१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हामीलाई आन्तरिक पाहुनाको साथ छ

चौबहादुर गुरुङ  अध्यक्ष, रेबान पोखरा

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा बिहीबादेखि पोखरामा सडक महोत्सव आयोजना हुँदैछ । अंग्रेजी नयाँ वर्षको सुरु र पुरानो वर्ष बिदाइ गर्दै आयोजना गरिने यो महोत्सवको १९औं संस्करण हो । एकै समय र अवधिका लागि आयोजना हुने महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको व्यवसायी बताउँछन् । यही सन्दर्भमा रेबानका अध्यक्ष चौबहादुर गुरुङसँग नागरिक संवाददाता सन्तोष पोखरेलले गरेको कुराकानी ः 

यो संस्करणको सडक महोत्सव कसरी गरिँदैछ ? 
सबै तयारी पूरा भएको छ । आजदेखि महोत्सव सुरु भएको छ । यसअघि विभिन्न ठाउँमा पुगेर पत्रकार सम्मेलनमार्फत पोखरामा हुने यो महोत्सवमा घुम्न आउनू भन्दै आन्तरिक पाहुनालाई निम्ता पनि गरेका छौं । हामी आशावादी छौं– आन्तरिक पाहुनाले हामीलाई साथ दिनेछन् । अहिलेसम्म आन्तरिक पाहुनाको साथ पाएका छौं । यो पटक पनि अवश्य पाउनेछौं । त्यसबाहेक पाँचदिने महोत्सव अब भव्य रुपमा सुरु भएको छ ।

यो महोत्सव कुन अर्थमा महत्वपूर्ण छ ?
प्रकृति र संस्कृति संरक्षण नै हाम्रो मुख्य उद्देश्य हुनेछ । प्रकृतिले पोखरामा उत्तिकै राम्रो छ । संस्कृतिमा पनि जनजाति बाहुल्य क्षेत्र भएकाले राम्रो छ । महोत्सवमा सातैवटा प्रदेशका सांस्कृतिक समूह सहभागी हुँदैछन् । त्यसले सबै जातजाति र भेषभूषाको संस्कृति संरक्षण गर्न पनि यो महोत्सवले साथ दिनेछ । सबैखाले संस्कृति पोखरामा भित्रिने भएकाले यसले महत्व बोकेको छ । त्यही संस्कृतिमा रम्न पाहुना आउँछन्, ती पाहुनाका कारण पोखराको पर्यटन क्षेत्रले फाइदा पाएको छ । 

महोत्सवले पर्यटन क्षेत्रमा कत्तिको योगदान पु¥याएको छ ?
पोखरामा हिजोसम्म मौसमी व्यापार हुन्थ्यो तर, अहिले बाह्रैमास व्यापार हुन्छ । यसको मुख्य कारण नै सडक महोत्सव हो । महोत्सव हुँदैनथ्यो भने पोखरामा यो सिजनमा पाहुना नआउन पनि सक्थे । यसले प्रचारप्रसार गरेर पोखरामा आन्तरिक पर्यटनप्रतिको आकर्षण बढाएको छ । यहाँ घुम्न आउने पर्यटकले नै मौखिक प्रचार गरेका कारण बाहै्रमास पर्यटक आएका हुन् । बाह्रैकाल पोखरा सिजनल भएको छ । पोखरामा बाह्रैमास पाहुना ल्याउन सडक महोत्सव मुख्य सहयोगी हो ।

तर, यो ‘अफ सिजन’लाई सिजनमा बदल्ने गरी विदेशी पर्यटक भित्र्याउन नसकिएको हो ?
यसमा हाम्रो मात्र दायित्व हुँदैन । यो राष्ट्रिय दायित्व पनि हो । नेपालमा बेलाबेलामा समस्या आउँछ । दैवीप्रकोप, नाकाबन्दी, भूकम्पका कारण पर्यटक आगमनमा असर परेको हो । त्यसको असरले आन्तरिकभन्दा विदेशी पाहुना आउन नसकेका हुन् । प्राकृतिक तथा राजनीतिक संक्रमणले पर्यटनलाई असर पारेको थियो । यो बाहेक सरकारी नीति पनि हो । त्यसैले अब सरकारी निकाय पनि यो बेला नेपालमा विदेशी पाहुना भित्र्याउन अघि सर्नुपर्छ ।

