प्राकृतिक स्रोतको अन्धाधुन्द दोहन

शुक्रबार, १४ पुष २०७४, ०८ : २८ राजु अधिकारी  | @rajuadhikari14

झापा- प्राकृतिक स्रोतको जथाभाबी र अत्यधिक दोहनले पर्यावरणीय असुरक्षा उच्च भएका बेला ठेकेदारहरूको दादागिरीले भौतिक संरचनाहरू पनि ध्वस्त बन्दै गएका छन् । उनीहरूले अत्यधिक भारसहितका गाडी कुँदाएर  ग्रामीण सडक ध्वस्त पारिरहेका छन् । तर, निर्माण सामग्रीबाट आउने राजस्वको लोभमा परेका सरकारी निकायहरूले यो क्षतिलाई पूरै बेवास्ता गरिरहेका छन् ।
झापाका धेरै ग्रामीण तथा कृषि सडकहरू क्रमशः कालोपत्रे हुँदै आएका छन् । यो क्रम अहिले पनि जारी छ । तर, यस्ता सडकमा भएको कालोपत्रे वर्ष दिन पनि राम्ररी टिकेका उदाहरण विरलै मात्रै छन् । विज्ञहरूका अनुसार सडकको क्षमताभन्दा कयौं गुणा बढी भार बोकेर गुड्ने गाडीले सडक क्षतविक्षत पारेका हुन् । ‘ग्रामीण क्षेत्रका सडक स्थानीयवासीको सहज यातायात सुविधासँगै  आवतजावतका लागि भनेर बनाइएको हुन्छ’, डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेश यादवले भने, ‘तर, ती सडकमा अत्यधिक भार बोकेर दैनिक सयौं टिपर र ट्रक दौडिन्छन् । यही कारण पाँच वर्षसम्म केही नहुने खालका सडक पनि पाँचै दिनमा ध्वस्त भइरहेका छन् ।’ उनका अनुसार जिल्लाका अधिकांश सडक साना सवारी चल्ने र ठूलोमा यात्रु बससम्म चल्ने अनुमानका आधारमा बनाइएका हुन्छन् । तर, बाटो कालोपत्रे भएपछि बेरोकटोक जस्ता पनि साधन चल्ने भएपछि सडकको आयु ज्यादै छोटो हुने गरेको छ ।

निर्माण सामग्री बोकेका ठूला तर थोरै चक्का भएका टिपर र ट्रकको बाक्लो आउजाउले कामै नलाग्ने बनेका सडक झापामा धेरै छन् । यहीमध्येको एउटा सडक हो, बिर्तामोड–शनिश्चरे हुँदै खुदुनाबारी जोड्ने सडक । सन् १९९० ताका भूटानी शरणार्थीलाई खुदुनाबारीमा शिविर बनाएर राखिएपछि यो सडक कालोपत्रे भएको थियो । विभिन्न दातृ निकायको सहयोग र  स्थानीय निकायहरूको लगानीमा भएको कालोपत्रेको अहिले नामोनिसान छैन । खाल्डाखुल्डीले भरिएको सडकमा यात्रुबाहक साधनलाई चल्नै पनि मुस्किल हुने अवस्था छ । ‘केही वर्षअघिसम्म कालोपत्रे भएको सडक अहिले गएगुज्रेको ग्राभेलमा परिणत भएको छ’, शनिश्चरेका बासिन्दा कुमार भट्टराईले भने, ‘यो सबै ओभरलोड भएका गाडीका कारण भएको हो ।’

यो बाटो पूर्वोत्तर झापा र दक्षिण इलामका हजारौं नागरिकलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सामरिक महŒवको सडक हो । सडक विभागका अनुसार यसलाई सहायक राजमार्ग भनेर विभागले किटान मात्रै गरेको छैन, यसको स्तरोन्नति हुनुपर्ने योजना पनि बुनेको छ । तर, बिरिङ, टाङटिङ खोला र चुरे क्षेत्रको निर्माण सामग्री निकालेर सहर ओसार्ने क्रसर व्यवसायी र ठेकेदारले भने यसलाई क्षतविक्षत पारेर छाडेका छन् । अहिले पनि दैनिक सयौंको संख्यामा यो बाटोमा टिपर र ट्रक दौडिन्छन् । ‘नेपाल रोड मापदण्ड अनुसार बनेका यी सडकमा जति भार थपिँदै जान्छ, मालवाहक साधनले उत्तिकै संख्यामा चक्का पनि थप्दै जानुपर्छ यसरी चक्का थपिँदा धेरै लोड पर्दैन’, डिभिजन सडक प्रमुख यादव भन्छन्, ‘तर, व्यवसायीले  टिपरमा अत्यधिक लोड राख्ने चक्काचाहिँ नथप्ने गर्दा सडकले भार थेग्नै सक्दैन । मुख्य समस्या यही भएको छ ।’

