१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘कर्मचारीसँगै नेतृत्वको सहयोग भए देश बन्छ’

बागलुङको अमलाचौरमा जन्मिएका हेमराज ढकाल सफल युवा व्यवसायी हुन् । एमबिएसम्म अध्ययन गरेर अहिले हार्वर्ड युनिभर्सिटीबाट इएमपी गरिरहेका ढकाल व्यावसायिक घराना आइएमई समूहका खम्बा मानिन्छन् । रेमिटेन्स, बैंक, पर्यटन, सञ्चार, अटोमोबाइल्स, जलविद्युत लगायतका क्षेत्रमा काम गरिरहेको अग्रणी व्यावसायिक घरानाका ढकाल आइएमई समूहका ‘थिङ्क ट्यांक’ मानिन्छन् । सरकारी जागिर छाडेर वैदेशिक रोजगारी हुँदै व्यवसायमा आएका ढकालले आइएमई समूहको नेतृत्वदायी भूमिकामा छन् । आइएमई समूहका प्रबन्ध निर्देशक ढकालसँग व्यावसायिक यात्रा, मुलुकभित्रको व्यावसायिक वातावरण लगायतका विषयमा परिवारका लागि विश्वमणि पोखरेल र दिलीप पौडेलले गरेको कर्पोरेट कुराकानीः
आइएमई समूहले चन्द्रागिरि हिल्स परियोजनापछि आइएई लाइफ इन्स्योरेन्स सुरु गरेको छ । अब नयाँ के ल्याउँदै हुनुहुन्छ ?
अहिलेको हाम्रो मुख्य ध्येय सञ्चालन गरिरहेका व्यावसायिक परियोजनालाई सफल बनाउने हो । हामीले पछिल्लो पटक आइएमई इन्स्योरेन्स सुरुवात गरेका छौं । जुन दस वर्ष अघिदेखिकै योजना हो । दस वर्षअघि खोेल्ने योजना बनाए पनि लाइसेन्सिङ पोलिसीले कानुनी रुपमा अनुमति नपाउँदा ढिलाई भएको हो । हाम्रो नेटवर्क, उपभोक्ता तहमा पहुँचलाई प्रयोग गर्न यो क्षेत्रमा आएका हौं ।
तपाईंको विश्लेषणमा इन्स्योरेन्स कम्पनीहरूको अहिलेको अवस्था कस्तो छ ?  
अहिले १० वटा नयाँ कम्पनी आएका छन् । समग्रमा लाइफ र ननलाइफको कुरा गर्दा दुवैका लागि राम्रो अवसर छ । लाइफ इन्स्योरेन्समा विदेशको अवस्था हेर्दा बैंकिङ क्षेत्रभन्दा ठूलो हो । नेपालमा त्यो प्रकारको चेतना, पोलिसीको कारण संकुचित देखिन्छ । अहिले जीवन बिमा गर्नेको संख्या करिब आठ प्रतिशत मात्र रहेको छ । तथ्यांक हेर्दा एकदमै थोरै हो । यसले के देखाउँछ भने नेपालमा इन्स्योरेन्सको आवश्यकता र सम्भावना प्रशस्त रहेको छ । बजार भएर पनि विस्तार हुन नसकेको कारण बढ्न सकेको छैन । यसले भर्जिन मार्केट छ भन्ने बुझिन्छ । बिजनेस गर्ने एउटा पाटो भयो तर सेवामूलक व्यवसाय भए पनि त्यसलाई कसरी विस्तार गर्ने भन्नेमा पनि ध्यान दिनु आवश्यक छ ।
आइएमई समूहको नेतृत्वमा सुरु गरेको चन्द्रागिरि हिल्स परियोजना लगानी र आम्दानीको हिसाबले कस्तो छ ?
यो परियोजना लङ टर्म परियोजना हो । कन्सेप्ट ल्याएर फ्रेमवर्कमा ढालेर सम्बन्धित निकायबाट अनुमति लिएर निर्माण गर्दा निकै लामो समय लाग्यो । करिब १२ वर्षको होमवर्कपछि एक वर्षअघि यो परियोजना आएको हो । चन्द्रागिरिमा पहिलो चरणमा केबलकारपछि मन्दिर, भ्यू टावर, चिल्डे«न पार्क निर्माण भैसकेको छ । जनवरीमा भने रिसोर्ट सञ्चालनमा ल्याउने लक्ष्य रहे पनि पूरा हुने देखिएको छैन । केही महिना लम्बिने भएको छ । सम्भवतः नेपाली नयाँ वर्षमा रिसोर्ट सञ्चालनमा ल्याउन सकिन्छ ।
चन्द्रागिरिमा लगानी कति पुग्यो ?
