१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रयोगात्मक कक्षमा मुसा, माकुरा, साङ्ला

काठमाडौं- ज्योतिषशास्त्र विषयमा खगोलीय पिण्डहरूबारे अध्ययन अनुसन्धान गर्न प्रयोगात्मक विधि अनिवार्य हुन्छ । प्रयोगात्मक अध्ययनबिना ज्योतिष अध्ययन अपूर्ण हुन्छ । त्यसैले सैद्धान्तिक ज्योतिषअन्तर्गतको खगोलीय पिण्ड, ग्रह, तारा, नक्षत्र  आदिको प्रयोगात्मक अध्ययन गर्न वेधशाला अनिवार्य हुन्छ ।
तर, काठमाडौं भृकुटीमण्डपस्थित नेपाल संस्कृत विश्वविद्यालयको आंगिक कलेज वाल्मीकि विद्यापीठको  वेधशाला जीर्ण बन्दा विद्यार्थीले प्रयोगात्मक कार्य गर्न पाएका छैनन् । यो कोठामा विद्यार्थीको साटो माकुराको जालो, मुसा दगुडिरहेको, साङ्लाहरू यताउता उफ्रिरहेका भेटिन्छन् । कोठाभरि धुलो र फोहोरले भरिपूर्ण बेधशाला कुनै खण्डर जस्तो देखिन्छ ।
दस वर्षअघि मात्र यस कलेजमा ज्योतिष शास्त्रका विद्यार्थीले ग्रह, तारा, नक्षत्रलगायतका खगोलीय पिण्डहरूको गतिविधिबारे प्रयोगात्मक अध्ययन गर्न बेधशालाको टेलिस्कोप, थियोटी लाइटलगायतका उपकरण प्रयोग गर्थे ।
जापानबाट किनेर ल्याएका टेलिस्कोपबाट खगोलिय पिण्डहरूको प्रयोगात्मक अध्ययन गर्थे । ग्रह, तारा, नक्षत्रको दुरी गणना गर्न आधुनिक क्याल्कुलेटरको प्रयोग गर्थे । आकाशमा कुनै घटना भयो भने स्कुले नानी तथा  आम जनताका लागि बाल्मीकि विद्यापिठको यो बेधशाला निरीक्षण गर्ने स्थल नै बन्थ्यो ।
‘करिव दश वर्षअघि मंगल ग्रह पृथ्वीको नजिक आएका बेला काठमाडौंका थुप्रै नागरिक तथा स्कुले विद्यार्थीहरूले यही बेधशालाको टेलिस्कोपबाट सो दृश्य अवलोकन गरेका थिए,’ ज्योतिष शास्त्रका सहप्रध्यापक जयन्त आचार्य भन्छन्, ‘अहिले मुसा र साङ्गलाको बास बन्यो ।’
हाल बेधशालाका सबै उपकरण थन्क्याइएको छ । ज्योतिष शास्त्रका विद्यार्थीहरू  बिनाप्रयोगात्मक परीक्षा उत्तीर्ण हुन्छन् । विद्यार्थीहरूमा विषयको प्रयोगात्मक ज्ञान नभएकोमा  विद्यापीठका गुरुहरू दुःख व्यक्त गर्छन् ।
वाल्मीकि विद्यापीठमा कुल ९ सय ७५ विद्यार्थी संस्कृतका विभिन्न विषय अध्ययन गरिहेका छन् । तर ज्योतिषशास्त्र पूर्णतः  प्रयोगात्मक भए पनि त्यसको प्रयोग गर्न नपाउँदा विद्यार्थीहरू पनि चिन्तीत छन् ।
सोमबार कलेजमा भेटिएका ज्योतिषशास्त्र उत्तरमध्यमा द्वितिय वर्षका विद्यार्थी दीलिप पोखरेल निकै चिन्तीत थिए । प्रयोगात्मक ज्ञान कसरी हासिल गर्ने भन्ने उनको चिन्ता थियो । ‘ज्योतिष बन्ने रुचि छ,’ दीलिपले भने, ‘त्यसका लागि ग्रह, तारा, नक्षत्रलगायतको खगोलीय पिण्डहरूको दूरी, आकार निर्धारण गर्न बेधशालाको प्रयोग गरी हिसाब गर्न सिक्नुपर्छ । तर हामीले प्रयोगात्मक ज्ञान हासिल गर्ने कलेजका बेधशालामा छिर्नै पाइएको छैन ।’
अर्का विद्यार्थी सुजल अधिकारीको पनि भविष्यमा राम्रो ज्योतिष बन्ने सोच छ । देश विदेशमा समेत ज्योतिषको माग भएकाले ज्योतिष बन्ने उनको लक्ष्य भए पनि प्रयोगात्मक ज्ञान हासिल गर्न नसक्दा दक्षता कसरी पाउने भन्ने उनको चिन्ता छ । ‘अन्तिम परीक्षा आउँदै छ तर हामीसँग खगोलीय पिण्डको  प्रयोगात्मक ज्ञान छैन,’ सुजलले नागरिकसँग भने, ‘प्रयोगात्मक विषय पनि घोकेर चित्र बनाएकै भरमा पास होइन्छ । अनि हामी कसरी देश तथा विदेशमा विक्न सक्ने दक्ष ज्योतिष बन्ने ?’
दीलीप र सुजल त उदाहरण मात्र हुन् । ज्योतिष विषयका धेरै विद्यार्थीको समस्या हो यो । कलेजका सहप्रध्यापक आचार्यका अनुसार विद्यार्थीले २० नम्बरको प्रयोगात्मक ज्ञान नजानेरै प्राप्त गर्छन् । यसले उनीहरूलाई दक्ष त झन्ै बनाउँदैन ।
उनका अनुसार ५ वर्ष यता बेधशाला पूर्णरूपमा प्रयोगविहीन छ । जीर्ण बन्दै गएको बेधशालाको मर्मतसम्भार गर्न नसक्नु र भूकम्पपछि क्षति भएकाले थप समस्या आएको उनी बताउँछन् ।
‘रात्री समयमा गुरुहरूले विद्यार्थीलाई बोलाएर आकाशीय पिण्डहरूको अवालेकन गराई चित्र बनाउन लगाउने, टेलिस्कोपबाट खगोलीया पिण्डहरू, तारा ग्रहहरूको उदय, अस्त, दूरी, आकारलगायतका विषयबारे अवलोकन गराउनु पर्छ,’ सहप्रध्यापक आचार्यले भने, ‘विद्यार्थीले अवलोकन गरेका विषयबस्तु चित्रमा उतारेर हिसाब गरेर जान्नुपर्छ । त्यो ज्ञान नपाएसम्म दक्ष ज्योतिष भइँदैन ।’
विद्यापीठका प्रमुख गणेश घिमिरेले भूकम्पपछि बेधशाला झनै् जीर्ण बनेको बताए । उनले निर्माणका लागि बजेट उपलब्ध हुन नसक्दा विद्यार्थीले बेधशालाको प्रयोग गर्न नपाएको जनाए ।
‘ज्योतिष शास्त्रको विषयको विद्यार्थीका लागि प्रयोगात्मक ज्ञानका लागि बेधशाला आवश्यक भएरै हामीले पुनर्निर्माण प्राधिकरणसँग बजेटको माग गरेका छौं,’ प्रमुख घिमिरेले नागरिकसँग भने ।

प्रकाशित: १० पुस २०७४ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App