१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोन्टेप्रति माउरिन्होको कटाक्ष

म्यानचेस्टर- एफए कपअन्तर्गत शुक्रबार डर्बी काउन्टीमाथि २–० को विजय हासिल गरेपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले चेल्सीका समकक्षी एन्टोनियो कोन्टेविरुद्ध वाक्युद्ध छेडेका छन् ।
युनाइटेडका प्रशिक्षक माउरिन्होले एक दिनअघि कोन्टेले आफूलाई होच्याउँदै दिएको अभिव्यक्तिको प्रतिक्रिया दिँदै इटालीमा भएको ‘म्याच फिक्सिङ’ को विषय कोट्याएका हुन् । इटालीका प्रशिक्षक कोन्टेले माउरिन्होलाई ‘डेमेन्टिया’ (मस्तिष्क कमजोर पार्ने रोग) लागेको हुन सक्ने बताएका थिए । त्यसको २४ घण्टाअघि माउरिन्होले कोन्टेलाई  ‘जोकर’ जस्तो व्यवहार नगर्न सुझाएका थिए ।
सुरुमा कोन्टेलाई लक्षित गर्दै दिएको आफ्नो अभिव्यक्तिको बचाउ गरेका माउरिन्होले पछि ‘म्याच फिक्सिङ’ को प्रसंग कोट्याएका थिए । ‘मैले मेरो आवेगबारे कुरा गरेको थिएँ । मैले मेरै बारे बोलेको थिएँ । मैले चेल्सी प्रशिक्षकलाई जोकरजस्तो व्यवहार गर्छ भनेर भन्यो भनी प्रश्न सोधियो,’ पोर्चुगलका प्रशिक्षक माउरिन्हाले भने, ‘मैले चेल्सी प्रशिक्षकलाई त्यस्तो आरोप लगाउन खोजेको थिइन । मैले मेरैबारे कुरा गरेको थिएँ । मैले आफ्नो अनुराग देखाउन जोकरले जस्तो व्यवहार गर्नु आवश्यक छैन भनको थिएँ ।’
प्रशिक्षणकालको सुरुमा आफ्नो उत्साह सम्झँदै माउरिन्होले थपे, ‘५० मिटर दौडेर मैले गोलको खुसी मनाउँथें । दर्शकमाझ गएर उफ्रन्थें । घुँडा टेकेर चिप्लन्थें । विशेष गरी विजयी गोल गरेको बेलामा मैले आफ्नो आवेगलाई रोक्न सक्दिनथें । मैले भन्न खोजेको त्यति बेला मेरो व्यवहार खराब थियो तर अहिले त्यसमा नियन्त्रण भएको छ । त्यति बेला र अहिलेको मेरो व्यवहारमा फरक छ भनेको थिएँ । पक्कै पनि खराब प्रश्नको जबाफ मेरो कडा नै आउँछ । म कसैलाई आरोप लगाउन चाहन्नँ ।’
विवादमा पर्न नचाहेको जस्तो अभिव्यक्ति दिएका युनाइटेडका प्रशिक्षक माउरिन्होले त्यसपछि म्याच फिक्सिङको प्रसंग झिकेका थिए । ‘त्यस्तो मलाई कहिल्यै भएको छैन र कहिल्यै म्याच फिक्सिङका लागि निलम्बनमा पर्नु पनि पर्दैन ।’
आश्चर्यजनक रूपमा ‘म्याच फिक्सिङ’ को प्रसंग निकालेर कोन्टेप्रति निशाना साँधेका थिए । कोन्टे २०११ मा सिरी ‘बी’ क्लब सिइनामा हुँदा म्याच फिक्सिङको आरोपमा ६ महिनाका लागि निलम्बनमा परेका थिए । इटालीका पूर्वप्रशिक्षक कोन्टेले आफूले कुनै गलत कार्य नगरेको भन्दै आरोप अस्वीकार गर्दै आएका छन् ।
कोन्टेले ‘डेमेन्टिना’ भनेर प्रतिक्रिया दिएपछि माउरिन्होको त्यस्तो प्रतिक्रिया आएको थियो । कोन्टेले भनेका थिए, ‘मलाई लाग्छ माउरिन्होले आफ्नो विगतबारे कुरा गरेको हुनुपर्छ । कुनै आफूले गरेको व्यवहार, भनेका कुरा कसैले बिर्सिएजस्तो छ । मलाई लाग्छ कसैलाई डेमेन्टिना भएको छ ।’

प्रकाशित: २४ पुस २०७४ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App