यो एकीकृत परियोजना हो । पहिलो, दोस्रो र तेस्रो चरण रहेका छन् । अहिलेसम्म करिबसम्म करिब चार सय करोड रहेको छ । यसमा अरु एडभेन्चर जिप फ्लाइङदेखिका नयाँ–नयाँ कार्यक्रम आउँदैछ ।
सबै परियोजना पूरा गर्न कति समय लाग्ला ?
हरेक वर्ष नयाँ–नयाँ सेगमेन्ट सुरु गर्दैछौं । विदेशी पर्यटकहरुलाई लक्षित गरेर अहिले फाइभ स्टार होटल बनाइरहेका छौं । त्यो पूरा भएपछि नेपाली सेगेमेन्टलाई पनि अघि बढाउँछौँ ।
चन्द्रागिरिमा विदेशी पर्यटकलाई आकर्षित गर्ने नयाँ योजना के छन् ?
स्वदेशी मात्र नभएर विदेशी पर्यटकलाई पनि लक्षित गरेर यो परियोजना कार्यान्वयनमा ल्याइएको हो । यसले समग्र नेपालकै पर्यटनको क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ । डिप्लोम्याट मिसनदेखि लिएर अन्तर्राष्ट्रिय जगतमा पनि मार्केटिङ गरेका छौं । नेपालका विभिन्न कार्यक्रममा सहभागी हुन आउने विदेशी पाहुनलाई पनि चन्द्रागिरि भ्रमण गराउँदै आएका छौं । टर्किस एयरलाइन्स लगायतका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि साझेदारी गरेका छौं । नेपाल आउने विदेशी पर्यटकलाई चन्द्रागिरिमा एक दिनको कार्यक्रम बनाएर ट्राभल एजेन्सीसँग पनि टाइअप गरेका छौं । विदेशमा हुने ट्राभल मार्टमा पनि एक्पोजर दिएका छौं ।
अहिलेसम्मको बिजनेसको अवस्था के छ ? मानिसको ओइरो देख्दा त राम्रो आम्दानी भैरहेको देखिन्छ नि ?
बाहिरबाट देख्दा सप्ताहान्तमा आन्तरिक पर्यटकको चाप देखिन्छ । विकेन्डमा पाँच÷छ हजारको रेसियोमा मान्छे गइरहेका छन् । चन्द्रागिरिमा जान चाहनेका लागि कलंकीदेखि थानकोटसम्मको बाटोको समस्याले पनि असर पुगेको छ । परियोजना बनाउँदा एउटा अनुमान गरेका थियौं । त्यो लाइनअनुसार नै अघि बढेको छ । पहिलो वर्ष करिब सात लाख पर्यटक लैजाने योजना बनाएका थियौं । त्यो करिब पूरा भएको छ । आउने दिनमा बाटो बनेपछि त्यो बढ्ला भन्ने अपेक्षा छ ।
नेपालमा पर्यटन क्षेत्रको सम्भावना कस्तो देख्नुहुन्छ ?
हामी टुरिस्ट ल्याउने त भन्छौं तर जबसम्म पूर्वाधार तयार हुँदैनन्, पर्यटक आउँदैनन् । टुरिस्ट आउन हामीसँग एयरपोर्ट हुनुप¥यो, होटल, यातायातका साधन सहज हुनुपथ्र्यो । यस्तै परियोजना अन्यत्र पनि विस्तार गर्न आवश्यक छ । त्यसमा हामीले पनि अध्ययन गरिरहेका छौं ।
मुलुकभित्र औपचारिक च्यानलबाट रेमिटेन्स भित्र्याउन तपाईंहरूको नेतृत्वदायी भूमिका रहेको बताइन्छ । तपाईंको विश्लेषणमा अहिले रेमिटेन्सको अवस्था कस्तो छ ?