विदेशी पर्यटक भित्र्याउने गतिविधि कम भए भन्ने गुनासो छ नि ? 
देशको राजनीतिक अस्थिरता र छिमेकी देशको अस्थिरताले पनि नेपालमा पर्यटन आगमनमा प्रभाव पारेको छ । नेपालको भौगोलिक बनोट, प्राकृतिक विपत्तिका कारण पनि विदेशी नआएका हुन् । त्यसबाहेक एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा पनि त्यसले हवाई सञ्जाल विस्तारमा समस्या भएको छ । नेपालको हवाई सेवा निकै कमजोर छ । कमजोर हवाई सञ्जालमा यात्रा गर्दा विदेशीले झन्झट मानेका छन् । उनीहरु आफ्नो समय अनुसार चल्न खोज्छन् तर यहाँ ट्राफिक जाम, नेपाल बन्द लगायतले नेपाल यात्रामा बेलाबेलामा अवरोध हुने गरेको छ ।

नेपालमा हुने गतिविधिले उनीहरुको नेपाल उद्देश्य पूरा हुन नसकेका घटना पनि छन् । त्यसले उनीहरुमा वितृष्णा जगाएको छ । यही कारणले पनि विदेशी पर्यटकको आगमन कमी भएको हो । विदेशी पाहुना आउन आतुर छन् । तर, आगमनको सुविधा अप्ठेरो छ । गतिविधि हुँदाको अवस्थामा पनि पहुँचमा समस्या भए पाहुना भिœयाउन सकिन्न, हामीलाई त्यही समस्या हो । यहाँ एकतहका गतिविधि भएका छन् । तर, पहुँच व्यवस्थित छैन, त्यसले पाहुना आउन सकेनन् । 

यही प्रवद्र्धन भारतमा गरेर कम्तीमा भारतीय पर्यटक आगमन बढाउन त सकिन्छ नि !
भूकम्पपछि नाकाबन्दी भयो, त्यसपछि हामीले पुनर्जागरणका कार्यक्रम गरेर आगमनमा केही सुधार गरेका हौं । त्यसले गर्दा भारतीय पाहुना आउन थालेका हुन् । अब विदेशी लेखकलाई पनि नेपाल निम्त्याउन आग्रह गरेका छौं । त्यसमा हाम्रो मात्र पहुँचले पुग्दैन । यसको दायित्व पर्यटन बोर्ड र मन्त्रालयको पनि हो । खासमा पर्यटन बोर्डले सक्रियता देखाउनुपर्ने हो । हामीसँग बजेट कम हुँदा पनि विदेशमा गएर पत्रकार सम्मेलन गर्न गाह्रो हुन्छ । त्यसैले चाँजोपाँजो मिलाउने निकाय सक्रिय हुने हो भने हामी विदेशमा पनि प्रर्वद्धन गर्न जान सक्छौं ।

महोत्सव लेकसाइडमा मात्र केन्द्रित भयो भन्ने गुनासो छ नि !
मलाई यो कुरामा विश्वास लाग्दैन । पोखरा आउने पर्यटक सबै बाहिरका हुन् । उनीहरु बस वा जहाजबाट आउँछन् यसबाट ती जहाज र बसले पनि फाइदा लिएका छन् । पोखरा मात्र घुम्न आउने त होइनन्, उनीहरु आउँदा धम्पुस, घान्द्रुक, तातोपानी, बेगनासलाई समेटेको छ । महोत्सवमा आएका पाहुना पाँचै दिन पोखरामा बस्दैनन् । आसपास क्षेत्रमा पनि जान्छन् । ती पाहुना बाँडिदा अरुले पनि फाइदा पाएका छन् । प्रत्यक्ष रुपमा लेकसाइड देखिएपनि फाइदा सबैलाई हुन्छ । यहाँ तरकारी, रासनपानी, बिक्री हुँदा त्यसबाट किसानले फाइदा पाएका छन् । 

महोत्सवको प्याकेज नबनाएको भन्ने गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
सडक महोत्सवमा सहभागी हुन आएका पर्यटकलाई स्वच्छ, स्वस्थ र मिठो खाना खुवाउने जिम्मा हाम्रो हो । खाने पिलाउनेमा हामीले सम्झौता गर्दैनौं । रेबानले आफ्नो काम गरेको छ । प्याकेज बेच्ने काम हाम्रो होइन । यसको जिम्मा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाट्टा) र होटल संघको हो । नाट्टाले घुमघामको व्यवस्था मिलाउँछ ।

होटलले बसोबासको प्रबन्ध गर्छ । हामीले घुमघामको व्यवस्था गर्दैनौं । यसका लागि अरु संस्थाले पनि सहकार्य गर्नुपर्ने हुन्छ । विगतको तुलनामा अहिले सहकार्य भएकै छ । यो महोत्सवलाई पहिला रेबानको मात्र भनिन्थ्यो । अहिले यो समग्र पोखराको हो भनेर हामी लागिपरेका छौं । तर पनि सबै समेटिएका छैनन् । हाम्रो काम सबै मिलेर काम गरौं भनेर आह्वान गर्ने हो । रेबानकै पनि पूरै टिम लागेको छैन । सद्भाव मात्र छ । सबै मिलेर अघि बढ्नुको विकल्प छैन ।

