१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आगामी दशक समृृद्धिको : दाहाल

भरतपुर महानगरको पहिलो नगरसभामा मेयरले प्रस्तुत गरेको नीति कार्यक्रम पढ्दै पूर्वप्रधानमन्त्री दाहाल ।

चितवन – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो दशक समृद्धिको दशक हुने बताएका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दाहालले शुक्रबार चितवन उद्योग संघको नवौं अधिवेशनको उद्घाटन गर्दै दाहालले सो भनाइ राखेका हुन् । संसारकै सुन्दर र विविधतायुक्त देश नेपाललाई विकासको मोडल बनाउन गाह्रो नभएको उनले बताए ।

‘अब हामीले एउटा संकल्प र नयाँ प्रतिबद्धताका साथ अगाडि बढ्न आवश्यक छ । सबैले यसो गरेमा नेपाललाई बदल्न सकिन्छ,’ दाहालले भने । देशमा राजनीतिक क्रान्ति सकिएका कारण अब विकास नभएका विषयमा अरुलाई दोष दिन सक्ने अवस्था नरहेको उनले बताए । ‘विगतमा असफलताको दोष अरुलाई दिने ठाउँ थियो । हिजो राजालाई र निरंकुशतालाई दोष दिएका थियौं । अब हामीले नै गर्ने हो,’ उनले भने ।

गणतन्त्र आएका कारण हामीले नै सबै गर्नुपर्ने उनले बताए । ‘तराई, मधेस, हिमाल पहाड सबैतिर एउटा नयाँ युग आएकै हो भन्नु अनुभूति गराउन सके समृृद्धिको यात्रा कसैले रोक्न सक्दैन । अब पनि विकास निर्माणलाई गति दिन सकेनौं भने सबै राजनीतिक दल, सबै वुद्धिजिबी र सबै व्यवसायीको पनि असफलता हुने छ । त्यसो भए देश निकै नै अफ्ठ्यारोमा पर्ने छ । अहिलेसम्मको भन्दा पनि ठूलो समस्या आउँछ,’ उनले भने ।

राजधानीको विषय विभिन्न ठाउँमा उठ्न थालेको तर मुख्य कुरा पूर्वाधार निर्माण भएको उनले बताए । ‘चितवन देशकै राजधानी पनि बन्न सक्छ । त्यो  सम्भव छ । तर छिट्टै राजधानी बन्छ भन्न सक्दिन । चितवन प्रदेशको पनि राजधानी बन्न सक्छ । तर म अहिले नै भन्न सक्दिन कि चितवन जिल्ला प्रदेशको राजधानी बन्ने नै छ । तर चितवन नेपालको आर्थिक विकासको राजधानी बन्छ,’ उनले भने ।

पूर्व–पश्चिम, केरुङ ठोरी राजमार्ग र रेलमार्ग चितवन भएरै जाने हुँदा यो ठाउँले प्रसस्त सम्भावना बोकेको उनले बताए । पूर्वप्रधानमन्त्री दाहालले शुक्रबार नै भरतपुर महानगरपालिकाको पहिलो नगरसभाको उद्घाटन पनि गरे । जहाँ नगर प्रमुख रेणु दाहालले तीन अर्ब ५० लाख रुपैयाँको वार्षिक बजेट पेस गरिन् । नगर प्रमुख दाहालले केरुङ ठोरी रेलमार्ग निर्माणको विषय संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढाउने बताइन् ।

चितवन उद्योग संघको अध्यक्षमा दुवाडी
चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी निर्विरोध चयन भएका छन् । संघको ६ जना उपाध्यक्षमा त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे र प्रतिभा श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा विष्णुप्रसाद पौडेल, नारायणप्रसाद सापकोटा, विक्रम सापकोटा, सुवास प्रधान, अर्जुनप्रसाद सापकोटा, गजेन्द्र अधिकारी, प्रमोद लामिछाने, दुर्गाप्रसाद भण्डारी, युगराज ओस्ती, पोखरेल मदन चिरञ्जीवि, राशी लामा, जितबहादुर हमाल सर्वसम्मत चयन भएका छन् ।

यस्तै वस्तुगत तर्फ ताराबहादुर कार्की, एसोसियट्सतर्फ गोपालप्रसाद गैरे सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपीलाल देवकोटाले जानकारी दिए । त्यस्तै प्रिमियर एसोसियट्समा उम्मेदवारी नपरेकाले खुल्लाबाट पदपूर्ति गरिएको छ । संघका नवनिर्वाचित अध्यक्ष दुवाडीले प्रकाशचन्द्र भट्टराईलाई सदस्यमा मनोनित समेत गरिएको छ । संघमा निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे र कार्यकारी निर्देशक हरिहर भट्टराई पदेन सदस्य रहेका छन् ।

संघको वरिष्ठ उपाध्यक्ष भने गर्भनिङ काउन्सिलले चयन गर्नेछ । ६ जना उपाध्यक्षमध्ये एक जनालाई एक वर्षभित्र वरिष्ठ उपाध्यक्षमा चयन गर्ने विधानमा उल्लेख छ । त्यसरी चयन गर्दा गभर्निङ काउन्सिलले ६ महिनादेखि एक वर्षभित्र उपाध्यक्षले गरेको कार्यलाई मूल्यांकन गरेर वरिष्ठ उपाध्यक्ष चयन गर्ने परिपाटी रहेको छ ।


 

प्रकाशित: २३ पुस २०७४ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App