१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चार दिनलाई दुई डिन

काठमाडौं- सर्वोच्च अदालतले चार वर्षअघि बर्खास्त त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन शशी शर्मालाई इच्छुक भएमा चार दिनका लागि पदमा फर्कन आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले बर्खास्त डिन शशी शर्माको कार्यावधि सकिन चार दिन बाँकी रहँदा पदमा पुनर्बहाली हुने फैसला गरेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले बर्खास्त डिन शर्माको कार्यावधि सकिन चार दिन बाँकी रहँदा आइतबार निर्देशनात्मक आदेश गरेको हो । उनको चारवर्षे कार्यकाल यही पुस २७ गते सकिँदैछ । डाक्टर गोविन्द केसीले वरिष्ठता मिचेर शर्मालाई डिन बनाइएको भन्दै अनशन बसेपछि उनलाई बर्खास्त गरिएको थियो ।
हाल चिकित्साशासत्र अध्ययन संस्थानको डिन जगदीशप्रसाद अग्रवाल छन् । शर्माको बर्खास्तीपछि वरिष्ठताका आधारमा राकेश श्रीवास्तव डिन नियुक्त भएका थिए । श्रीवास्तवको राजीनामापछि अग्रवाल डिन नियुक्त भएका हुन् ।
हालका डिन अग्रवालको नियुक्तिलाई भने सर्वोच्चले कानुनसंगत मानेको छ । ‘जहाँसम्म हाल नियुक्त भएका प्राडा जगदीशप्रसाद अग्रवालको नियुक्ति गैरकानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको’, आदेशमा भनिएको छ, ‘एउटा संस्थाको सञ्चालनमा डिन नियुक्तिको अभावमा विपक्षी संस्थालाई पर्नसक्ने असरलाई पनि न्यायको रोहमा विचार गर्नुपर्ने भएकाले निजको नियुक्तिलाई यस मुद्दाबाट बोल्न मिलेन ।’ शर्मा पदमा पर्केमा संस्थानमा चार दिनका लागि दुई डिन हुने भएका छन् ।
चार वर्षअघि मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष तथा त्रिविका कुलपति खिलराज रेग्मीसहितको त्रिवि कार्यकारी परिषद् बैठकले २४ घन्टे अल्मिेटम दिएपछि शर्मालाई डिन पदबाट बर्खास्त गरिएको थियो ।
२०७० माघ ८ मा डिनबाट बर्खास्त भएपछि शर्मालगत्तै फागुन १ मा सर्वोच्च पुगेका थिए । शर्मा आफूलाई सुनुवाइको मौकासमेत नदिई पदबाट हटाएको भन्दै रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । ‘हटाउने आधार कारण नखुलाई विपक्षी राकेशप्रसाद श्रीवास्तवलाई गैरकानुनी रुपमा नियुक्ति गरेकोमा निजलाई पदमा कार्यभार सम्हाली काम गर्न दिएमा विपक्षीको गैरकानुनी कामले निरन्तरता पाउने र मलाई अपूरणीय क्षति बेहोर्नुपर्ने भएकाले अन्तरिम आदेश जारी गरिपाऊँ’ भन्ने माग रिटमार्फत गरेका थिए । सर्वोच्च पुगेका शर्माको रिटमाथि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले ‘अन्तरिम आदेश नहुने’ आदेश दिएकी थिइन् ।
 

नयाँ चलखेल योजनामा त्रिवि पदाधिकारी
अदालतको आदेशसँगै वरिष्ठताका आधारमा आएका अग्रवाललाई हटाएर फेरि डिन नियुक्तिमा चलखेल गर्ने त्रिवि पदाधिकारीको योजना भने असहज हुने भएको छ । ‘चार दिन दुई डिन रहन्छन्, त्यसपछि डा. अग्रवालकै निरन्तरता हुन्छ,’ त्रिवि स्रोतले भने । त्रिवि पदाधिकारी भने यो फैसलामा टेकेर डिन नियुक्तिमा नयाँ चलखेलको योजनामा लागेका छन् । स्रोतका अनुसार डा. शर्मालाई बोलाएर साँझ अबेरसम्म कार्यकारी परिषद् बैठक राखी उनको पदबहाली कार्यक्रम र अन्य तयारीसम्बन्धी छलफल भएको छ ।
त्रिवि पदाधिकारीले डा. शर्मालाई पदबहालीको प्रबन्ध गर्न आइओएमका कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल मेडिकल काउन्सिल उपाध्यक्षसमेत भइसकेका डा. शर्मा विवादित मानिन्छन् । उपाध्यक्ष हुँदा उनले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिनकै लागि २४ किलोमिटर टाढा रहेको जग्गा १० किलोमिटरभित्रै रहेको भन्दै त्रुटिपूर्ण रिपोर्ट दिएका थिए । सञ्चालनमा रहेका थुपै कलेजलाई पूर्वाधारभन्दा बढी सिट दिन सिफारिस गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले शर्माविरुद्ध छानबिनसमेत गरेको थियो ।

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले भने अदालतको आदेशले चिकित्सा शिक्षा सुधारमा दीर्घकालीन रुपमा नकारात्मक असर पार्ने देखिएको टिप्पणी गरे । ‘यो आदेशले मेडिकल शिक्षामा सुधारविरोधी माफियालाई साथ दिएको छ, हामी यो विरुद्ध लड्छौं,’ उनले भने ।

प्रकाशित: २४ पुस २०७४ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App