१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजधानीसँग नजिकिँदै ओखलढुंगा

चम्पादेवी (ओखलढुंगा)- सिन्धुली र ओखलढुंगाको बीचबाट सुनकोसी नदी बगिरहेको छ । सिन्धुलीतिर कोशीको तिर हुँदै मध्यपहाडी राजमार्ग भएर सवारी हुइँकिरहेका छन् । ओखलढुंगा चम्पादेवीका वासिन्दा गाडी चढ्न सिन्धुली आइपुग्नपर्छ । झोलुङेबाट सुनकोसी तरेर नवलपुर घाट आएर गाडी चढ्नपर्छ । कि त उदयपुरको घुर्मी वा रामेछापको साँघुटार हुँदै ओखलढुंगा पुग्नुपर्छ ।
चम्पादेवीमा सडक सञ्जाल पुगेको छ । नवलपुर–पलापु–कटुन्जे–कोसहाट हुँदै ओखलढुंगाको ककनीमा रहेको चम्पादेवी मन्दिर पुग्न सकिन्छ । सदरमुकाम ओखलढुंगा जान घुर्मी घुम्नुभन्दा नवलपुरबाट नजिक हुन्छ । रामेछापको साँघुटार र मन्थली जान नवलपुरबाट लिखु करिडोर बनिसकेको छ । मोलुङ करिडोरले पनि सिद्धिचरण नगरपालिका र मोलिङ गाउँपालिका जोड्छ । सडक निर्माण भएर राजधानी र तराई जिल्लालाई नजिक बनाए पनि सवारीको सहज पँहुच भने पुगेको छैन । नवलपुर घाटमा मोटरेबल पुल नहुनुले ओखलढुंगाको एउटा भेग राजमार्गसँग सिधै जोडिन नसकेको हो । धमाधम काम भएमा २०७६ सालभित्रमा ओखलढुंगाका दुई दर्जन बढी जिल्ला राजमार्गसँग सिधै जोडिने छन् । पुल बनेपछि ओखलढुंगाका विभिन्न ठाउँबाट सवारीसाधनमार्फत ६ घण्टामै राजधानी आउन सकिन्छ ।
शुक्रबार नवलपुरघाट पुगेर संघीय मामिला तथा स्थानीय विकास मन्त्री जनकराज चौधरीले शिलान्यास गरेसँगै पुल निर्माण कार्य सुरु भएको छ । नवलपुर घाटको मोटरेबल पुलले ओखलढुंगाका दुई दर्जन बढी ठाउँलाई सहजता मात्रै बनाउँदैन् त्यस क्षेत्रको समृद्धिसमेत खुल्ने स्थानीयको भनाइ छ । ‘पहिला नुन लिन मात्रै छ दिन लगाएर जनकपुर पुग्नुपर्दथ्यो,’ चम्पादेवी गाउँपालिका वडा नं. २ का ७२ वर्षिय दुजे माझीले भने, ‘अहिले घर मुनीबाट सडक बनेको छ ।’
पुल बनेपछि बारीमा फलेका तरकारी काठमाडौंमा बेच्न लाने रहर भएको उनले बताए । ‘नातीका पालामा आउला भनेको गाडी हाम्रै पालामा देख्न पाइयो,’ उनले भने, ‘अब बारीमा फलेका तरकारी काठमाडौं बेच्न जान कसो नपाइएला त ?’ उनका यो सपना ०७६ सालभित्र पूरा हुने निश्चित छ । पुलको शिलान्यास गर्दा शुक्रबार निर्माण कम्पनी, जिल्लाका नेताले समयमै निर्माण सक्ने प्रतिबद्धता गरे । ‘मलाई चुनावको हारजितसँग भन्दा पनि जनताको कामसँग सरोकार छ,’ निवर्तमान सांसद् रामहरि खतिवडाले भने, ‘त्यसैले मतदातालाई धन्यवाद भन्न आउँदा पुल उपहार लिएर आएको हुँ । जसरी हुन्छ तोकिएकै समयमा पुल बनाएर समृद्ध ओखलढुंगाको ढोका खुल्नेमा प्रतिबद्ध भएर लाग्नेछु ।’ आपूmले चुनाव हारे पनि समृद्ध ओखलढुंगा बनाउने आफ्नो सपनालाई हार्न नदिने खतिवडाले बताए । जिल्लाका प्रत्येक वडामा सडक बाटो पु¥याएको दाबी गर्दै खतिवडाले पुल ओखलढुंगालाई पर्यटकीय स्थलको रूपमा विकास गर्न समेत सहयोगी बन्ने बताए । अहिले नवलपुर घाटमा पुल नहुँदा ओखलढुंगा जान नवलपुरभन्दा झन्डै ३० किलोमिटर तल उदयपुरको घुर्मीमा रहको पुल पुग्नुपर्छ वा खुर्कोटबाट रामेछापको मन्थली हुँदै साँघुटारमा लिखु नदी तर्नुपर्छ । नवलपुर र खुर्कोटको बाटोको २० किलोमिटर फरक छ ।
