१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

बायोपिक बनाउँदै सोहा

मुम्बई–बलिउडमा अधिकांश फिल्मकर्मीको ध्यान बायोपिक फिल्म बनाउनेतिर जान थालेको छ । यसै सातामात्र भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र शिव सेनाको संस्थापक बाल ठाकरेको कथामा फिल्म बन्ने समाचार सार्वजनिक भइरहँदा बायोपिक फिल्मको सूचीमा भारतकै चर्चित वकिल राम जेठमलानी पनि जोडिएका छन् । जेठमलानीको बायोपिक अभिनेत्री सोहा अली खानले बनाउने घोषणा गरेकी हुन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार सोहाले पति कुणाल खेमुसँग सहकार्य गर्दै फिल्म बनाउने तयारी गरेकी हुन् । सोहाले दिग्गज वकिल र राजनेता जेठमलानीको जीवनलाई दुई घण्टाको बायोपिक फिल्ममा परिवर्तन गर्नु चुनौतिपूर्ण हुने बताइन् । उनले जेठमलानीको जीवनको कुनै पनि तथ्यलाई छोड्न नसकिने भएकाले पनि फिल्म बनाउनु चुनौतिपूर्ण रहेको बताएकी छिन् ।
‘जेठमलानीको जीवनलाई दुई या अढाई घण्टाको बायोपिकमा ढाल्नु चुनौतिपूर्ण काम हो । हामीले फिल्म बनाउनका लागि रोमी स्करुवाला जस्ता एउटा राम्रो साथी पनि पाएका छौं,’ उनले भनेकी छन्, ‘फिल्मको पटकथा तयार भएपछि हामी निर्देशकसँग कुरा गर्नेछौं । निर्देशकले ग्रीन सिग्नल दिनसाथ हामी फिल्मको काम सुरु गर्नेछौं ।’

सोहा र अभिनेता पति कुणाले रेनेगेड फिल्मस् नामक होम प्रोडक्सनको ब्यानरमा फिल्म बनाउनेछन् । फिल्मको स्क्रिप्टको काम हाल धमाधम भइरहेको छ । स्क्रिप्टको काम सकेपछि मात्र ब्यानरले फिल्म निर्देशकको घोषणा गर्नेछ ।

फिल्ममा जेठमलानीको जीवनका केही खास मुद्दा पनि समावेश गरिनेछ । जसमा १९५९ को केएम नानावाती बनाम महाराष्ट्र र २०११ को २ जी घोटाला समावेश हुनेछ । हवाला घोटालामा जेठमलानी लालकृष्ण आडवाणीका वकिल थिए । अरुण जेटलीले दायर गरेको मानहानी मुद्दामा चाहिँ अरविन्द केजरीवालको वकिल थिए ।

‘यो राम्रो जीवन गाथा हो । किनकी जेठमलानी ९४ वर्षका छन् । उनको करियर ७० सालको छ र यो करियरमा उनले कस्ता कस्ता व्यक्तिको प्रतिनिधित्व गरे भन्ने कुरा पनि फिल्ममा देखाइनेछ,’ सोहाले खुलाइन्, ‘उनको राजनेता र कैयौं अपराधीसँग पनि सम्बन्ध थियो । यो कथा दर्शकलाई बताउन सजिलो छैन । यसमा केवल कथा मात्र दर्शकलाई भन्न सकिँदैन । उनको जीवनको कुन कुरालाई देखाउने र कुन कुरालाई नदेखाउने भन्ने चुनौती पनि छ ।’ बायोपिकमा शीर्ष भूमिकामा सोहा पति कुणालले नै अभिनय गर्नेछन् ।

 

प्रकाशित: १३ पुस २०७४ ००:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App