महोत्सवका बेला लेकसाइडमा खाना र बासको मूल्य महँगो लिइयो भन्ने आरोप छ नि ?
हामी रेबानमा ८० जना सदस्य छौं । हाम्रो सदस्य भएका रेस्टुरेन्टले एउटै मेनु चलाउँछौं । अरुबेलाभन्दा छुट पनि दिन्छौं । तर, हामीले कहिल्यै पनि बढी मूल्य लिँदैनौ । ग्राहकको भीड बढ्दा भनेजस्तो भेराइटीको खाना बेच्न सक्दैनौं । तर, बढी मूल्य लिएका छैनौं, बरु महोत्सवमा छुट दिएका छौं ।

अरुले भनेजस्तो महँगो छैन । रेबानभन्दा बाहिर अन्य करिब दुई सय रेस्टुरेन्ट पनि छन् । ती रेस्टुरेन्टमा महँगो हुन सक्छ । त्यसबाहेक यहाँ डान्स रेस्टुरेन्ट, डिस्कोथेक पनि छन् । बाहिरबाट आउने पाहुना त्यहाँ पुगेका पनि होलान्, त्यसले गर्दा महँगोमा पर्नुभएको होला । हाम्रो तुलनामा ती रेस्टुरेन्ट महँगा पनि छन् । यो बेलामा मात्र रेस्टुरेन्ट चलाउने पनि छन् । महोत्सवको मौका पारेर भलपानी छौपांै भन्ने रेस्टुरेन्ट पनि छन् । बाहिरबाट आउने पाहुनालाई मेनु हेर्न पनि हामी अनुरोध गर्दछौं । हाम्रो आफ्नै मेनु छ । अरुले बदमासी गरेका हुन सक्छन् ।

त्यस्ता अवसरवादी रेस्टुरेन्टको नियन्त्रण कसले गर्ने त ? 
हाम्रो सल्लाहकार समितिको टोलीमार्फत अनुगमन गर्दै आएका छौं । पोखरा पर्यटन परिषद् अध्यक्षलाई नै अनुगमन टोलीमा राखेका छौं । ठगी गर्नेलाई कारबाही गर्ने अधिकार हामीलाई छैन । प्रशासनले मात्र उनीहरुलाई कारबाही गर्न सक्छ । हामीले ठगी गर्ने पत्ता लगाए पनि कारबाही गर्न सक्दैनौं, बरु प्रशासनमा खबर गर्न सक्छौं ।

खाना, संगीत र संस्कृति जगेर्ना भनिएको यो महोत्सवलाई अन्तर्राष्ट्रियस्तरको कहिले बनाउने ?
यो काम पनि बिस्तारै हुन्छ । अहिलेकै महोत्सवमा पनि भारतीय, कोरियन, र जापनिज संस्कृति र ब्यान्ड टोली आउँदैछन् । तीन वर्षदेखि जापानी ब्यान्ड नियमित सहभागी भएको छ । त्यसबाहेक नेपालमा बस्ने चिनियाँ समूहले पनि प्रस्तुती दिनेछ । भारतको सांस्कृतिक समूह वर्षाैंदेखि आइरहेका छन् ।

भारतको मिजोरम सहरबाट सांस्कृतिक समूह आइरहेका छन् । अहिले बिस्तारै माहोल बढ्दै जाँदा थप विदेशी संस्कृतिको पनि प्रस्तुती गर्नेछौं । संगीतको क्षेत्रमा भने हामीले विदेशी भित्र्याउन सकेका छैनौं । नयाँ वर्ष र क्रिसमस संसारभर मनाउँदा राम्रा कलाकार र सांगीतिक समूहलाई अरुले नै अग्रिम बुक गरेका कारण सोही समयमा उनीहरु नेपाल आउन सक्दैनन् । समयले साथ नदिँदा उनीहरु आउन सक्दैनन् । नेपालकै राम्रा कलाकार त त्यो बेला बाहिर जान्छन, विदेशी त झनै ल्याउनै सक्दैनौं ।

यो महोत्सव फरक हुनुमा आकारमा मात्र हो कि अरु कारण पनि छन् ? 
अरुले बन्द क्षेत्रमा कार्यक्रम गर्ने भएपनि रेबानले ठूलो खुला क्षेत्रमा गरेको छ । अरुका कार्यक्रममा बन्द क्षेत्रभित्र तोकिएका सीमित सांस्कृतिक समूह हुन्छन् । तर, हाम्रोमा नेपालको मेचीदेखि महाकालीसम्म र उत्तरदेखि दक्षिणसम्मका सबै टोलीलाई बोलाएका हुन्छौं । त्यसबाहेक हस्तकला, कृषिजन्य वस्तु प्रदर्शन गर्छौं ।

प्रकाशित: १३ पुस २०७४ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App