१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गति लिँदै बैजनाथपुर

निर्माणाधीन बैजनाथपुर रंगशाला ।

काठमाडौं–अघिल्लो साता बैजनाथपुरको क्रिकेट मैदानमा क्रिकेट पोसाकमा सजिएका एउटा कलेजका विद्यार्थी धुलो उडाउन व्यस्त थिए । विराटनगरको सिटी कलेजको आन्तरिक खेलका लागि लामो समयदेखिको निर्माणाधीन बैजनाथपुर मैदान व्यस्त थियो। 


‘बैजनाथपुरलाई खेल विशेषको मात्र नभई एउटा खेलकुद कम्प्लेक्सकै रूपमा विकास गर्ने मास्टर प्लान बनाएका छौं । त्यसका आधारहरू धेरै बनिसकेका छन् । जग हाल्न समय लाग्ने हो । हामीले पनि तीन चार फिटसम्मका गहिरा खाडल पुर्ने मुख्य काम गरिसकेका छौं । जमिनको सतहसम्मको काम भएकाले समय लागे पनि काम भएको नदेखिएको हो । अब माथिको कामले समय लिँदैन ।’ 

बैजनाथपुरको आतिथ्य पाउनेमा अघिल्लो मंगलबार राष्ट्रिय प्रतियोगितामा विराटनगरलाई समेत प्रतिनिधित्व गर्ने कालिचरण यादव पनि थिए । गत वर्ष यही समयमा सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट यही मैदानले आयोजना गरेको थियो । त्यो बेला खेल सुरु हुन केही मिनेटअघिसम्म पनि आउटफिल्ड सम्याउन मैदानभित्र डोजर व्यस्त देख्नेले राष्ट्रिय खेलकुद परिषद (राखेप) को चर्को आलोचना गरे। 

यही १५ बिघा १५ धुरभन्दा बढी क्षेत्रफल रहेको बैजनाथपुरमा राखेपले एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानसँगै इन्डोर सुटिङ रेन्ज, सफ्ट टेनिस कोर्ट एथलेटिक्स ट्य्राकसहितको फुटबल मैदान, बास्केटबल कोर्ट, भलिबल कभर्डहल, पौडी पोखरी र बहुउद्देश्यीय कभर्डहल बनाउने योजनामा काम सुरु गरेको थियो । त्यसमध्ये सफ्ट टेनिस कोर्ट गत वर्षको राष्ट्रिय खेलकुदमै तयार भइसकेको थियो भने सुटिङ रेन्ज निर्माण पनि अन्तिम चरणमा पुगेको छ । बाँकी सबै राखेपको मास्टर प्लानमा सीमित छ।  

राखेपको त्यही मास्टर प्लानका कारण खेलकुदको संवृद्ध इतिहास बोकेको विराटनगरका लागि बैजनाथपुर पूर्वेली खेकलुदकै ‘हब’ बन्ने अपेक्षा थियो । अझ त्यहाँको क्रिकेट सम्भावना बुझेका मेचीदेखि महाकालीसम्मकै क्रिकेटकर्मीहरू बैजनाथपुर क्रिकेट मैदानका कारण झनै उत्साहित थिए । तर खेलकुदमा रातारात केही हुँदैन । लगानी गरेको वर्षांैपछि मात्र नतिजा अपेक्षा गर्न सकिन्छ भन्ने प्राविधिक भनाइका लागि बैजनाथपुर क्रिकेट मैदान एउटा राम्रो उदाहरण हो । बनाउन थालेको चार वर्ष भइसक्दा पनि अझै यो मैदान केही सय दर्शक अट्ने प्यारापिट, काम चलाउ पिच र तारबारमै सीमित छ। 
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमूख टेकप्रसाद कट्टेल मैदानको भाग निकै गहिरो अवस्थामा रहेकाले त्यसमा माटो पुर्नु नै मुख्य चुनौती रहेकाले काम ढिलो भएको तर्क दिन्छन् । ‘यहाँ झन्डै तीन फिटसम्म माटो पुर्ने काम भएको छ । अझ वर्षामा आउने बाढी यहाँको अर्को चुनौती हो । बाढीका कारण यसपाली काम हुनै सकेन । यहाँ काम गर्ने भनेकै हिउदमा हो।

