१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नमूना बस्ती निर्माण धमाधम हुँदै

रौतहट–रौतहटको चन्द्रपुरमा निर्माण भइरहेको एकीकृत सन्तपुर नमूना बस्तीको निर्माण समयमै पूरा गरेर स्थानीयलाई हस्तान्तरण गर्न यतिबेला हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ आफ्नो समूहसँग दिनरात नभनी काम गरिरहेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले गरेको बस्तीको निर्माण समयमै पूरा गरेर हस्तान्तरण गर्न उनको समूहको सक्रियता बढ्दो छ । बस्ती निर्माण स्थलमै मजदुरसँग काम गरिरहेका धुर्मुसले चौथो परियोजनाको रूपमा निर्माण भइरहेको सन्तपुरको बस्तीमा पनि देश तथा विदेशबाट भरपूर सहयोग भएको बताएका छन् ।

४७ वटा घर र एउटा प्राथमिक विद्यालयको भवन निर्माण भइरहेको बस्तीको शिलान्यास धुर्मुसले आफ्नो जन्मदिनको मौका पारेर गत असोज ३ मा गरेका थिए । असोज २८ देखि बस्तीको पर्खालबाट सुरु गरिएको बस्ती निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । धुर्मुसले सुदूरपश्चिमदेखि देशैभरका २ सय ६१ श्रमिकहरू ज्यालाको लागि नभई गरिबको लागि घर निर्माण गर्नुछ भन्दै अहोरात्र खटिइरहेको जनाए । ‘बस्ती आगामी माघ २४ का दिन पूर्वघोषित कार्यक्रम अनुसार नै हस्तान्तरण गरिनेमा कुनै द्विविधा छैन,’ उनले भने ।

एकै ठाउँमा एकै डिजाइनका भूकम्पप्रतिरोधी, वातावरणमैत्री, अपांगमैत्री, सरकारको नीति तथा नीति अनुरुप बनेको दुई तले, तल दुई कोठा र माथि दुई कोठा, ट्वाइलेट र बाथरुम अटैच्ड समेत भएको घरको लागत ५ करोड ९५ लाख अनुमान गरिएको छ । तर स्थानीयले निरन्तर श्रम गरिरहेको तथा केही सामान थोकमा किन्दा केही सस्तो समेत पर्ने देखिएकोले पहिले अनुमान गरिएको भन्दा केही कम लागतमै बस्ती निर्माण हुने करिब निश्चित रहेको धुर्मुसको दाबी छ । सहयोगमा नगद र जिन्सी सामान समेत जुटेकाले लागतमा केही थप कमी आउने उनको विश्वास छ ।

हालसम्म करिब तीन करोड रुपैया खर्च भइसकेको र अझै करिब दुई करोड रुपैया बाँकी रहेको अवस्थामा दुई करोड अपुग रुपैयाँ पनि बाँकीको दिनमा सहयोग स्वरुप प्राप्त हुने विश्वास पनि धुर्मुसको छ । हरेक बिहान ६ः१५ बजे सबै कामदार, मजदुर, मिस्त्री तथा सहयोगीहरु जम्मा भएर पिटी, परेड र राष्ट्रिय गानबाट सुरु गरी ब्रिफिङबाट कामको सुरुआत गर्ने उनले बताए । ‘लगन र मिहिनेत तथा इमानदारीका साथ फराकिलो मन राखेर समाजका दुःखी पीडितका लागि काम गरेको हो भन्ने ठानेर काम गरिरहेका छौं,’उनले भने,‘पैसाका लागि काम गरेको होइन भन्ने मानसिकता यहाँ काम गर्ने सबैमा रहेकोले सानो सहयोगले पनि घर ठडिने विश्वास सबैमा छ ।’

स्वदेश र विदेशबाट दाताले दिल खोलेर सहयोग गरेकोले बस्ती निर्माणमा खासै कुनै चुनौति वा समस्या नरहेको उनको बुझाई छ । ‘विदेशमा रहेका कतिपय नेपालीले आफ्नो घर नबनाएर दलित तथा गरिबको नमूना बस्ती बनाउन सहयोग गरेको सद्भावसमेत प्राप्त भएको छ,’उनले भने,‘सबैको सहयोगमा प्राप्त ऊर्जा नै यथार्थमा नमूना बस्तीको पूर्णताको आधारको पनि हो ।’

प्रकाशित: १२ पुस २०७४ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App