१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खुल्यो खोटाङ जोड्ने नयाँ नाका

खोटाङ – खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । दिक्तेल गाईघाट सडक खण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएपछि खोटाङ र पूर्वी तराई जोड्ने दोश्रो सिधा र छोटो बाटो खुलेको छ ।
गत पुस १२ मा बेलिब्रिज जडान गरिएको फोक्सिङटारमा यस वर्ष भने चार दिन अगावै अस्थायी जडान गरिएको हो । हिउँदमा संञ्चालन गरिने र वर्षामा झिक्ने गरेर फोक्सिङटारमा करिब ५० मिटर लम्बाईको पुल शनिबारदेखि प्रयोगमा ल्याइएको हो । खोटाङ जोड्ने बाटोमा रहेका दुई वटा नदीमध्ये दुधकोसीस्थित जयरामघाटमा गत मंसिर ८ गतेदेखि पक्की पुल संञ्चालनमा आइसकेको थियो । फोक्सिङटारमा भने पक्की पुल निर्माणका लागि ठेक्का दिएको दुई वर्ष बितिसक्दा समेत पुल निर्माणको काम हुन नसकेपछि वैकल्पिक बेलिब्रिज राखिएको हो ।

०५२ सालबाट निर्माण सुरु गरिएको एक सय १ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज संञ्चालनमा आएसँगै दिक्तेलबाट गाईघाट हुँदै धरान र विराटनगर लगायत छोटो समयमा पुग्न सकिनेछ । ‘अस्थायी बेलिब्रिजका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पूर्वी तराईका सबै जिल्ला पुग्न र आउन सकिने बाटो खुलेको छ,’यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले भने ।

प्रकाशित: ९ पुस २०७४ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App