एक वर्षअघि स्थानीयवासीले पहिला बलियो सडक बनाउने अनि मात्रै ठूला भार भएका साधन चलाउन माग राख्दै एक महिनाभन्दा बढी समय शनिश्चरे रोड बन्द नै गरे । बाटोभर ढुंगा राखेर उनीहरूले कुनै पनि टिपर र ट्रक चल्न दिएनन् । त्यसबेला तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) ले तत्कालै बाटो बनाइदिने वचन दिएपछि स्थानीयले अवरोध खुलाए । तर, प्रतिबद्धता भने कार्यान्वयन भएन । ‘ठूला साधन सडकमा चलाउनै हुँदैन भन्ने हाम्रो भनाइ होइन’, शनिश्चरे बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष भट्टराईले भने, ‘तर, त्यस्ता साधनको भार थेग्ने सडकचाहिँ बनाउनु प¥यो भन्ने हो । भएको सडक बिगारेर सरकारी निकायले राजस्व मात्रै असुल्ने काम गर्नु हुँदैन ।’
शनिश्चरे सडकको जस्तै क्षतविक्षत बनेको अर्को सडक हो, धुलाबारी–भद्रपुर सडक । धुलाबारीबाट चार किलोमिटर दक्षिणसम्म कालोपत्रे भएको पाँच वर्ष पनि भएको छैन । यो सडकमा पनि अहिले कालोपत्रेको कुनै निसाना छैन । खाल्डाखुल्डी र धुलोले अहिले सबैलाई सताएको छ । निन्दा, मेची, टिमाई जस्ता खोलाहरूबाट निर्माण सामग्री बोकेर दौडिने टिपर र ट्रकहरूले सडकलाई ध्वस्त पारेका छन् । ‘यो सडकमा हामीले पटकपटक अनुगमन गरेका छौं’, डिभिजन प्रमुख यादवले भने, ‘यो सडक पनि ओभरलोडकै कारण असमयमै भत्केको देखिन्छ ।’
यो क्षेत्रमा निर्माण सामग्री मात्रै होइन, विभिन्न उद्योगधन्दा पनि चलेका छन् । एक दर्जनभन्दा बढी प्लाई उद्योग, एउटा सिमेन्ट उद्योग सञ्चालित रहेको यो क्षेत्रमा दिनहुँ ट्रक, टिपर र कन्टेनरहरू चल्छन् । ‘बस, कार, बाइकका लागि बनेको सडकमा ठूला साधन जथाभाबी गुडाउँदा सडक धस्सिने र भत्किने समस्या तीव्र छ’, स्थानीयवासी चेतन बिष्ट भन्छन्, ‘जिसस र नगरपालिका रमिते भएका कारण यस्तो अवस्था आएको हो ।’

बाटोको अवस्था सुधार्न भन्दै करोडौं लगानीमा कालोपत्रे गर्ने तर त्यसको दीर्घायुका लागि भने ध्यान नदिने सरकारी कमजोरीले  राज्यको पैसा बगेको बग्यै छ । सडक विभाग पनि लाचारी मात्रै देखाउँछ । ‘हामीले हेर्ने सडक हाइवेहरू मात्रै हो’, प्रमुख यादव भन्छन्, ‘अन्य सडक स्थानीय निकायले हेर्ने हो । सडक क्षमता अनुसार गाडी गुड्न दिने प्रबन्ध नगर्ने हो भने यस्तो अवस्था सधैँ कायम रहन्छ ।’ उनले स्थानीय तहले सडक हेर्ने भने पनि राजस्व असुल्ने बाहेकका काममा अघि सरेका छैनन् । ‘विकासका लागि भनेर जिससले खोलानाला ठेक्का लगाउने हो’, जिससकै एक अधिकृत भन्छन्, ‘तर, विकासभन्दा बढी विनाश नै भएको छ । यो सत्य हो ।’
यस्तो विनाशलीलाले निरन्तरता पाउँदा सडकदेखि अन्य संरचनामै पनि ठूलो क्षति भइरहेको छ । खोलाको बगर लगातार खोतल्ने र गहि¥याउने ठेकेदारलाई सरकारले देखेको नदेख्यै गरिदिँदा पूर्वोत्तर झापाको खुदुनाबारीमा खानेपानी र सिँचाइको स्रोत नै सुकेको छ । खुदुनाबारी आसापासको बिरिङ खोलाको बगरबाट निर्माण सामग्री निकाल्ने ठेकेदारहरूले जथाभाबी गर्दा हजारौं सर्वसाधारण विस्थापनको खतरामा पुगेका छन् ।  खोलाको भाग लगातार गहिरिएर गएपछि गाउँमा चल्दै आएका चारवटा सिँचाइ आयोजनाका पैनी दुई वर्षदेखि बन्द छन् । गाउँका सयौं सर्वसाधारणको इनार र ट्युबेल सुकेका छन् । खानेपानी आयोजना बन्द हुने अवस्थामा पुगेको छ ।







यसमा तपाईको मत

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad