१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘ट्विनअटर युग’ अन्त्य गर्दै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चार दशकभन्दा लामो अवधिदेखि निरन्तर उडिरहेका ‘ट्विनअटर’ जहाज पूर्णरूपमा विस्थापन गर्ने भएको छ ।
निगमले २०२८ साल (सन् १९७१) मा पहिलो पटक ट्विनअटर जहाज सञ्चालनमा ल्याएको थियो । त्यसयता निरन्तर उडिरहेका जहाज विस्थापन गर्न लागेको हो । हाल निगमसँग तीन थान ट्विनअटर जहाज छन् । तर, एउटाले मात्र उडान गरिरहेको छ भने दुईवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन् । मर्मतपछि ती दुइटा पनि उड्न सक्छन् ।
‘ट्विनअटर जहाज धेरै पुराना भएका कारण चाँडो–चाँडो मर्मत गर्नुपरिरहेको छ जसले गर्दा इन्धन पनि बढी खपत भइरहेको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले आइतबार नागरिकसँग भने, ‘मुलुकका दुर्गम भेगमा हवाई यातायात सेवामा ट्विनअटर जहाजले महत्वपूर्ण योगदान दिएका छन् । तर यस्तो योगदानलाई अन्य जहाजबाट पूर्ति गर्ने छौं ।’
निगमले ट्विनअटर पूर्णरूपमा विस्थापन गर्नुअघि तिनको सट्टा अत्याधुनिक प्रविधिजडित चार थान ‘भाइकिङ’ जहाज ल्याउने तयारी गरेको छ । क्यानडाको डे हेभिल्यान्ड कम्पनीबाट उत्पादित ‘डिएचसी–६–३००’ सिरिजका ट्विनअटर जहाज हाल उत्पादन हुन छाडेको छ । हाल कम्पनीको नाम भाइकिङ एयर लिमिटेड भए पनि ‘डिएचसी–६–४००’ सिरिजका जहाज उत्पादन गरिरहेको छ ।
निगमले भाइकिङसँग सिधै कुराकानी गरेर चार थान ‘ब्रान्ड न्यु’ जहाज खरिद गर्ने योजना बनाएको छ । ‘भाइकिङका जहाज ल्याएपछि मात्र पुराना ट्विनअटर विस्थापन गर्दै जान्छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘नयाँ चार थान जहाज बढीमा दुई वर्षभित्र ल्याइसक्ने गरी काम गरिरहेका छौं ।’
निगमसँग रहेका ट्विनअटर र ल्याउने तयारीमा रहेका भाइकिङका डिएचसी–६–४०० जहाज दुबै १९ सिट क्षमतायुक्त हुन् । यस्ता जहाजमा छोटो दूरीका तथा कच्ची धावनमार्गमा उडान गर्ने विशेषता हुन्छन् । भाइकिङका नयाँ जहाजको मूल्य प्रतिथान ७० लाखदेखि ८० लाख अमेरिकी डलर पर्ने श्रेष्ठले जानकारी दिए ।
यो हिसाबले चार थान जहाज खरिद गर्न निगमले २ करोड ८० लाख डलर (२ अर्ब ८० करोड रुपैयाँ) देखि ३ करोड २० लाख डलर (३ अर्ब २० करोड रुपैयाँ) जोहो गर्नुपर्ने छ । यसका लागि निगम वित्तीय सम्भावनाको खोजीमा छ ।
‘चार थान जहाज खरिद गर्न आवश्यक रकम जोहो गर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै विकल्प सँगसँगै अगाडि बढाउँछौं,’ उनले भने, ‘मुलुकभित्रै पनि लगानी गर्ने ठाउँ खोजिरहेका वित्तीय संस्था धेरै छन्, हामी उनीहरूसँग पनि कुराकानी गर्ने छौं । विदेशी वित्तीय संस्थाबाट सस्तो ब्याज दरमा पाइयो भने पनि त्यसलाई पनि उपयुक्त विकल्पका रूपमा लिने छौं ।’
निगमले हाल आफूसँग रहेका तीन थान ट्विनअटर जहाजलाई भने बिक्री गर्ने योजना बनाएको छ । निगमसँग हाल चीनमा निर्मित ५८ सिट क्षमतायुक्त ‘मोडर्न आर्क–६०’ (एमए–६०) सिरिजका दुई थान र १७ सिट क्षमतायुक्त दुई थान ‘वाई१२–ई’ सिरिजका र ट्विनअटर तीन थान छन् । तीमध्ये दुइटा ट्विनअटर ग्राउन्डेड छन् भने बाँकीले उडान गरिरहेका छन् ।
 
निगमले हाल ६ थान जहाजबाट डेढ दर्जन आन्तरिक गन्तव्यमा उडान गरिरहेको छ । यिनमा अधिकांश दुर्गम भेगका गन्तव्य छन् । विगतमा ८ थानसम्म ट्विनअटर सञ्चालन गरेको निगमले २६ भन्दा बढी गन्तव्यमा सेवा पु¥याएको थियो । तीनवटै ट्विनअटर चार दशकभन्दा बढी उमेरका हुन् ।
निगमले चार वर्षअघि भारतीय कम्पनी बर्मन एभिएसन र अमेरिकी कम्पनी साउथवेस्ट एयर मोटिभसँग दुई–दुई थान इन्जिन साटेर ल्याएको थियो । ती दुवै कम्पनीले ग्लोबल टेन्डर जितेर इन्जिन साट्न पाएका थिए । निगमले आफूसँग भएका पुराना इन्जिन जसलाई ओभरहल (पूर्णमर्मत) गर्नुपर्ने थियो, तिनलाई दिएर ती कम्पनीसँग ओभरहल गरिएका इन्जिन लिएको थियो । ती इन्जिन ट्विनअटरमा जडान गरिएका थिए ।
निगमले त्यसबेला एउटा इन्जिन साट्न २ लाख ५० हजारदेखि ३ लाख ५० हजार अमेरिकी डलर (त्यसबेलाको २ करोड ५० लाखखेखि ३ करोड ५० लाख रुपैयाँ) सम्म खर्च बेहोरेको थियो । ती कम्पनीले निगमका पुराना इन्जिन लगेर ओभरहल गरिएका इन्जिन दिएका थिए । आफैंले इन्जिन ओभरहल गर्न ६ देखि ८ महिना लाग्ने भएपछि निगमले साट्फेर गर्ने योजना ल्याएको थियो । निगमले भने एउटा इन्जिनलाई ४ हजार घन्टा उडाएपछि ओभरहल गर्दै आएको छ ।
निगमले साट्फेर गरेर ल्याएका इन्जिन जडान गरी उडाएका जहाजमध्ये एउटा ट्विनअटर २०७० फागुन ४ गते अर्घाखाँचीमा दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार चालकदलसहित सबै १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसबाहेक निगमले दुई थान ट्विनअटर निजी वायुसेवा कम्पनी तारा एयरलाई भाडामा उडाउन दिए पनि ती दुइटै जहाज दुर्घटनापछि काम नलाग्ने भइसकेका छन् ।

प्रकाशित: १० पुस २०७४ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App