संसारको अर्थतन्त्र एक ढंगले अघि बढेको छ । सबैतिर त्यसमा रमिटेन्सको पनि भूमिका छ । कच्चा तेलको मूल्यमा आएको गिरावटले वैदेशिक रोजगारीका लागि सजिला गन्तव्य मानिएका मध्यपूर्वी एसियाका राष्ट्रहरुको रोजगारीमा समस्या देखियो । यसले रोजगारी कटौती गर्यो ।  त्यसले वैदेशिक रोजगारीको असर हाम्रो मुलुकमा पनि प¥यो । जुन तहमा रेमिटेन्स वृद्धि हुनुपर्ने त्यो बढ्न सकेको छैन । पहिला रोजगारीका लागि मध्यपूर्वका मुलुकमा जति आकर्षण थियो, अहिले त्यो छैन । नेपालमै पनि ज्यालादारीमा काम गर्नेले दैनिक हजार/१५ सय कमाउँछन् । सरदर २५/३० हजार रुपैयाँ कमाई यहीँ हुन्छ । यहाँ पनि जनशक्तिको खाँचो छ । त्यहाँ कमाउने पैसा यतै आम्दानी भए जान पनि चाहँदैनन् । त्यस कारणले पनि आकर्षण कम भएको हुन सक्छ । रेमिटेन्स अपेक्षित रुपमा बढेको देखिन्न । कोरियामा कानुनी रुपमा त्यहाँबाट रेमिटेन्स ल्याउन समस्या थियो । पछिल्लो समय निजी क्षेत्रले पनि अनुमति पाएपछि बैकिङ च्यानलबाट आउन थालेको छ ।
कति भोलुममा रेमिटेन्स भित्रिन्छ नेपालमा ?
नेगेटिभ ग्रोथ छैन । विगतको तुलनामा वृद्धि दर अपेक्षित छैन । मुलुकको कुल ग्राहस्थ्य उत्पादन (जिडिपीमा) करिव २९/३० प्रतिशत योगदान रेमिटेन्सकोे छ । यसबाट नै अनुमान लगाउन सकिन्छ ।
अहिले पनि हुण्डी कारोबार  घटेको छैन । त्यसले रेमिटेन्समा कस्तो असर पारेको छ ?
हामीले सुरु गर्नुभन्दा पहिला बैंकिङ च्यानलबाट २० प्रतिशत मात्र आउँथ्यो । गैर बैंकिङमा करिब ८० प्रतिशत थियो । अहिले यसको ठीक उल्टो भएको छ । हामीले सुरु गरेपछि अरु कम्पनी र बैंक पनि आए । वैदेशिक रोजगारीमा जानेको चेतना पनि बढ्यो । जोखिम मोल्न पनि छाडे । अहिले औपचारिक च्यानलबाट करिब ७० अन्य क्षेत्रबाट ३० प्रतिशत आएको देखिन्छ । नेपालमा जति पनि आयात भैरहेको छ । अण्डर इन्भ्वाइसिङ भैरहेको छ । सुन आउँछ । कतै न कतैबाट त्यो पैसा त गएको छ । हाम्रो आयातमुखी अर्थतन्त्र भएकाले आयातमा प्रभावकारी अनुगमन नहुँदासम्म यो समस्या देखिइरहन्छ । यो निजी क्षेत्रले चाहेर मात्र हुँदै सरकारकै सक्रियता चाहिन्छ ।
आयातमा अनुगमन कहाँबाट हुनुपर्यो ?
आयात गर्दा भन्सारमा कडाई गर्नुपर्छ । ठूलो संख्यामा नेपाली विदेश गैरहेका छन् । ह्युमन रिसोर्स सप्लाई गर्ने कम्पनीको कमिसन लगिरहेका छन् । मध्यपूर्वका देशमा कामदार पठाउने विदेशी एजेन्टले अनौपचारिक माध्यमबाट रकम लगिरहेको सुनिन्छ । यति नै भन्ने तथ्यांक त कसैसँग पनि छैन । कमिसनलाई पनि सिस्टममा ल्याउनु पर्यो ।
गैर बैङ्किङ च्यानलबाट कारोबार हुँदा यसले अर्थतन्त्रमा कस्तो असर पर्छ ?
यस्ता पैसा मुलुकको बैंकिङ च्यानलमा नआउँदा स्वभाविक रुपमा असर पुग्छ । मुलुकको ब्यालेन्स सिट, रिजर्भमा देखिँदैन ।
रेमिटेन्सले धानेको अर्थतन्त्रलाई कसरी हेर्नुहुन्छ ?
