१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कलधारामा पानी आयो

विप्लव ढकाल

मध्यरातमा
अनौठो हाहाकार सुनिन्छ सहरमा !

ए जोगेन्दर ! ए मिस्रीमाया !
ए लोप्साङ ! ए धौलेका बाउ !
सपनाहरूलाई ओछ्यानमै छाडेर
ब्युँझ अब यो कालनदीको निद्राबाट !
बोक बाल्टिनहरू, गाग्रीहरू, जर्किनहरू !  
प्लास्टिकका बाटा, बोतल र गिलासहरू !
जीवनका सबै रित्ता भाँडाहरू बोक
र चाँडो निस्क बाहिर !
आज यत्तिका दिनपछि तिम्रो सहरले
आफ्नै सक्कली लोकगीत गायो–
कलधारामा पानी आयो !   

इतिहासका चिसा आँसुले भिजेका
फोहोर लुगाहरू बाहिर निकाल !  
श्रमको अमिलो गन्ध आउने
भोटो र कछाडहरू बाहिर निकाल !
श्रीमतीका सुत्केरी थाङ्नाहरू निकाल !
विचारझैँ गनाइरहेका मोजाहरू निकाल !
घरबेटीको आँगनमा काकाकुलझैँ
रुन थालिसके पानीका मोटरहरू !   
आज यत्तिका दिनपछि तिम्रो सहरले
अधुरो क्रान्तिको हथौडी पायो–
कलधारामा पानी आयो !

ए सगरका सहस्र श्रापित सन्तानहरू,
ब्युँझ आफ्नो खरानीको तापबाट !  
तिमीले थोपाथोपा बचाउनु छ जिन्दगीलाई !  
यही पानी पिएर गाउनु छ राष्ट्रिय गान !   
निदाएका नानीहरूलाई उठाऊ चाँडो !
नत्र भोलि स्कुलमा तिनका मैला हातहरूले
कसरी पल्टाउँछन् इतिहासको पुस्तक
र कसरी खप्छन् मास्टरको छडी ?
आज यत्तिका दिनपछि तिम्रो सहरले
जिउँदो सपनाको उत्सव मनायो–
कलधारामा पानी आयो !

ठूला सपनाहरू देख्दादेख्दै
साना दुःखहरूसँगै हारेछौँ हामी !
ए जोगेन्दर ! ए मिस्रीमाया !
ए लोप्साङ ! ए धौलेका बाउ !   
यो मध्यरातमा आज फेरि   
अनौठो हाहाकार सुनिन्छ सहरमा !!

प्रकाशित: २२ पुस २०७४ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App