१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पर्दा बाहिरका भलाद्मी जिग्री

कुमार कट्टेल
हास्य कलाकार

कुमार जी, तपाईं हास्यकलाकार नभएको भए के बन्नुहुन्थ्यो ?
कलाकार नभएको भए सायद म प्रोफेसर बन्थेँ होला । हुन त मेरो डाक्टर बन्ने लक्ष्य थियो तर कलाकारितातिर आएपछि पढाइलाई निरन्तरता दिन सकिनँ । त्यसो त म क्रिकेट पनि निकै राम्रो खेल्थेँ र यसमा रुचि पनि थियो, अझै पनि छ । यिनै तीन कुरामध्ये एक बन्थेँ होला नि ।

ओहो ! भनेपछि तपाईं हास्य टेलिशृङ्खला भद्रगोलको ‘जिग्री ब्रो’ जस्तो पढाइमा रुचि नभएको मान्छे होइन ?
अँ, मेरो रिल लाइफ  र रियल लाइफमा आकाशपातालको फरक छ । मेरो चरित्रजस्तो छ, म त्यसको ठीक उल्टो छु । मलाई पढ्न खुबै मन पर्छ । पर्दाबाहिर निकै भलाद्मी र चिन्तनशील छु जस्तो लाग्छ । म एसएलसीमा झापा जिल्ला टप गरेको मान्छे हुँ र साइन्सको विद्यार्थी पनि ।

पढ्न मनपर्छ भन्नुभयो, कोर्स भन्दा बाहिरका पुस्तक कत्तिको पढ्नुहुन्छ नि ?
समय मिलेसम्म पढ्छु । मलाई बायोग्राफी पढ्न निकै मनपर्छ । प्रायः धेरैजसो राइटरका पुस्तक पढ्न रुचाउँछु । नेपाली राइटरको पुस्तक भने विजयकुमार पाण्डेको ‘खुसी’ पछि खासै पढेको छैन । राजनीतिक, अर्थतन्त्रसम्बन्धी, खेलकुदका पुस्तकहरु उपलब्ध भएसम्म र समय मिलेसम्म छुटाउँदिन ।

तपाईं कलाकार भएपछि सबैभन्दा बढी मिस गरेको कुरा ?
मेरो पढाइ नै हो । समय अभावका कारण पढ्न सकिनँ । हुन त समय अझै बाँकी छ, केही नभए पनि एमफिल गरेर नामको अगाडि डाक्टर झुण्ड्याउने रहर छ । कलाकारितातिर नलागेको थिएँ भने चाहिँ मेरो यो सपना पूरा भइसक्थ्यो । कलाकारितामा लागेर पढाइ नै मिस गरेँ क्यारे ।

तपाईंको पहिलो तलब ?
मैले अहिलेसम्म जागिर नै खाएको छैन, कसरी तलब पाउनु । बरु कमाइको कुरा गर्ने हो भने आजभन्दा ८ वर्षअघि बनेपामा भएको एक कार्यक्रममा २५ सय रुपैयाँ पाएको थिएँ । त्यो पैसाले सायद मैले पाइन्ट किनेँ ।

तपार्ईंको बितेको समयदेखि एक दिन, जुनदिन तपाईं फेरि जिउन चाहनुहुन्छ ?
एसएलसी दिनुअघिको कुरा हो, म क्रिकेट म्याच कम्पिटिसनमा सहभागी भएको थिएँ । हाम्रो टोलीको ब्याटिङ थियो, जसमा पालो पनि मेरै थियो । बलिङ गर्नेले यति राम्रो बल दियो कि, त्यो बललाई बाउन्ड्री कटाउने कि क्लिन बोल्ड गर्ने सोच्दासोच्दै थाहै नपाई ब्याटमा बल ठोकिएर आकाशमाथि पुग्यो र म क्याचआउट भएँ । जसका कारण मेरो टोली हार्न पुग्यो । त्यो दिन फेरि जिउन पाए म मेरो टोलीलाई जिताउँथेँ जस्तो लाग्छ । कहिलेकाहीँ क्रिकेट हेर्दा पनि मलाई धेरै नसोचेर छक्कै हान्नुपर्ने रै’छ जस्तो लागिरहन्छ ।

