१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बिरामी परे हेलिकोप्टरकै भर

गोरखा- नुवाकोटमा सोमबार हेलिकोप्टर दुर्घटनामा गोरखाका एकै  परिवारका चार जनाले ज्यान गुमाए। चारदिने सुत्केरी बुहारीलाई जोगाउन हेलिकोप्टर चार्टर गरेका थिए उनीहरूले। तीनअघि मात्र सुत्केरी भएकी १९ वर्षीया प्रीति गुरुङ सिर्दीबास स्वास्थ्यचौकीमा थिइन्। ज्वरो, रुघाखोकीले ग्रस्त उनलाई सुत्केरी भएपछि व्यथाले झन् च्याप्यो। रगत बग्ने क्रम रोकिएन।

‘निको होला भन्ने आसले स्वास्थ्य चौकीमा तीन रात राख्यौं तर रगत बग्न रोकिएन,’ आफन्त सुजन गुरुङले भने, ‘गरिब परिवार हो, धेरै खर्च गर्न सक्ने हैसियत होइन तैपनि ज्यानै जाने अवस्था आएपछि उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर बोलायौं तर झन् सबैलाई सधैंका लागि गुमाउनुपर्‍यो।'

सुजनले टेलिफोनमा भने, ‘१ लाख २० हजार रुपैयाँ लाग्ने भनियो, तत्काल जुटाउन सकिएन। त्यसैले हेलिकोप्टर एक दिन ढिला सोमबार (आज) लाई बोलाएका थियौं तर के गर्नु, भाग्य नै यस्तै रहेछ।’ सुत्केरी बुहारी र पाँचदिने नातिलाई उपचार गराउन ऋण गरेर पैसा जुटाएका ६५ वर्षीय कितमान गुरुङ र उनकी पत्नी ५६ वर्षीया अज्ञानी पनि दुर्घटनामा परे।

गुरुङदम्पतीको पेसा खेतीकिसानी हो। छोरा धनबहादुर रोजगारीका लागि मलेसियामा छन्। आर्थिक स्तर कमजोर भएकै कारण अन्तिम परेपछि ऋण काढेर बुहारीलाई काठमाडौं लैजाने सल्लाह भएको सुजनले बताए। ‘स्वास्थ्य चौकीका कर्मचारीले अब लैजानुस् भनेपछि पनि निको हुन्छ कि भन्ने आसमा बस्यौं तर भएन, अन्तिम परेपछि लगेका थियौं,’ उनले भने।

काठमाडौं नपुग्दै बीचबाटोमै आफन्त गुमाउनुपरेपछि स्थानीय शोकविह्वल छन्। प्रीतिको अवस्था गम्भीर भएकाले स्वास्थ्यकर्मी निशा तामाङ पनि सँगै काठमाडौं आएकी थिइन्। गाउँमा समस्या परेपछि काठमाडौंबाट बिरामी लिन पाइटलसँगै स्थानीय लक्ष्मी गुरुङ पनि गइन्। उनीहरूले पनि दुर्घटनामा ज्यान गुमाए।

बिरामी काठमाडौं पुगेपछि हेलिकोप्टरलाई १ लाख २० हजार रुपैयाँ दिने सहमति भएको थियो। हरेक साताजसो बिरामी भइरहने, समस्या पर्ने, तत्काल अस्पताल लानुपर्ने भएकाले गाउँका अगुवाले हेलिकोप्टरको नम्बर राखेका हुन्छन्। फोन गरेर हेलिकोप्टरसँग भाडा तोकिन्छ। स्थानीयले बोलाएपछि सिधै हेलिकोप्टर गएर बिरामी लिएर फर्कन्छ। एक जना महिला सुत्केरी गराउन हेलिकप्टर चार्टर गर्नुपर्दा सिर्दीबासआसपास सिजनअनुसार ८० हजारदेखि १ लाख २० हजार र तिब्बती सिमाना जोडिएका छेकम्पार सामागाउँसम्म १ लाख ५० हजारदेखि २ लाखसम्म तिर्नुपर्छ। कतिपय आर्थिक स्तर कमजोर भएकाहरू रोग पालेरै बसिरहेका छन्।

गाउँमा खाद्यान्न सामग्री लिएर गएको, पर्यटक गएको, स्थानीय धनी व्यक्तिले कुनै कारण हेलिकप्टर लगेको वा गैरसरकारी संस्थाको काममा गएको समय पारेर पनि स्थानीय उपचार गराउन जाने गरेको समागाउँका स्थानीय शिक्षक वीरबहादुर गुरुङ बताउँछन्। रित्तै फर्कने हेलिकोप्टरलाई हारगुहार गरी उपचारमा आउने गर्छन्।

हेलिकोप्टरबाहेकको सजिलो माध्यम अरू हुन नसक्ने तर महँगो हुँदा सबैले प्रयोग गर्न नसकेको गुनासो उनको छ। उपचार नपाएर उत्तरी गोरखामा मृत्यु भएका घटना थुप्रै छन्। दुर्गम भएका कारण सदरमुकामसम्म पहुँच छैन।

उत्तरी गोरखाका महिला सुत्केरी व्यथाले च्यापेपछि हेलिकप्टर चार्टर गरेर उपचार गराउन राजधानी आउनुपर्ने बाध्यता छ। अन्य रोगका बिरामी पनि यही बाध्यतामा पर्छन्। सदरमुकामसम्म आउन उत्तरी सात गाविसबाट तीन दिन र तिब्बतसँग नजिक गाविसबाट सात दिन हिँड्नुपर्छ। गम्भीर बिरामीलाई सदरमुकामका स्वास्थ्यसंस्थासम्म उपचार गराउन सम्भव छैन। त्यहाँ समान्य रोगबाहेक उपचार हुँदैन। दुर्गमको स्वास्थ्यचौकीमा सबैमा रुघाखोकी, झाडापखाला, समान्य ज्वरो र स्वास्थ्यकर्मीले सल्लाह दिनेबाहेकका सेवा छैनन्। सरकारले स्वास्थ्य चौकीमा दरबन्दीअनुसार कर्मचारी पठाउन सकेको छैन। प्रीतिको उपचार हुन नसकेको सिर्दीबास स्वास्थ्यचौकीलाई पनि फेज नेपाल नाम गैरसकारी संस्थाले कर्मचारीको तलबसुविधा सहयोग गर्दै आएको छ। ‘यहाँका स्वास्थ्यचौकीमा समान्य उपचार हुन्छ, ठूलो रोग लागेपछि ऋण गरेर भए पनि स्थानीयले हेलिकोप्टर बोलाउँछन्, दक्ष र गच्छे (धनी) भएकाले तुरुन्तै बेलाउँछन्, गरिबले अन्तिम परेपछि बोलाउँछन्,’ सिर्दीबास प्रहरी चौकीका सई एकनारायण भट्टराईले भने, ‘बाटो छैन, हेलिकोप्टरबाहेक अरू विकल्प पनि छैन।’

सिर्दीबासबाट नजिकको बर्थिङ सेन्टर आउन दुई दिन हिँड्नुपर्छ। अझै त्यसमाथिका ६ गाविसबाट अन्य सिजनमा पनि आउजाउ गर्न समस्या छ। बर्खाका बेला पैदल बाटोसमेत भत्किएपछि दैनिक उपभोग्य सामग्री ढुवानीसँगै आउजाउ गर्न स्थानीयलाई समस्या छ।

प्रकाशित: २५ श्रावण २०७३ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App