१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रोकिएन हत्या शृंखला

केपी ढुंगाना/रेखा भुसाल

काठमाडौं/भैरहवा- नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्याको योजनाकार देखिएका समीरमानसिंह बस्नेतलाई भारतमा नियन्त्रणमा लिएर नेपाल ल्याउन सकेकोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी जति हर्षित थिए, मनोज पुन छुटेकामा उत्तिकै चिन्तित ।
बस्नेत र पुनलाई खोज्न ब्युरोको टोली तीन महिना भारतमा बसेको थियो । टोलीले भारतमा मिलेका बस्नेत र पुन त्यहीं छुट्टिएको खुलायो । मंसिर १७ मा भारतीय प्रहरीको सहयोगमा बस्नेत पक्राउ परेका थिए । पुन र बस्नेत छुट्टिएर भिन्नभिन्न समूह परिचालन गर्दै आएको प्रहरीले बस्नेत पक्राउ परेपछि थाहो पायो । प्रहरी बस्नेतको पक्राउपछि पुन सक्रिय हुनेमा चिन्तित थियो ।
बस्नेत पक्राउ परेपछि पनि भारतबाट लोप्साङ लामाको नाममा फोन आउने र व्यवसायीलाई धम्क्याउने क्रम रोकिएको थिएन । जानकार अधिकारीका अनुसार बस्नेतलाई भारतमा नियन्त्रणमा लिएर नेपाल ल्याउनुअघि नै लोप्साङको नाममा आएको इन्टरनेट कलमा ‘त्यसलाई पक्राउ गर्दैमा केही हुन्न, पैसा नदिए गौचनकै हाल हुन्छ’ भन्दै धम्क्याइएको थियो ।
बस्नेत पक्राउ परेको एक महिनामै प्रहरीको शंका यथार्थमा परिणत भयो । शुक्रबार रूपन्देहीको देवदहमा काठ किन्ने ग्राहकको भेषमा मोटरसाइकलमा आएका दुईजनाले हानेको गोली लागेर देवदह–५ खैरेनीका ३५ वर्षे व्यवसायी वसन्त भनिने बलु पौडेलको हत्या भयो ।
बिहान आगो तापेर बसिरहेका बेला मोटरसाइकलमा दुई युवा आएर उनीसँग काठ किन्ने विषयमा कुराकानी गरेका थिए । कुराकानीकै क्रममा मोटरसाइकलको पछाडि बसेका एकजना पेस्तोल निकालेर उनको छातीमा गोली हानेर भागे । गोली लागेका पौडेललाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल पु¥याइए पनि बाटैमा उनको मृत्यु भइसकेको थियो ।
पौडेल देवदह २ मा रहेको आफ्नै काठ चिरानमा आगो तापेर बसिरहेका बेला कालो रङको मोटरसाइकलमा दुई व्यक्ति आएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक पवन भट्टराईका अनुसार स्थानीय र समिलका कामदारले दुईपटक पड्किएको आवाज आएको बताएका छन् । चिकित्सकले भने उनको छातीमा गोली लागेको र त्यसकै कारण मृत्यु भएको जानकारी दिएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार गोली हान्न संलग्नको हुलिया मधेसी मूलको देखिन्थ्यो । समिलको कम्पाउन्डभित्रै आगो तापेर बसिरहेका पौडेललाई दुवैजनाले काठ चाहिएको छ हेरौं भनेका थिए । मोटरसाइकलमा रहेका एकजनाले अर्डरको टिपोट भन्दै कागजको टुक्रा दिएपछि पौडेल त्यो पढ्न लागे । उनी टिपोट पढिरहेका बेला मोटरसाइकलको पछाडि बसेकाले गोली हानेका थिए ।
