१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पौडल हत्याको छानबिन गर्न अनुसन्धान टोली, सिआईबीले सघाउने

भैरहवा – रुपन्देहीका व्यवसायी बसन्त पौडेल ‘बलु’ हत्याको छानबिनका लागि संघीय प्रहरी इकाई भैरहवाले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको छ।

अनुसन्धान टोलीले शनिबार देखिनै काम सुरु गरेको इकाईका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले बताए। एसएसपी थापाका अनुसार टोलीले घटनास्थलको  निरीक्षण, प्रत्यक्षदर्शी तथा परिवारसँग सोधपुछ गरिरहेको छ। घटनाका सम्भावित कारणहरुको पहिचान तथा प्रकृतिका बारेमा विभिन्न कोणबाट अनुसन्धानलाई अगाडी बढाइएको छ।

हत्यारा भागेर भारत पस्न सक्ने भन्दै रुपन्देही प्रहरीले सिमा नाकामा सुरक्षा चेकजाँच कडा पारेको छ। भारतीय सुरक्षाकर्मीसंग समन्वय गरी सीमामा २४सै घण्टा चेकजाँच गरिरहेको प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले बताए।

छानबिनका लागि सिआईबी आउने

यस्तै, घटनाको छानबिनका लागि एसएसपी घनश्याम अर्यालको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)को टोली आइतबार रुपन्देही आउने भएको छ।

शुक्रबार रुपन्देहीको देवदह ५ का युवा व्यवसायी बसन्त पौडेलको अज्ञात समूहले गोली हानी हत्या गरेका थिए। देवदह २ ढेकावारमा रहेको आफ्नै सःमिलमा आगो तापेर बसिरहेका पौडेललाई ग्राहक बनेर मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेर  भागेका थिए।

एक बर्षअघि पनि सोही क्षेत्रमै युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको थियो।

तिवारी हत्याकाण्ड र गत साउनमा मणिग्राममा सिरीषा मार्वलका संचालकलाई लक्षित गरेर गराइएको घटनाको प्रकृति र शुक्रबार भएको पौडेल हत्याको घटनाको प्रकृति मिल्न जानु, घटनालगत्तै मनोज पुन बताउने व्यक्तिले संचारकर्मीलाई टेलिफोनमार्फत घटनाको जिम्मेबारी लिनु जस्ता कुराहरुका कारण घटनामा मनोज पुन समूहकै संलग्नता हुनसक्ने आशंका प्रहरीले गरेको छ।

हत्याको विरोधमा बन्द, जनजीवन प्रभावित

पौडल हत्याको बिरोधमा युवा संघ रुपन्देहीले शनिबारदेखि गरेको अनिश्चितकालिन रुपन्देही बन्दका जनजीवन प्रभावित भएको छ।

भैरहवामा बन्दको आंशिक प्रभाव परेपनि बुटवल बजार पूर्ण रुपमा ठप्प भयो। शैक्षिक संस्था, यातायात, उद्योग कलकारखाना ठप्प भए। बन्दका कारण सिद्धार्थ राजमाग र पूर्व पश्चिम राजमार्गको सालझण्डी बुटवल र बुटवल खैरेनीसम्मको सडकमा लामो तथा छोरो दुरीका सवारी साधन चलेनन। जसका कारण पश्चिमबाट पूर्व जाने र पूवबाट पश्चिम जाने लामो दुरीका सवारी साधन बीच बाटोमै अलपत्र छन। कठ्याङ्गग्रीदो चिसोमा यात्रुहरु बीच बाटोमै रोकिनुपर्दा निकै समस्यामा परेका छन।

युवा संघ रुपन्देहीले नागरिकको शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति र घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै शनिबारदेखि अनिश्चितकालिन रुपन्देही बन्दको घोषणा गरेको छ।

बिभिन्न राजनीतिक दल, व्यवसायिक संघ संस्था, नागरिक समाज  र मानवअधिकारबादी संस्थाले पनि तत्काल हत्यारा पक्राउ गरी कारबाही गर्न र नागरिकको बाँच्न र पेशा व्यवसाय गर्न पाउने अधिकारको संरक्षण गर्न माग गरेका छन्।

प्रकाशित: २२ पुस २०७४ १५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App