अर्थतन्त्रमा एक तिहाई योगदान पु¥याउने भएकाले रेमिटेन्सको ठूलो भूमिका छ भन्ने प्रमाणित हुन्छ । अरु मुलुकहरुमा पनि हुन्छ । फिलिपिन्स, रसियन देशमा यस्तो देखिन्छ । यद्यपि कोरिया पनि रेमिटेन्सबाट बनेको मुलुक हो । बाहिर गयो काम गर्यो । त्यो पैसा ल्याएर उत्पादनमूलक क्षेत्रमा लगाएर विस्तारै देशले विकास गरेको छ । त्यसबाट ठूलो रिभोलुसन गरेका पनि छन् ।
हाम्रो मुलुकमा रेमिटेन्सको प्रयोग केमा भैरहेको छ ?
हाम्रो देशमा पनि रेमिटेन्स अनुत्पादक क्षेत्रमा खर्च भयो भन्ने पनि सुनिन्छ । बाहिर भने जस्तो लाग्दैन । अहिले रेमिटेन्सको लगानी शिक्षा, स्वास्थ्य, जीवन स्तरमा सुधार ल्याउन भएको छ । बाहिर गएकाहरुका बालबच्चा राम्रोसँग पढेका छन् । ह्युमन क्यापिटलमा लगानी भएको छ । त्यसको परिणाम भविष्यमा देखिन्छ । गुणस्तरीय जीवनमाथि गरिएको लगानीलाई पनि  फजुल भन्न भएन ।
सामूहिक रुपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना कत्तिको छ ?
यसमा हामीले काम गरेका पनि छौं । गैर आवासीय नेपालीसँग मिलेर दोर्दीमा २७ मेगावाटको विद्युत परियोजना सञ्चालन गरेका छौं । करिब एक हजार जना बढी स–साना लगानीकर्तासँग संयुक्त रुपमा रुपमा लगानी गरेको हो । स्थिर सरकार भयो भने यस्तो मोडालिटीमा थुप्रै क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना छ । प्रयास पनि गरिरहेका छौं । नीतिनियम, कानुनी व्यवधान नहुने हो भने सबै लगानी गर्न उत्सुक नै हुनुहुन्छ ।
अटोमोबाइल्स क्षेत्रमा पनि काम गरिरहनु भएको छ । बजार कस्तो छ ?
 नेपालको अबको करिब एक दशक पूर्वाधार निर्माणमा नै अघि बढ्ने देखिन्छ । हामी पछाडि जाने अवस्था छैन । अघि बढ्नको लागि पहिलो आवश्यकता भौतिक पूर्वाधार नै हो । यातायात क्षेत्रको विकाससँगै कनेक्टिभिटी बढेकाले स्वभाविक रुपमा अटोमोबाइल्स क्षेत्रको बजार दिनानुदिन बढिरहेको हो । सवारी अनिवार्य आवश्यकता भएकाले बजार व्यापक छ ।
आइएमई समूहका बिजनेसलाई पब्लिक कम्पनीमा लैजाने बताउँदै आउनु भएको थियो । तयारी के छ ?
आइएमई ग्रुप अन्तर्गतका धेरैजसो कम्पनी पब्लिक बनाइसकेका छौँ । आइपिओमा जाने क्रममा छन् । बैंक, इन्स्योरेन्स पब्लिक नै हुन् । चन्द्रागिरि पनि आफ्नो क्राइटेरिया पुगेपछि पब्लिकमा जान्छ । त्यसको लागि पब्लिकमा जान निश्चित नाफा दिएर समय तोक्नुपर्छ । हाम्रो लगानी भएको डिसहोम पनि पब्लिकमा जाँदैछ । हिमालय पावर पार्टनर यसअघि नै पब्लिकमा गएको छ । आइएमई ग्रुप अन्तर्गतका हरेक अर्गनाइजेसनमा पब्लिकको ओनरसिप र हाम्रो ग्रोथमा पब्लिकको पनि पार्टनरसिप होस् भन्ने चाहना हो ।
यहाँले कानुनी व्यवधान भन्नु भयो, लगानीका लागि ब्युरोक्रेसी कि पोलिसीमा अप्ठ्यारा देख्नु भएको हो ?
