१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाउँपालिकाका वडा सचिवविहीन

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाका सबै वडा सचिवविहीन बनेका छन् । ६ वटा वडा रहेको गाउँपालिकामा कार्यरत सबै सचिव सरुवा भएर अन्यत्र गएपछि गाउँपालिका नै सचिवविहीन बनेको हो । सचिव नभएपछि दैनिक कामकाज सञ्चालन गर्न अप्ठ्यारो परिरहेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए। 

जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा कार्यरत एक मात्र वडासचिव शम्भु आचार्य सोलुखुम्बु सरुवा भएपछि सिंगो गाउँपालिका सचिवविहीन बन्न पुगेको हो । जन्तेढुंगा गाउँपालिका–३ काहुलेका वडासचिव मेघराज आचार्य अन्यत्र सरुवा भएपछि दिप्लुङमा मात्र वडासचिव बाँकी रहेका थिए । वडासचिवको अभावमा चिसापानी, दिप्लुङ र देबिस्थानको वडा सचिवको काम प्राविधिक भीम कार्कीमार्फत सञ्चालन भइरहेको गाउँपालिका प्रमुख राईले बताए । यस्तै, बोपुङ र डम्बर्खुशिवालयको वडासचिवको काम कार्यालय सहायक कृष्ण कटवालमार्फत सञ्चालन भइरहेको छ । ‘वडामा सचिव छैन, सेवाका लागि आएका जनताको काम रोक्नु पनि भएन,’ गाउँपालिका प्रमुख राईले भने, ‘सचिव नभएपछि कुनै वडाको काम प्राविधिक र कुनै वडाको काम कार्यालय सहयोगीकै भरमा सञ्चालन गरिरहेका छौँ ।’ काहुलेमा कुनै पनि कर्मचारी छैनन् । गाउँपालिकाका अनुसार चिसापानी, देविस्थान, बोपुङको काम गर्दैआएका सचिव ढुण्डीराज दुलाल काठमाडौं र डम्बर्खुशिवालयमा कार्यरत लक्ष्मी फुयाँल सुनसरी सरुवा भएका छन्। 

यस्तै, बराहपोखरी गाउँपालिकाका ६ वडामध्ये ५ वडामा सचिव छैनन् । बराहपोखरी गाउँपालिका–४ फाक्टाङ बाहेकका वडा सचिवविहीन बनेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलिङले बताए । बराहपोखरी गाउँपालिकाको बराहपोखरी, सुन्तले, साउनेचौंर, पौवासेरा र मौवाबोटे सचिवविहीन बनेको छ । जिल्ला समन्वय समितिका अनुसार खोटेहाङ गाउँपालिकाको ९ वडामध्ये तीन वडा सचिवविहीन छ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी र खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी वडा सचिवविहीन बनेको हो । दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ गाउँपालिका–५ सछितापोखरी पनि वडा सचिवविहीन बनेको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पा र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छामा पनि सचिव छैनन्। 

 कार्यरत वडा सचिव सरुवा भए पनि ऐसेलुखर्क गाउँपालिकाको माक्पामा अर्को कर्मचारी आएको छैन । कार्यरत वडा सचिव मनोज खतिवडा सरुवा भएको लामो समय बित्दासमेत डाँडागाउँमा अर्को सचिव आउन नसकेको दिप्रुङ गाउँपालिकाले जनाएको छ। 

स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको कडाइका कारण पनि कतिपय सचिव सरुवा मिलाउँदै अनूकुल कार्यालयमा जान थालेको बताइएको छ । जनप्रतिनिधिका कारण वडामा आपूmखुसी चल्ने वातावरण बन्द भएकाले पनि कतिपय वडा सचिवले काम गर्न अप्ठ्यारो मान्ने गरेको पाइएको दिप्रुङ गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए।

‘परिषद् र सामाजिक सुरक्षाभत्ता बाँड्नका लागि मात्र गाउँ पुग्ने सचिवलाई वडामै बसेर काम गर्नुपर्दा अप्ठ्यारो महसुस भएको छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘कतिपय कर्मचारीलाई त आफ्नो अधिकार खोसिएकोझैँ भएर पनि सरुवामा जान खोजेको बुझिन्छ ।’ 

प्रकाशित: २१ पुस २०७४ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App