘म आफ्नो माग यति हो भनेर आयोजकलाई कुरा राख्छु । अहिलेसम्म मेरो मागलाई कमै मात्र आयोजकले नाइनास्ती गरेका छन् । नत्र अधिकांशको सहमति पाएको छु ।’ रोजिनसँग ‘मिस हेरिटेज’ र ‘मिस मर्मेड सिंगापुर’ जस्ता अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफीको पनि अनुभव छ ।

रोजिनले न्यूनतम ५० हजारदेखि अधिकतम डेढ लाख रुपैयाँसम्म पारिश्रमिक लिएका छन् । ‘पैसाको मामलामा आयोजकसँग नराम्रो भएको छैन । उहाँहरूसँग सम्झौता गरेर काम गर्ने हुनाले पनि दुवै पक्षलाई सजिलो भएको छ,’ रोजिनले खुलाए, ‘प्रतियोगीलाई ग्रुमिङ गर्ने समयावधिले पारिश्रमिकको अनुपात निर्धारण गर्छ । कुनै काम छोटो अवधिका हुन्छन् त कुनै लामो अवधिका हुन्छन् ।’ कोरियोग्राफीका अलावा रोजिनले राजधानीमा हुने धेरै फेशन सो र सौन्दर्य प्रतियोगितामा मास्टर अफ सेरोमोनी (एमसी)को भूमिका पनि निर्वाह गरिसकेका छन् ।

माल्भिका, जयन र रोजिन जस्तै प्रशान्त ताम्राकार, कला सुब्बा, रचना गुरुङ शर्मा, सुगरिका केसी, अश्विनी झा, रोहिया महर्जनलगायतका कोरियोग्राफर क्षेत्रीय, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय फेसन सोमा कोरियोग्राफीमा सक्रिय छन् । सौन्दर्य प्रतियोगितामा प्रतियोगीलाई हिँड्ने, बोल्नेदेखि आत्मविश्वास, व्यक्तित्व विकासको शिक्षा दिने उनीहरू फेसन सोमा चाहिँ कसरी राम्रो लुगा लगाएर दर्शकमाझ कुन शैलीमा हिँड्ने भन्ने सिकाउँछन् ।

आयोजकबाट राम्रो पारिश्रमिक लिएर काँचा अनुहारलाई हिँडाइ, लवाइ, खुवाइ, बोलाइलगायतका विषयमा ज्ञान दिने कोरियोग्राफरको जीवनशैली पनि प्राप्त पारिश्रमिक जस्तै ‘चिटिक्क’ किसिमको छ ।
 

प्रकाशित: २५ पुस २०७४ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App