१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मण्डलामा आउँदैछ ‘बोक्सीको घर'

काठमाडौं- के बोक्सी साँच्चै हुन्छ वा जबरजस्ती समाजले बोक्सी बनाउँछ? यही कुरा पर्गेल्न खोजेको छ अनामनगरस्थित मण्डला थिएटरमा शुक्रबारदेखि प्रदर्शनमा आउने नाटक 'बोक्सीको घर'ले। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहने नाटकमा रंगकर्मी सरिता गिरीको एकल अभिनय गर्नेछिन्।

‘कसरी बन्छ समाजमा बोक्सी? त्यही देखाउन खोजेका छौं,' कलाकार सरिता गिरीले भनिन्, ‘समाजमा बोक्सीलाई हेर्ने दृष्टिकोण भने दर्शकका लागि छाड्ने छौं।'

 झन्डै एक घन्टा लामो नाटकले बोक्सी हुने वा बनाइनेको पात्र र प्रवृति कोट््याउनेछ। उमेरको उत्तरार्द्धमा पुगेकी वृद्धा हुन् वा भर्खरकी विधवा महिला। नेपाली समाजमा पतिको मृत्यु भएपछि बेहोर्नुपर्ने अमानवीयताको परकाष्टा बोक्सीको आरोप हो।

आरोप लाउने आधार के के हुन्? कसरी लाउँछन्? पीडित महिलाको हविगत के हुन्छ? यस्तो नगर भन्नेहरुलाई त्यो समाजका अमानवहरुले कस्तो व्यवहार गर्छन्? आदि प्रश्नहरुको जवाफ खोज्न शुक्रबार मण्डला थिएटरमै पुग्नुपर्ने हुन्छ। बोक्सीपीडितको घटना पत्रपत्रिकामा पढ्न पाइन्छ। ‘भोग्नेले भोगिरहेका छन्, त्यही भोगाइ हाम्रो यो नाटकमा पनि देख्न पाइनेछ,' गिरीले उल्लेख गरिन्।

 मञ्चमा एकल अभिनय गर्न सजिलो छैन। नाटकमा सरिता एक्लैले चारपाँच पात्रलाई मञ्चमा प्रस्तुत गर्नेछिन्। 'गाह्रो छ, त्यसैले आँट गरेकी हुँ,' सरिताले भनिन्।

उनको सोलो नाटक यो पहिलो होइन। उनले यसअघि गुरुकुलमा मञ्चित 'मिस मार्गारिटा' र प्रज्ञा प्रतिष्ठानमा मञ्चित 'स्वास्नी मान्छे'मा एकल अभिनय गरेकी थिइन्। तर अघिल्ला सोलो नाटकमा एउटा पात्रको मात्र अभिनय गरे पुग्थ्यो। यसमा भने थुप्रै पात्रको भार उनैमा छ।

कत्थक नाटकमा एउटी नर्तकीले जसरी धेरै कथाका पात्रहरुको हाउभाउ र भावभंगिमा देखाउँछन्। त्योभन्दा बढी बिना कुनै सहारा संवादसँगै त्यो हाउभाउ उनले नाटकमा देखाउनेछिन्।

 दर्शकलाई बाँध्ने कसरी त्यो तिक्डम लगाउने जिम्मा गिरीकै भरमा छ। ‘मैले जे–जे प्रयोग गर्छु, त्यो मेरो नाटकका साध्य हुनेछन्, म एउटा साधन हुनेछु,' आइतबार नाटकको रिहर्सल गर्दै उनले भनिन्। पात्रहरुको प्रवृत्तिका बारेमा भने आफूले राम्रै अध्ययन गरेको उनको दावी छ। नबुझी काम गर्दा दर्शक अन्यौलमा पर्न सक्छन् भन्नेमा उनी सचेत छिन्।

 एउटा बालिकाको जीवनयात्राका रुपमा लेखक तथा निर्देशक भारतीले कथा बुनेका छन्। ‘यथार्थमा थोरै फिक्सन भरेको छु,' स्टेज निर्माणमा व्यस्त उनले भने, ‘यसले बोक्सी समाजमा छ पनि भन्दैन, छैन पनि भन्दैन। तर प्रश्नहरु भने सिर्जना गर्नेछ।'

प्रकाशित: २५ श्रावण २०७३ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App