मानौं एउटा हाइड्रो परियोजनामा कार्यान्वयनका लागि विभिन्न मन्त्रालय र विभागको भूमिका हुन्छ । विद्युतका लागि वातावरण, ऊर्जा, अर्थ, भौतिक योजना, उद्योग मन्त्रालय लगायतका सबै मन्त्रालय आफ्नै ढंगले गाइडेड छन् । एक जना लगानीकर्ता सबै ठाउँमा जानुप¥यो । त्यसका लागि एकद्वार प्रणालीबाट काम भयो भने धेरै उत्साहित हुन्छन् । लगानी गर्नेलाई धेरै ठाउँमा जान झन्झट हुन्छ । हामीकहाँ यस्ता कानुनी व्यवधान छन् ।
सरकारी निकायले वन डोर सिस्टमबाट सेवा दिन प्रयत्नशील छौं भन्छन् । यसको लागि सुरुवात नै नभएको हो त ?
कुरा भैरहेको छ । त्यसलाई एक्सनमा ल्याएर रिजल्टमा देखाउन सक्नुपर्छ । त्यो परिणाममुखी हुने गरी जान सकेको छैन ।
कर्मचारीतन्त्रको भूमिका कस्तो छ ?
प्रशासनिक काम कर्मचारीतन्त्रले नियन्त्रण गर्छ । यो क्षेत्र ब्युरोक्रेसीले जति बुझ्छ राजनीतिक नेतृत्वले कम बुझ्छ । त्यसका लागि राजनीतिक नेतृत्व र कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ ।
राजनीतिक नेतृत्वले के गर्नुपर्छ ?
स्थिर सरकार नभएकाले निर्देशन गर्ने निकायको उपस्थिति कमजोर देखिन्छ । अहिलेको निर्वाचनको परिणामले बहुमत सरकार बन्ने देखिन्छ । नेपालमा धेरै नयाँ कानुन बनाउनु पर्ने आवश्यकता छ । अहिलेसम्म सरकारको फोकसमा यसमा देखिदैन । नेतृत्वले इच्छाशक्ति देखाउनु पर्छ । समग्रमा योजना र भिजन राजनीतिक नेतृत्वले नै लिनुपर्छ ।
यहाँ छोटो समयमा विकास गरेको मुलुक मलेसियामा लामो समय बस्नु भयो । त्यसलाई नेपालले कसरी अनुसरण गर्न सक्छ ?
मलेसियाले दु्रत विकास गर्नुमा वैदेशिक लगानी (एफडिआई)नै हो । धेरै विदेशी कम्पनीले मलेसियालाई हब बनाएर काम गरे । त्यहाँको सहज एफडिआइ पोलिसीले पनि लगानी आकर्षित भयो । त्यहाँ महाथिर नेतृत्वमा आएर करिब दुई दशक मुलुकको नेतृत्व गर्नुभयो । वहाँको भिजन पूरा कार्यान्वयन गर्नुभयो । त्यहाँको ब्युरोक्रेसीले पनि विकसित मुलुकमा गएर त्यहाँको ज्ञान र सीपलाई ल्याएर आफ्नो मुलुकमा प्रयोग गरे । मलेसिया र नेपालको धेरै पक्ष मिल्ने भएकाले हामीले त्यो मोडालिटीलाई प्रयोगमा ल्याउन सक्ने देखिन्छ । लिडरसिपले भिजन बनाएर टिम बनाएर कार्यान्वयन गर्न सकिन्छ ।
एफडिआई भित्र्याउनको लागि सम्भावना के छ ?
बाहिरको विकास हेर्दा नेपालमा ठूलो सम्भावना देखिन्छ । विदेशी कम्पनी आउनका लागि पूर्वाधार अति आवश्यक छ । भर्खर हामीले कुरा गरेको मलेसियाले डेढ दशकमा धैरे पूर्वाधार बनाएको थियो । सडक, विमानस्थल, आइटीको पूर्वाधार, स्कुल, हस्पिटल बनाउनु पर्छ । हाम्रोमा पनि विदेशी लगानी ल्याउन सकिन्छ । पूर्वाधार निर्माणको टाइम साइकल छिटो बनाउनु पर्छ । मलेसियामा विदेशी लगानीकर्तालाई तीन दिनमा वन डोर सिस्टमबाट अनुमति दिने व्यवस्था छ । तर, हाम्रो मुलुकमा महिनौं अल्झिनुपर्छ । यस्ता नीतिगत अप्ठ्यारा तुरुन्त हटाएर सहज वातावरण बनाउनुपर्छ ।
विदेशी लगानी भित्र्याउन निजी क्षेत्रको भूमिका के हुनसक्छ ?
