१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शेयर बजारको लगानी घट्दै

बनेपा –दुई सातादेखि निरन्तर ओरालो लागेको शेयर बजार परिसूचक नेप्सेको प्रभाव मोफसलको शेयर बजारमा पनि पर्न थालेको छ। 

मोफसलमा खुलेका ब्रोकर कार्यालयका शाखामा शेयर बजारप्रति आकर्षण घटेका कारण लगानीकर्ताको मनोबल कमजोर देखिएको छ। काभ्रेपलाञ्चोकको बनेपा बजारमा रहेका दुईवटा ब्रोकर कार्यालयले दिएको जानकारीअनुसार लगानीकर्ता अहिले ‘हेर’ र ‘पर्ख’ को रणनीति बनाउँदै छन्। 

खचाखच भरिने बनेपाका ब्रोकर कार्यालय सुनसान जस्तै देखिँदा यस क्षेत्रका लगानीकर्तामा शेयर बजारप्रतिको उत्साह कम देखिएको छ। बनेपाको भिजन सेक्युरिटिज प्रालि (३४) नम्बरले यस साता चार दिनको अवधिमा ७४ हजार ९०५ कित्ताको रु तीन करोड ४५ लाख १२ हजार ४८१ बराबरको कारोबार गरेको छ । सो सेक्युरिटिज प्रालिले यसअघि ७२ हजार सात कित्ताको रु पाँच करोड २६ लाख ४६ हजार २०१ बराबरको कारोबार गरेको थियो। 

“बैंकले गरेको ब्याजको वृद्धि, नयाँ सरकार निर्माणमा भएको ढिलाइको प्रभाव यहाँ पनि परेको छ ।” बनेपाको भिजन सेक्युरिटिज प्रालि(३४) नम्बरका प्रमुख प्रकाश अधिकारीले भने। उनले वाणिज्य बैंक, माइक्रोफाइनान्सजस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको उल्लेख गर्दै शेयर बजारका लागि काठमाडौँ जाने लगानीकर्ताले पनि बनेपाबाट नै कारोबार गरेको बताए। 

बनेपाको क्रियटिभ सेक्युरिटिज प्रालि (४०) नम्बर ब्रोकर कार्यालयले पनि यस सातामा रु एक करोड ६८ लाख ५० हजार ७३३ बराबरको मात्रै कारोबार गरेको छ। उक्त सेक्युरिटिज प्रालिले अघिल्लो साता रु दुई करोड १२ लाख २६ हजार ६४६ बराबरको कारोबार गरेको थियो। 

बनेपाको क्रियटीभ सेक्युरिटिज प्रालि (४०) नम्बरका प्रमुख राजेन्द्र मर्हजनले शेयर बजारमा गिरावट आएपछि लगानीकर्ता शेयरमा लगानी गर्न हिचकिचाइरहेको जानकारी दिए। धुलिखेल, पनौती, पाँचखाल, भक्तपुर लगायतका क्षेत्रबाट शेयर कारोबार गर्न लगानीकर्ता बनेपा आउँछन्। बनेपामा तीनवटा ब्रोकर कार्यालयले शेयर खरिद, बिक्रीको काम गर्दै आएका छन्। शेयर बजार बढ्दा बनेपाका ब्रोकर कार्यालयमा रु छ करोडदेखि रु १० करोडसम्मको कारोबार हुँदै आएको थियो। 

प्रकाशित: १४ पुस २०७४ ०९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App