१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘असमान पारिश्रमिक विश्वव्यापी समस्या’

मुम्बई–संसारभर नै उस्तै काममा महिला र पुरुषले पाउने पारिश्रमिकको दर समान छैन । अझ बलिउडमा त हिरो र हिरोइनले पाउने पैसामा आकाश जमिनको फरक छ । बलिउडमा पारिश्रमिकको मामलामा देखिने असमानताका बारेमा दीपिका पादुकोण, कंगना रनावत र अनुष्का शर्माले बारम्बार असन्तुष्टि जनाउँदै आएका छन् । यो सूचीमा प्रियंका चोपडा पनि थपिएकी छिन्। 

ग्लोबर स्टार बन्दै गएकी प्रियंकाले एक भारतीय पत्रिकासँग कुरा गर्दै महिला र पुरुषले पाउने पैसाबीचको दूरी विश्वव्यापी समस्या रहेको र यो हरेक पेशामा देखिने बताएकी छिन्।

‘असमान पैसा ग्लोबल समस्या हो र हरेक पेशामा यो समस्या देख्न सकिन्छ, चाहे त्यो हलिउड होस् वा बलिउड । व्यापारिक क्षेत्रमा हेर्ने हो भने पनि केटीले भन्दा केटाले बढी पाउँछन् । यो ठूलो समस्या हो र यो फिल्म क्षेत्रमा मात्र सीमित छैन । फोब्र्सको सय जनाको सूचिमा म एक जना मात्र पर्नुले पनि यही संकेत गर्छ,’ प्रियंकाले भनिन्।

फोब्र्सको टप टेन भारतीय सेलिब्रेटी भित्र आफूलाई पार्न सफल प्रियंकाले यो उपलब्धिले तत्कालका लागि खुशी बनाए पनि आफूसँगै अरुलाई पनि देख्न पाउँदा थप खुसी लाग्ने बताएकी थिइन् । ‘एक हिसाबले हेर्दा मलाई साँच्चिकै खुशी लागेको छ, किनकि म पनि पुरुष समकक्षीसँगै उभिन पाएकी छु । साधारणतया फिल्म उद्योगमा यस्तो दृश्य देख्न पाइन्न । तर, दुःखको कुरा के छ भने म त्यहाँ एक्लै छु, अरू हिरोइन छैनन्,’ उनले भनेकी छिन् । उनले बलिउड यस विषयमा गम्भीर भएर छलफल गर्नुपर्ने बताएकी छिन्।

हालसालै न्युयोर्कबाट मुम्बई आएकी प्रियंका ‘मेरी कोम’यता बलिउड फिल्ममा देखिएकी छैनन् । आमिर खानको अभिनय रहेने ‘सेल्युट’मा उनको अभिनय रहने चर्चा रहे पनि प्रियंकाले आमिरले फिल्म छाडेपछि निर्माण टिमले आफूलाई सम्पर्क नगरेको बताउँदै आएकी छिन् । आमिरले छाडेको भूमिका शाहरुखले गर्न लागेको चर्चा छ।

 

प्रकाशित: ११ पुस २०७४ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App