१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हुलाक सेवा विभागमा गुन्डागर्दी, सेटिङमा टेन्डर स्वीकृत

काठमाडौं- हुलाक सेवा विभागले माग गरेको ५० लाखभन्दा बढीको ठेक्का गुन्डा लगाएर सेटिङमा खुलाएको आरोप लागेको छ । मंगलबार अन्य कम्पनीका प्रतिनिधिलाई प्रवेशमा अवरोध गरी एउटा मात्रै कम्पनीको टेन्डर दर्ता गर्न दिइएको थियो । अन्य कम्पनीले सेटिङमा टेन्डर खुलाइएको आरोप लगाएका छन् ।

विभागले एक महिनाअगाडि बारकोड स्क्यानर र बारकोड प्रिन्टर खरिदका लागि ३० दिनको समय तोकेर बोलपत्र आह्वान गरेको थियो । बोलपत्र दर्ता गर्ने अन्तिम मिति मंगलबार १२ बजेसम्मको समय तोकिएको थियो । मंगलबार १० बजे बोलपत्र दर्ता गराउन डिल्लीबजारस्थित विभागको कार्यालयमा पुगेका विभिन्न कम्पनीका प्रतिनिधिलाई गेटमा बसेको समूहले कुटपिट गरी प्रवेश गर्न अवरोध पु¥याएका थिए ।

प्रारम्भमै कृष्ण इन्टरप्राइजेजले बोलपत्र दर्ता गरिसकेको थियो । गेटमा बसेका गुन्डाले अन्य कम्पनीलाई बोलपत्र दर्ता गर्न अवरोध पु¥याएपछि करिब ५४ लाख कबोलेको सोही कम्पनीले टेन्डर पाएको छ ।

कार्यालय प्रवेशमा अवरोध भए पनि विभागले चासो देखाएन । असम्बन्धित समूहले टेन्डरका लागि आएकालाई कुटपिट गरेको सूचना विभाग प्रमुखकहाँ पुगे पनि अवरोध खुलाउन प्रयास भएन।

विभागबाट करिब ५ सय मिटरको दूरीमा प्रहरी थिए । टेन्डर दर्ता गर्ने समय सकिएपछि मात्रै घटनास्थलमा प्रहरी पुगेको थियो। प्रहरीले गेटको अवरोध खुलाएपछि टेन्डर दर्ताका लागि कम्पनीका प्रतिनिधि कार्यालयमा पुग्दा ‘पाँच मिनेट ढिला भयो’ भन्दै कर्मचारीले दर्ता गर्न अस्वीकार गरे ।

‘टेन्डरको फारम बोकेर दर्ता गर्न कार्यालय प्रवेश गर्न खोज्दा एक समूहले रोक्यो, किन रोकेको भन्दा उल्टै कुटे,’ टेन्डरका लागि विभागको कार्यालयमा पुगेका बारकोड नेपालका हेमेश्वर मल्लले भने, ‘प्रहरी आएर अवरोध हटाएपछि दर्ता शाखामा पुग्दा समय कटिसक्यो भन्दै दर्ता गर्न मानेनन् ।’ कुटपिटबाट घाइते भएकाले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा जाहेरी दिएका छन् । एकल टेन्डर परेको भन्दै विभागका अधिकारीले मंगलबार नै टेन्डर खोलेका थिए ।

टेन्डर खोल्दा कृष्ण इन्टरप्राइजेजका प्रतिनिधिबाहेक सुरक्षाकर्मीलाई समेत बस्न दिइएन । कमलपोखरी वृत्तका डिएसपी कुलदीप चन्दले टेन्डर दर्तामा अवरोध पुर्‍याएको र कुटपिट भएको दाबी गर्दै निवेदन आएपछि दुवै पक्षलाई बोलाएर छलफल गराएको बताए। ‘पहिला सरकारी कार्यालयमा ठेक्का खुल्दा अवरोध हुनसक्ने भन्दै प्रहरीलाई पूर्वजानकारी आउँथ्यो । यसमा भने पूर्वजानकारी भएन,’ चन्दले भने, ‘जानकारी आएलगत्तै विभागमा पुगेर अवरोध हटाएका थियौं।’

विभागका प्रमुख राजन पौडेलले ३० दिनको म्याद तोकिए पनि अन्तिम दिन मात्रै टेन्डर दर्ताका लागि सबै आउँदा घटना भएको बताए । ‘समय सकिएपछि केही कम्पनीका प्रतिनिधि अवरोधका कारण दर्ता गर्न सकिएन भन्दै दर्ताका लागि आउनुभएको थियो,’ उनले भने, ‘कानुनअनुसार तोकिएको समयपछि टेन्डर दर्ता गर्न सकिएन।’

प्रकाशित: १२ पुस २०७४ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App