१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चौधरी समूहकाे रिसोर्टले छोडेको करेन्ट लागेर गैँडा मर्‍यो

फाइल तस्बिर ।

चितवन–उद्योगपति विनोद चौधरीको व्यवसायिक समूह चौधरी ग्रुपसमेतको लागानी रहेको होटल मेघौली सेराइको आडमा सोमबार दुर्लभ वन्यजन्तु गैंडा मृत अवस्थामा फेला परेको छ। होटलबाट छोडेको करेण्ट लाग्दा गैँडा मरेको स्थानीयको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले होटल कर्मचारी सहितलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ।

‘गैंडा बिहानै मरेको रहेछ। पाँचै बजे बोटेहरुले देखेका रहेछन्। मलाई त कसैले खबर गरेन। सात बजे तिर बल्ल गाइँगुइँ सुनेर हेर्न गएको थिए’, चितवन निकुञ्जको मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्याम अधिकारीले भने। गैंडालाई करेन्ट लागेका कारणले ज्यान गएको हो भन्ने आफूले सुनेको उनले बताए।

स्थानीयका अनुसार होटल आडैबाट बग्ने राप्ती नदीमा पर्यटक राखेर घुमाउनका लागि होटलले फलामको पाता जोडेर डुंगा बनाउँदै थियो। सो डुंगा बनाउने बेलामा वोल्डिङ गर्ने कामका लागि बिजुलीको तार लगिएको थियो। काम गरेपछि बिजुलीको तार त्यसै छाडेका कारण घटना भएको स्थानीयले बताएका छन्। यसअघि बाली रोक्न स्थानीयले छाडेको करेन्टमा परेर पनि दर्जनौं गैंडाको ज्यान गएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी नुरेन्द्र अर्याल गैंडाको पोष्ट मार्टम रिपोर्ट नआएका कारण के भएको हो भनेर अहिले नै केही ठोकुवा गर्न मिल्ने अवस्था नरहेको बताए। प्रारम्भिक अनुशन्धानले करेन्ट लागेर गैंडाको मृत्यु भएको देखिएन आएको उनले बताए। करेन्ट लाग्नुमा होटलको कमजोरी थियो या थिएन भनेर निकुञ्जले अनुसन्धान गरिरहेको छ।

‘फिल्डको अवस्था हेर्दा र हाम्रो प्रारम्भिक अनुसन्धानले पनि तपाइँले सुनेको जस्तै शंका गर्ने आधार हामीलाई पनि दिएको छ। तर अनुसन्धान पूरा नभएकासम्म भएको के हो अहिल्यै भन्न सकिएन’, सूचना अधिकारी अर्यालले भने। गैंडाको पोष्टमार्टम रिपोर्ट एक दुई दिनभित्रै आउने उनले बताए।

पाँच पक्राउ

घटना अनुसन्धानका लागि सोधपुछ गर्न होटलका पाँचजना कामदार र केही स्थानीयलाई गिरफ्तार गरिएको छ।

तस्करहरुले गैंडाको खागका लागि यो दुर्लभ जनावरहरुलाई मार्ने गर्दछन्। सो मृत गैंडाको खाग खुर भने सुरक्षित नै छ। खाग तस्करी वा अन्य कारणबाट दुर्लभ वन्यजन्तु गैंडाको ज्यान लिएमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्ष कैद वा कैद र जरिवाना दुवै सजाय हुने कानुनी प्रवधान छ। यसअघि खेतमा करेण्ट लागेर गैंडा मरे खेतधनीलाई समाएर कारवाही हुने गरेको थियो।

चितवन निकुञ्जमा नेपालमा सवैभन्दा धेरै एक सिंगे गैंडा पाइने निकुञ्ज हो। गैंडा हेर्नैका लागि देश विदेशबाट लाखौं पर्यटक चितवन आउने गर्छन्। तिनै पर्यटकलाई सुविधा दिन निकुञ्ज आडमा होटल खोल्ने क्रम बढेको हो। पछिल्लो समय चोरी सिकारीले गैंडा मार्ने क्रम ठप्प छ। तर प्राकृतिक कारण वा यस्ता दुर्घटनाले गैंडाहरु वर्षेनी मरी रहेका छन्।

 

प्रकाशित: २५ श्रावण २०७३ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App