हामीकहाँ विदेशी लगानीको लागि भर्जिन छ । पूर्वाधार, पर्यटन, बैंक लगायतको हरेक क्षेत्रमा सम्भावना छ । यहाँ सबै क्षेत्रमा लगानी बढाउनु पर्नेछ । सरकारले वातावरण बनायो भने निजी क्षेत्र पनि उत्साहित देखिन्छ । कतिपयले जोइन्ट भेन्चर रुपमा लगानी गरिरहेका पनि छन् । नेपाललाई अझै पनि विदेशीले रिस्क क्याटगोरीमा राखेका छन् । त्यसमा सरकारले आश्वस्त र लगानी सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ । धेरै क्षेत्रका कम्पनी व्यक्तिगत तहबाट आएका पनि छन् । सरकारलाई प्रयोगात्मक अनुभव नभएकाले पनि होला । विस्तारै आउनेक्रममा देखिन्छ । त्यसमा सरकारले आकर्षित गर्नुप¥यो ।
नेपालको आर्थिक पोलिसी कति बिजनेस फ्रेन्डली छ ?
अहिले राजनीतिक नेतृत्व इकोनोमीलाई सही ढंगले ड्राइभ गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको देखिन्छ । दलहरुका घोषणा पत्रले पनि त्यो पुष्टि गर्छ । अहिले निजी क्षेत्रले जुन ढंगले रोजगारी सिर्जना गरेको छ । राजश्वमा जुन योगदान गरेको छ । त्यसलाई प्रोत्साहन आवश्यक छ ।
ठूला व्यावसायिक घरानाका लागि मुख्य चुनौती के छन् ?
विकसित मुलुकसँग तुलना गर्दा हामी कहाँ कस्ट अफ क्यापिटल बढी छ । मानव जनशक्तिको विकास हुने क्रममा छ । विस्तारै हामी अन्तर्राष्ट्रिय मापदण्डमा जाँदैछौं । युवाहरु विदेशिएका छन् । ब्रेन ड्रेनले पनि असर पुगेको छ । न्यून सीप भएका कामदार र उच्च क्षमता भएका दुवै विदेशिएकाले पनि केही असहज भएको हो । अर्कोतर्फ लगानी सुरक्षाको विषयमा अझै निजी क्षेत्र पूर्ण आश्वस्त देखिँदैन । त्यसका लागि राज्यले इन्स्योर गर्नुपर्ने देखिन्छ ।
ब्रेन डेन रोक्नको लागि के गर्नुपर्ला ?
रोजगारी सिर्जना एक्कासि भन्दा पनि क्रमशः हुन्छ । त्यसका लागि उद्योगधन्दा सञ्चालनमा आउनु प¥यो । त्यसको लागि वैदेशिक लगानी ल्याउनु पर्छ । विदेशी लगानी ल्याउनको लागि निश्चित अवधिका लागि ट्याक्स फ्रि पनि गर्ने अभ्यास विदेशमा देखिन्छ । पाँच वर्षलाई ट्याक्स फ्रि भनेपछि आकर्षण बढ्छ । उनीहरुलाई अनुदान दिनुपर्ने हुनसक्छ ।
निजी क्षेत्रले उपभोक्तामैत्री भन्दा नाफा केन्द्रित भएर व्यवसायमा सिन्डिकेट गरिरहेको आरोप पनि लाग्छ नि ?
त्यस्तो छ जस्तो लाग्दैन र छैन पनि । हाम्रोमा हेर्दा कस्ट अफ क्यापिटल एउटा लेभलमा हुन्छ । न्यूनतम तहको कस्ट सबैको एउटै हुन्छ । खुला प्रतिस्पर्धात्मक बजारमा सबैले सामान्य प्रोफिट मार्जिन राखेर मूल्य निर्धारण गर्ने हो । बाहिरबाट हेर्दा सिन्डिकेटजस्तो लागे पनि अपरेसन पार्टबाट हेर्दा त्यस्तो हुँदैन । मार्जिन भएन भने बिजनेस सस्टेन हुन सक्दैन । अन्तर्राष्ट्रिय बजारमा हेर्दा यहाँ धेरै नाफा कमाएका छैनन् । लगानी पनि ठूलो हुन्छ । जोखिम पनि उत्तिकै छ ।
व्यावसायिक घरानाले सरकारबाट कस्तो वातावरणको अपेक्षा गरेको छ ?