हिउँद लागेपछि काम सुरु गरेर जेठसम्ममा सिध्याईसक्नुपर्छ । तर हामीकहाँ बजेट निकासा भएर टेन्डरको प्रक्रिया सिध्याउनै समय लाग्छ । त्यसैले चुनौतीपूर्ण छ,’ कट्टेलले भने, ‘तमाम चुनौतीका बावजुद माटो पुर्ने, पिच बनाउने, तारबार गर्ने, चेन्जिङ रुम बनाउने काम सम्पन्न भइसकेका छन् । जति पुरे पनि बाढीले हरेक वर्ष बगाउने समस्याका कारण हामीले यसबीचमा बाढीले माटो बगाउन नसक्ने गरी वरिपरि ढलान गर्ने काम पनि गरिसकेका छौं।’

कट्टेलका अनुसार यो वर्ष बाँकी माटो पुर्ने, सम्याउने र घाँस रोप्ने तथा नाली बनाउनका लागि १ करोड ३० लाख रुपैयाँ निकासा भइसकेको छ । जेठसम्ममा सबै काम सकिने उनले बताए। 

कलेजको आन्तरिक खेल सकिएपछि मैदानबाहिर भेटिएका कालीचरण बैजनाथपुरको सुधारबाट सन्तुष्ट छन् । भन्छन्, ‘राष्ट्रिय खेलकुदको तुलनामा अहिले मैदानको अवस्था धेरै राम्रो भइसकेको छ । त्यो बेला फिल्डिङ गर्दा कतैकतै धापमा दौडिएजस्तो हुन्थ्यो, खुट्टा गाडिएर दौडिनै सकिँदैनथ्यो । ३० यार्ड सर्कलबाहिर २ फिटसम्म पुरुवा माटोमा खेल्नुपरेको थियो । लेभल ठीक नहुँदा चोट लाग्ने सम्भावना धेरै थियो । त्यसैले बचेर खेल्नु परेको थियो । अहिले पनि आउटफिल्डको सतह ठीक छैन । तर गत वर्षको तुलनामा धेरै राम्रो भयो । विराटनगरको क्रिकेटले कम्तीमा खेल्नका लागि मैदान पाएको छ।’
राखेपका सदस्यसचिव केशवकुमार विष्ट यो वर्ष मैदानभित्रको सबै काम सकेर अर्को वर्षबाट प्यारापिट बनाउन सुरु गर्ने बताउँछन् । ‘यसलाई सम्पूर्ण देशले गर्व गर्ने अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने हाम्रो योजना हो । त्यसका लागि डिपिआर बनाउने काम भइरहेको छ । यो वर्षसम्ममा डिपिआर तयार हुन्छ । अर्को वर्षबाट प्यारापिट बनाउने काम सुरु गर्ने योजना छ।

दुई वा तीन वर्षमा पूरै मैदान वरिपरिबाट प्यारापिटले घेरिनेछ,’ सदस्यसचिव विष्टले गाह्रो काम सकिएको बताउँदै भने, ‘बैजनाथपुरलाई खेल विशेषको मात्र नभई एउटा खेलकुद कम्प्लेक्सकै रूपमा विकास गर्ने मास्टर प्लान बनाएका छौं । त्यसका आधारहरू धेरै बनिसकेका छन् । जग हाल्न समय लाग्ने हो । हामीले पनि तीन चार फिटसम्मका गहिरा खाडल पुर्ने मुख्य काम गरिसकेका छौं । जमिनको सतहसम्मको काम भएकाले समय लागे पनि काम भएको नदेखिएको हो । अब माथिको कामले समय लिँदैन।’ 

आफ्नै विद्यार्थीहरुको दुई टोली लिएर मैदान पुगेका सिटी कलेजका अध्यापक अच्युतराज कट्टेल बैजनाथपुर नेपाली क्रिकेटकै एउटा मुख्य गन्तव्य बन्नेमा आशावादी छन् । भन्छन्, ‘अबको काम द्रुत गतिमा भयो भने यसले पूर्वेली क्रिकेटको मात्र नभई पूरै देशको क्रिकेटलाई योगदान गर्ने थियो । यो वा त्यो बहानामा फेरि पनि काममा ढिलाई हुने हो भने रंगशाला तयार भइसक्दा पनि त्यसको अर्थ नहुन सक्छ । समयले कसैलाई कुर्दैन । बैजनाथपुर मैदान र राष्ट्रिय खेलकुद परिषदलाई पनि।’

 

 

प्रकाशित: १२ पुस २०७४ ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App