१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उहिले कालापहाड, अहिले खाडी

जिल्ला प्रशासन कार्यालय जुम्लामा राहदानीका लागि बसेका स्थानीय

जुम्ला–तातोपानी गाउँपालिका १ का नन्दबहादुर बुढा कामको खोजीमा कालापहाड जाने गरेको दशक बित्यो । कालापहाडको कमाइले उनको परिवारका लागि जेनतेन गाँस र कपासको जोहो त ग¥यो तर बास र आर्थिक समृद्धिमा कुनै हलचल ल्याएन । 

‘वर्षौंको रोजगारीको गन्तव्य परिवर्तन गर्दै मनग्य पैसा कमाएर परिवारमा खुसी छर्न राहदानी बनाएर खाडी मुलुक जाने तयारीमा छु,’ बुढाले भने । खाडी मुलुकमा लामो बसाई हुन मनग्य आर्जन हुने भएकोले रोजाइ बनेको उनले सुनाए । 

तातोपानी–२ का लोकेन्द्रबहादुर बुढा खाडीमा जस्तो सुकै कष्ट झेल्नु परे पनि जाने तयारी गरेको बताउँछन् । ‘गाउँमै बसौं परिवार पाल्ने चटारो, कालापहाड जाआंै, १० नंग्रा खियाएर कमाएको पैसाले वर्ष दिन पुग्दैन,’ उनले दुखेसो पोखे, ‘अब खाडी मुलुकमा गएर कमाउने धोको छ । जति दु?ख कष्ट बेहोर्नु परे पनि खाडीको अनुभव गर्न राहदानी बनाउँदैछु,’ उनले भने, खाडी पुग्दा पनि परिवारमा कुनै परिवर्तन नआए आफ्नै बारीमा मेहनत गर्नु पर्ला !’

नन्द र लोकेन्द्र उदाहारण मात्र हुन् । उनीहरु जस्तै झन्डै १ हजार ४ सयजनाले राहदानी लिएर खाडी मुलुक प्रवेश गरिसकेका छन् । राहदानी लिनेमध्ये निकै कम मात्रामा घुमघाममा जाने, अधिकांशको गन्तव्य खाडी मुलुक हुने गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखा प्रमुख कविदत्त न्यौपानेले बताए । उनले भने, ‘जिल्लाको सबैभन्दा बढी पातारासी गाउँपालिकाका युवाले राहदानी लिएका छन् ।’ 

चालु आर्थिक वर्षमा मात्रै जिल्लाबाट १ सय ७ जनाले राहदानी लिइसकेका छन् । दु्रत प्रक्रियाबाट २ सय ५१ जनाले राहदानी लिइसकेको कार्यालयले जनाएको छ । जिल्लाबाट लिँदा ५ हजार रुपैयाँ र राहदानी आइपुग्न ४५ दिन लाग्छ । दु्रत प्रक्रियाबाट लिँदा १० हजार रुपैयाँ लाग्छ । यसमा एक हप्तामै राहदानी लिन सकिने फाँट प्रमुख न्यौपाने बताउँछन् । गत वर्ष राहदानीबाट १३ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको हालसम्म ५ लाख ३५ हजार रुपैयाँ संकलन भएको कार्यालयको अभिलेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा कालापहाड पेट पाल्नकै लागि जाने गरेकोमा खाडी मुलुक कमाउन जाने गरेको बताउँछन् । विदेशमा पैसा मात्रै छ, दुःख छैन भन्ने भ्रमले जुम्लाका युवा खाडी मुलुकमा हानिने गरेका हुन् । 
शैक्षिक बेरोजगारी, गरिबीका कारण बाध्य भएर खाडी जानु परेको सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले बताए । उनले भने, ‘नेपालमा औद्योगिक विकास हुन सकेको छैन । उत्पादित जनशक्ति खपत हुने अवस्था नहुँदा अन्तिम रोजाइ खाडी मुलुक हुने गरेको हो ।’ खाडीबाहेक, जापान, अमेरिका, अस्ट्रेलिया पनि जाने गरेका छन् । पछिल्लो समयमा कालापहाड जान छाडेर खाडी मुलुक जाने गरेको स्थानीय बताउँछन् । 
 

 

प्रकाशित: १२ पुस २०७४ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App