१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिँदै

काठमाडौं– नेपालमा व्यवस्थित रुपमा स्वदेशी जुत्ताहरुको प्रवद्र्धन गर्ने उद्देश्यसहित फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिने भएको छ । नेपालमा उत्पादन हुने स्वदेशी जुत्तालाई एकै छानामुनि ल्याई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए । 

औद्योगिक क्षेत्र स्थापनाका लागि विशेष गरी अर्थ, वाणिज्य र उद्योग मन्त्रालयसँग समन्वय भइरहेको श्रेष्ठले बताए । ‘जुत्ता व्यवसायलाई एउटै छानामुनि ल्याउने कार्य सजिलो छैन । तथापि हामी निरन्तर प्रयास गरिरहेका छौं,’ उनले भने, ‘व्यवसायीले जग्गा खरिद गर्ने तयारी भएको छ । यसमा सरकारले आवश्यक पूर्वाधारको व्यवस्था गर्ने विषयमा छलफल भइसकेको छ ।’ 

उनका अनुसार त्यसमा उद्योगी र सरकार पक्ष दुवै सहमत भइसकेको छ । सरकारले फुटवेयर औद्योगिक क्षेत्रसम्म आवश्यक पूर्वाधारको विकास गर्नुको साथै आवश्यक स्रोत साधन परिचालन गरी स्तरीय तालिमका लागि केन्द्र व्यवस्था गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।  एसोसिएसनले फुटवेयर औद्योगिक क्षेत्रका लागि काठमाडौं आसपासको जिल्लामा जग्गा खोजी गरिरहेको जनाएको छ । एसोसिएसनका अनुसार उद्योगीहरुले काठमाडौंको करिब २० किलोमिटर वरिपरिको क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । 

एसोसिएसन कोषाध्यक्ष नानीराज घिमिरेले काठमाडौं वरिपरि धादिङ, मकवानपुर, काभ्रे वा नुवाकोटमा औद्योगिक क्षेत्र स्थापना गरिने जानकारी दिए । ‘हामीले सकभर सस्तो जग्गा खोज्दैछौं । सानो क्षेत्रको जग्गा पनि काम लाग्दैन । यसकारण १० रोपनी जग्गाको खोजिमा छौं,’ कोषाध्यक्ष घिमिरेले भने । उनका अनुसार फुटवेयर जोनलाई फरक ढंगले सञ्चालन गर्ने तयारी छ ।  औद्योगिक क्षेत्रभित्र कच्चा पदार्थ उत्पादनको छुट्टै सेक्टर हुनेछ । यस्तै, तालिम केन्द्रलाई व्यवस्थित बनाउनुको साथै अन्तर्राष्ट्रिय तहमा बनाउने योजना एसोसिएसनले बनाएको छ । सामूहिक सुविधा केन्द्र स्थापना, सोल रबर उद्योग पनि स्थापना गरिने छ । 

एसोसिएसनसँग ८३ व्यवसायी संलग्न रहेका छन् । यी व्यवसायीहरु नै औद्योगिक क्षेत्रका लगानीकर्ता रहने छन् । एसोसिएसनले परिकल्पना गरेको औद्योगिक क्षेत्र सञ्चालनमा आए २० हजारजनाले रोजगारी पाउनेछन् ।  औद्योगिक क्षेत्रमा स्वास्थ्य चौकीको पनि व्यवस्था गरिनेछ । एसोसिएसनका अनुसार नेपालमा १५ सय जुत्ता उद्योग छन् । यी उद्योगमा ५० हजार हाराहारीमा प्रत्यक्ष रोजगार छन् । त्यसमध्ये १६ हजार (३२ प्रतिशत) महिला छन् । 

एसोसिएसनका अनुसार जुत्ता उद्योगमा करिब १९ अर्व ४ करोड रुपैयाँ बराबर लगानी छ । जुत्ता उद्योगलाई खुल्ला बजारमा थप गुणस्तरिय र स्वदेशी ब्रान्डको उचाईलाई मजबुत बनाउनका लागि औद्योगिक क्षेत्रले सहज बनाउने व्यवसायीहरुको भनाई छ । आफूखुसि कति पय व्यवसायीले परम्परागत रुपमा जुत्ता उद्योग सञ्चालन गर्दै आएपनि व्यवस्थित ढंगले उद्योग सञ्चालनमा आउन नसकेको एसोसिएसनले जनाएको छ ।  औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि छालाजन्य जुत्ता व्यवसायीले आफ्नो ब्राण्डलाई नयाँ तरिकाले तय गर्ने छ । बजारमा देखिएका कमीकम्जोरी विस्तारै हट्ने छ । व्यवसायीबीचको मत मतान्तरको दुरी समेत कम हुने मेरो विश्वास छ,’ कोषाध्यक्ष घिमिरेले भने । 

 

प्रकाशित: १९ पुस २०७४ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App