घटनालगत्तै केही व्यवसायी र सञ्चारकर्मीलाई इन्टरनेट फोन आयो । फोन गर्नेले आफूलाई पुनको रूपमा परिचय दिँदै हत्याको जिम्मेवारी लियो । हत्या अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसमेत जोडिएको छ । अनुसन्धानमा जुटेको प्रहरीले समेत अपराधको प्रकृतिका आधारमा हत्यामा पुन समूहकै संलग्नताको आशंका गरेको छ ।
‘जुन प्रकृतिले हत्या भएको छ, त्यसको शैली यसअगाडि भएको दुर्गा तिवारी र शरद गौचनको हत्याको प्रकृतिसँग मेल खान्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘पुराना दुवै घटनामा हत्यालगत्तै फोन गरेर जिम्मेवारी लिएका थिए, यसमा पनि उही शैली अपनाएका छन् ।’
शुक्रबार मारिएका व्यवसायीको व्यावसायिक र राजनीतिक पृष्ठभूमि हेर्दा समेत बदला लिन र त्रास फैलाउन पुनले हत्या गराएको देखिन्छ । गत वर्ष मारिएका तिवारीको हत्या राजनीतिक प्रतिशोध लिन र व्यवसायीलाई आतंकित बनाउन भएको अनुसन्धानको निष्कर्ष थियो ।
शुक्रबार मारिएका पौडेल एमालेको राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी तत्कालीन केरबानी गाविसका अध्यक्ष तथा एमाले रूपन्देही १ का अध्यक्ष नीलकण्ठ पौडेलका छोरा हुन् । उनको हत्याको विरोधमा एमालेको युवा संगठन शुक्रबार आन्दोलनमा उत्रिएको थियो ।
प्रहरीले बुटवल देवदह सडक खण्डको भुलुही जंगलमा लु४प १४ नम्बरको हिरो होन्डा ग्ल्यामर बाइक फेला पारेको छ । कसैले फालेर हिँडेको अवस्थामा फेला परेको मोटरसाइकल हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
तिवारी हत्यामा प्रयोग भएको बाइकमा नक्कली नम्बर प्लेट प्रयोग गरेको खुलेको थियो । गौचन हत्यामा प्रयोग भएको बाइक भारतबाट चोरी गरी नेपाल ल्याएको खुलेको थियो ।
अपराधमा पुनको प्रवेश
देवदह–६ का मनोज पुन दुर्गा तिवारीको गत पुस ४ मा भएको हत्यापछिमात्रै संगठित आपराधिक समूहका नाइकेका रूपमा चिनिएका हुन् । त्यसअगाडि उनी सो क्षेत्रमा एमालेका युवा नेताका रूपमा परिचित थिए ।
पुनलाई तिवारीले नै एमाले राजनीतिमा ल्याएका थिए । पछि यी दुवबीच मनमुटाव भएपछि तिवारीको सिफारिसमा पुन कारबाहीमा परेका थिए । कारबाहीमा परेपछि पुनले आफ्नै समूह बनाएर रूपन्देहीमा आपराधिक गतिविधि अगाडि बढाएका थिए । गत भदौ १२ गते भैरहवामा पेस्तोल देखाएर ७ लाख ६० हजार लुटिएको घटना र मंसिर २१ मा उद्योग वाणिज्य महासंघका रूपन्देहीका उपाध्यक्ष कुलप्रसाद न्यौपानेको हत्या प्रयासका घटनामा समेत पुन नै जोडिएका थिए । यी दुवै घटनामा प्रहरीले पुनको खोजी सुरु गरेपछि उनी भागेर भारत पुगे ।
तिवारीले आफ्नो प्रभावका आधारमा फसाएको भन्दै उनले तिवारीको हत्या गराएको अनुसन्धानमा खुलेको थियो । तिवारी हत्याको अनुसन्धानका क्रममा घटनाको तीन महिनापछि रूपन्देही प्रहरीले बुद्धिसागर यादव, वसन्तबहादुर चापागाई, राजेश यादव, खेमानन्द भट्टराई, सागर थापा, अंगद थारू, ऋषिश्वर कुमाल र रोजन गुरुङ पक्राउ परेका थिए । रोजन पुनका भान्जा हुन् ।