सडक विभाग पुल योजना प्रमुख रमेशप्रसाद सुवेदीका अनुसार २ सय मिटर लामो नवलपुर घाटको पुल २१ करोड ९३ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । ‘तोकिएकै समय पुल निर्माण सम्पन्न गर्न लागि पर्नेछौं,’ पुल योजनाका प्रमुख सुवेदीले भने, ‘कुनै बाधा नआएमा २०७६ सालभित्र ओखलढुंगावासीलाई सिधै राजमार्गसँग जोड्छौं ।’ उनका अनुसार पुल बनाउने जिम्मा तुण्डी निर्माण कम्पनीले पाएको छ । कम्पनीले काम युद्धस्तरमा थालिसकेको बताएको छ ।
‘नवलपुर घाटमा पुलको आवश्यकता टड्कारो रहेको हुँदा चाँडोभन्दा चाँडो पुल निर्माण हुनुपर्छ,’ राज्यमन्त्री चौधरीले भने, ‘बाधा व्यवधान आएमा सकेको साथ दिनेछु ।’
यता चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीले समृद्ध ओखलढुंगाको लागि पुल अत्यन्तै आवश्यक रहेको दाबी गरे । ‘नवलपुरमा पुल नबन्दा ओखलढुंगा पूर्वी क्षेत्रका बासिन्दा उदयपुरको घुर्मी, रामेछापको साँघुटार मन्थली घुम्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यहाँ पुल बनेपछि चम्पादेवी, सुनकोसी गाउँपालिकाका बासिन्दालाई लाभ हुनेछ ।’ पुलले जिल्लाकै प्रसिद्ध धार्मिक स्थल ककनी पुग्न पनि सहज हुनेछ अनुमान केसीको छ ।
झोलुङे पुलको उद्घाट्न
ओखलढुंगा चम्पादेवी गाउँपालिका पारीपट्टि सिन्धुलीमा रहेको मध्यपहाडी लोकमार्गसँग जोड्ने घाङसाङघाट झोलुङे पुलको निर्माण सम्पन्न भएको छ । सुनकोसी नदीको कारण चम्पादेवी गाउँपालिकालाई मध्यपहाडी लोकमार्गसँग जोडिन दुई घन्टा घुमेर पुल तर्नु पर्ने वाध्यता थियो । चम्पादेवीको पलापु गाउँ र सिन्धुलीको फिकल गाउँपालिकालाई जोड्ने गरी सुनकोसीमा बनेको झोलुङे पुल शुक्रबार स्थानीय विकास राज्यमन्त्रीसहित नेता रामहरि खतिवडाले उद्घाटन गरे । आवतजावत मात्रै नभएर गाउँका उत्पादनलाई बजारसम्म पु¥याउन पुल बनेपछि सहज हुने रणबहादुर श्रेष्ठले बताए । ‘पुल नहुँदा चाँडै पारी जानु छ भने डुंगा वा गाडीको ट्युबलाई डुंगा बनाएर सुनकोसी तर्नुपर्ने वाध्यता थियो,’ प्रशन्न मुद्रामा उनले भने, ‘अब गाउँमा उब्जिएका तरकारी लगायत नगदेबाली बेच्ने बाटो खुलेको छ ।’
नेता खतिवडाको पहलमा बनेको पुल १ सय ९४ मिटर लामो रहेको स्थानीय पूर्वाधार तथा ग्रामिण कृषि सडक (डोलिडार)का महानिर्देशक जिवनकुमार श्रेष्ठले जानकारी दिए । ‘खतिवडाले प्रस्ताव ल्याउनुभयो, निरीक्षण गर्दा आवश्यक देखियो,’ उनले भने, ‘अझै आवश्यक छ भने पनि थप पुल बनाइदिन तयार छौं ।’ उनका अनुसार उक्त पुल बनाउने ८० लाख लागेको छ । पुल २०७३ असारमा सम्झौता भएर २०७४ भदौमा सम्पन्न भएको हो । पुल बनेपछि त्यहाँका बासिन्दालाई सहज भएको प्रतिक्रिया पाएर खुसी भएको पुल उद्घाटन समारोहमा बाल्दै महानिर्देशक श्रेष्ठले बताए ।
चम्पादेवी गाउँपालिकाका कार्यकारी अधिकृत भिम दाहालका अनुसार पुल बनेपछि पलापु, ताप्केडाँडा, आहालेगाउँ, कुरुटोल, चिप्लिङ, चित्रे, कालिका, पुन्टार, लुकुवा, सल्लहे, धारापानी, पोखरे, फेदीगुठ लगायतका बासिन्दालाई सहज भएको छ । ती ठाउँका बासिन्दलाई उदयपुरको घुर्मी तथा सिन्धुलीको खुर्कोट बजारसम्मको पहुँच सहज भएको उनले सुनाए ।

प्रकाशित: २३ पुस २०७४ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App