नीतिगत कमजोरीलाई हटाउँदै मुख्यतः ठूलो परियोजनाका लागि लाइसेन्स, इआईदेखि सडक पूर्वाधार लगायत धेरै चिजको कम्बिनेसन हुन्छ । सरकारको क्लियर डाइरेक्सन दिएर सहजीकरण गर्नु आवश्यक छ ।
गाउँमा जन्मेर व्यावसायिक घरानाको नेतृत्व गरिरहनु भएको छ । कति चुनौती पार गर्नुभयो ?
बाग्लुङको अमलाचौरमा निम्न परिवारमा जन्मेको हुँ । एसएससीसम्मको अध्ययन त्यहीँबाट सकेको हुँ । सुरुदेखि नै पढ्नका लागि निकै रुचि थियो । राम्रो विद्यार्थीको रुपमा गनिन्थेँ । एसएलसीमा राम्रो प्रतिशतसहित उत्तीर्ण भएको हुँ । आइएस्सी त्रिचन्द्रमा पढेको हुँ । त्यतिबेला दाइ (चन्द्र ढकाल अहिले आइएमई समूहका अध्यक्ष) बैंकमा काम गर्नुहुन्थ्यो । पढ्दापढ्दै नापी विभाग बानेश्वरमा जागिर खाएँ । त्यो छाडेर वैदेशिक रोजगारमा गएपछि व्यवसायमा आएँ । १९ वर्षकै उमेरमा वैदेशिक रोजगारमा जापानमा गएर करिब साढे दुई वर्ष काम गरेँ । त्यहाँका मान्छेको काम प्रतिको लगाव र कमिटमेन्टले व्यवसायमा आउन उत्प्रेरणा जाग्यो ।
सफलताको लागि के चाहिन्छ त ?
लगनशीलता, इमान्दारिता र पारिवारिक सहयोग आवश्यक छ । हामी दुई भाइ सँगै काम गर्छौं । दाइले व्यवसाय सुरु गर्नुभयो । म पनि सहभागी भएँ । ‘ब्रदर्स पावर’ले अहिलेको अवस्था आइपुगेका छौं ।
व्यवसायका अतिरिक्त परिवारलाई कसरी समय दिनुहुन्छ ?
म धेरै ट्राभल गर्नुपर्ने र बाहिर हुने भएकाले नेपालमा भएको बेलामा बिहानको समय घरमा बच्चाहरुलाई समय दिन्छु । बेलुका सकभर छिटो घर जाने गर्छु । बच्चाको बिदा भएको बेलामा समय दिन्छु । विगतमा भन्दा अहिले बच्चाको बढ्दो उमेर भएकाले प्राथमिकता दिन्छु ।
विवाह गरेको कति वर्ष भयो ?
मैले मागी विवाह गरेँ र १३ वर्ष भइसक्यो ।
परिवारमा कति सदस्य हुनुहुन्छ ?
श्रीमती अञ्जली, निमिसा र सैवी दुई छोरी छन् । ठूलो छोरी १२ वर्ष र सानी ८ वर्ष भइन् । ठूली ७ र सानी ४ क्लासमा अध्ययन गर्छन् ।
यहाँको पत्नीले के काम गर्नुहुन्छ ?
मेडमले बेसिकल्ली बिजनेसमा सघाउने र बालबच्चालाई धेरै समय दिने नै हो ।
 खानपिनमा रुचि ?
मलाई हार्ड एन्ड फास्ट यस्तो खाना चाहिन्छ भन्ने केही छैन । बिहान घरमै खाना खाएर निस्कन्छु । साकाहारी नै त होइन तर भेजिटेरियन खान्की मन पर्छ । ट्राभल गर्दा जे भेट्यो त्यही खाइन्छ ।
धार्मिक, सामाजिक हिसाबले यहाँको आस्था ?
म पूरै अन्धविश्वासी पनि होइन । एउटा आस्था छ । मन्दिर कहिलेकाहीं गइन्छ ।

प्रकाशित: १८ पुस २०७४ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App