पक्राउ आरोपीको बयान र अनुसन्धानमा फेला परेका तथ्यका आधारमा प्रहरीले पुनलाई मुख्य योजनाकार रहेको निष्कर्ष निकाल्दै सोमबहादुर आलेले नेपालमा रहेर हत्या योजना बानाएको र राजु नाम गरेका व्यक्तिले गोली हानेको निष्कर्ष निकालेको थियो । तिवारी हत्या अनुसन्धानमा केन्द्र र रूपन्देहीको प्रहरी भारतको गोवासम्म पुगेर पुनको खोजी गरे पनि फेला पार्न नसकी रित्तै फर्किएका थिए ।
भारतमा भेटिए दुई नाइके
२०७२ भदौ २ मा प्रहरी इन्काउन्टरमा कुमार श्रेष्ठ (घैंटे) मारिएपछि भागेर भारत पुगेका बस्नेत र तिवारी हत्यापछि भारतमा लुकेर बसेका पुनको भेट उतै भएको थियो । यी दुवैका नाम लिएर व्यवसायीलाई पैसा बुझाउन धम्कीका फोन आइरहेको जानकारी प्रहरीलाई थियो नै ।
असोज २३ गते नयाँबानेश्वरको प्रयासमार्गबाट आफ्नै गाडीमा अनामनगरमा रहेको नेपाल निर्माण व्यवसायी महासंघको कार्यालय आउनेक्रममा महासंघका तत्कालीन अध्यक्ष शरद गौचन मारिएपछि पुनः पुनको पुन खोजी सुरु भएको थियो । गौचन मारिएपछि यी दुवै एकै समूहमा रहेको प्रहरीले निष्कर्ष निकालेको थियो ।
पुन र बस्नेत मिलेर एकै समूह चलाइरहेको तथ्य गत चैत २९ मै नखुलको हैन । तर, प्रहरी सो घटनाको अनुसन्धानमा त्यत्ति गम्भीर देखिएन । चैतमा गौरीघाटमा गुण्डानाइके दावा लामलाई गोली हानेर हत्या प्रयास भएको थियो । महानगरीय प्रहरी अपराध महाशाखाले पुन र बस्नेत मिलेर लामाको हत्या योजना बनाएर सुटर पठाएको खुलेको थियो । दुई राउन्ड गोली हानेपछि लामा घाइतेमात्रै भएका थिए । गौचनको हत्यापछि अनुसन्धान निचोडमा पु¥याउन प्रहरीलाई दबाब बढ्यो । डिआइजी गणेश केसीको नेतृत्वमा अनुसन्धान समिति बन्यो जसले केही सहयोगी पक्राउ गरेर हत्या योजनाकारका रूपमा बस्नेत र पुनलाई अगाडि सारेको थियो । तर यी दुवै फरार थिए ।
यसैबीच ब्युरोले बस्नेतलाई भारतमा नियन्त्रणमा लिएर नेपाल ल्यायो । ब्युरोले हत्याका योजनाकार बस्नेतमात्रै रहेको सार्वजनिक गरेको थियो । बस्नेत पक्राउबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बस्नेतको अडियो सार्वजनिक गरिएको थियो । जसमा उनले ‘पुन र आफू छुट्टिसकेको तथा दावा र गौचनको हत्या योजना आफूले बनाएको’ दाबी गरेका थिए ।
बस्नेत पक्राउपछि प्रहरीले बस्नेतले लोप्साङ लामामार्फत अमरबहादुर रानामगरलाई परिचालन गरेर हत्या गराएको सार्वजनिक गरेको थियो । हत्यामा संलग्न भनिएका पुन, लोप्साङ र मगरसँगै गंगाप्रसाल लिङदेन, श्याम गोम्बे,  रोशन बुढाथोकी र अजय थापा फरार छन् । बस्नेतसँगै वसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे र सन्तोष गुरूङ अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।

प्रकाशित: २२ पुस २०७४ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App