कलाकारिता क्षेत्रको तपाईंलाई मन परेका कुरा ?
सबैको माया पाइन्छ, सम्मान पाइन्छ । अझ ठूलो कुरो त कलाकारले केही सन्देश पु¥याउन चाह्यो वा केही भन्यो भने सबैभन्दा पहिले प्रभाव पर्छ । कोही बौद्धिक मानिसले आफ्ना कुरा राख्न चाह्यो भने धेरै मानिससम्म पुग्न समय लाग्छ तर कलाकारले केही कुरा भन्यो भने त्यो भाइरल बन्न समय लाग्दैन ।
मन नपर्ने कुरा ?
कलाकारिता क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धा र ग्रुपिजम मलाई एकदमै मन नपर्ने कुरा हुन् । कलाकार कुनै पार्टीतिर नलागेर सबै एक भई सरकारसँग आफ्नो अधिकार माग्नुपर्नेमा त्यस्तो छैन ।

तपाईं नेपालको प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
सबैभन्दा पहिले म आफ्नो कार्यकालमा देश बनाउन सकिनँ भने जीवनभर राजनीति गर्दिनँ भनेर लिखितरूपमा सबैसामु कबुल गर्छु अनि मात्रै कुर्सीमा बस्छु । अनि विदेशमा भएका हाम्रा बौद्धिक मानिसलाई त्यहाँ दिनेजत्तिकै तलब र सुविधा दिन्छु नेपाल आऊ भनेर बोलाउँछु र देश विकासको खाका कोर्छु ।

जीवनमा सबैभन्दा बढी खुसी के कुरामा हुनुहुन्छ ?
मलाई माया गर्ने आमाबुबा पाएकोमा म खुसी छु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाउनुभएका दाजुभाउजु पाएकोमा खुसी छु । आफ्ना हरेक कार्यमा सहयोग गर्ने ‘भद्रगोल’जस्तो टिम पाएकोमा खुसी छु र सबैभन्दा खुसी नेपालजस्तो सुन्दर देशमा जन्मिन पाएकोमा छु ।

अनि दुःखी ?
आफ्नो जिन्दगीसँग दुःखी छैन तर यस्ता सुन्दर देश चलाउनेको दिमाग देख्दा भने दुःख लाग्छ । विकासका संरचना एकदमै ठीक छैनन् । पछिका पिँढीले कति सराप दिनेहुन् सम्झिँदा पनि नराम्रो लाग्छ ।

ह्यान्डसम हुनुहुन्छ, योङ पनि हुनुहुन्छ । प्रेमप्रस्ताव त धेरै आउला है ?
सबैले चाहनुहुन्छ, माया गर्नुहुन्छ । तर मलाई होइन, मेरो पात्र चरित्रलाई हो उहाँहरुले रुचाउने । कुमार कट्टेललाई होइन जिग्रीलाई प्रेमप्रस्ताव आउने हो । कतिले फेसबुकमा जिग्रीको फोटो राखेर रंग्याउँछन्, कतिले सँगै बसेर खिचेको फोटो राखेर प्रेम दर्शाउँछन् । कसैले फोन गर्छन् । केही केटी साथीहरु छन त छन् तर स्पेसल भने छैनन् । कतै होलिन्, अहिलेसम्म फेला परेकी छैनन् भनौं ।

गोप्य कुरा ?
धेरैलाई मेरो रिल र रियल चरित्र थाहा छैन र अझै धेरैलाई थाहा नभएको कुरा भने म गीत पनि गाउँछु । मेरा दुईओटा गीत एरेञ्जको काम सकेर बाहिर आउने तयारीमा छन् ।

अधुरो काम ?
सेड्युल बनाएर कामै गर्दिनँ ।

कमजोरी ?
चाँडै अन्य मानिसमा विश्वास गर्छु । त्यस्तै यो समय नै दायाँबायाँ गर्नेहरुको रहेछ, त्यो मलाई आउँदैन । जमनाअनुसार दायाँबायाँ गर्न नसक्नु नै मेरो कमजोरी हो जस्तो लाग्छ ।

शक्ति ?
म जे कुरालाई पनि सकारात्मक तरिकाले सोच्छु । अनि दीर्घकालीन सोचाइ राखेर काम गर्छु ।

राम्रो बानी ?
अहिलेसम्म कसैको चित्त दुखाएको छैनजस्तो लाग्छ । अनि मलाई झगडा गर्न आउँदैन । रिस उठिहाले पनि छिट्टै कुल हुनसक्ने बानी छ ।

नराम्रो बानी ?
मेरो कमजोरी नै नराम्रो बानी हो । मलाई दायाँबायाँ गर्न आउँदैन र छिट्टै विश्वास गरिहाल्छु ।

प्रस्तुति : पुष्पा थपलिया

प्रकाशित: १८ पुस २०७४ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App