१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘हरियो ढुंगा’मा शरणार्थी पीडा

काठमाडौं- रातुको बगरमा ढुंगा खोज्ने निचुले कान्छाले एकदिन  हरियो ढुंगा फेला पार्छ  । देखिरहेको ढुंगाभन्दा फरक ढुंगाले निचुलाई कौतुहल बनाउँछ । उसले त्यो ढुंगा आफ्नी श्रीमतिलाई देखाउँछ । पालैपालो सबैले हेर्छन् । ढुंगालाई कसैले हिरा भन्छन् त कसैले यसलाई अमूल्य वस्तु भन्ठान्छन् ।

शरणार्थी कथामा बनेको नाटकले   भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीले भोग्नु परेको पीडा र कष्टलाई देखाउने प्रयास गरेको छ । नाटक शिल्पी थिएटरमा पुस २२ सम्म मञ्चन हुनेछ ।

भुटानी शरणर्थी क्याम्पमा बस्ने निचुले कान्छाको दुइछोरा र एकछोरी हुन्छ्न । एकदिन छोरी सक्कली र निचुलेकी बुढी हरियो ढुंगासँगै  घरबाट वेपत्ता हुन्छन् ।
उनीहरु फर्केर आउँछन् वा आउादैनन् ? त्यो हेर्न भने यतिबेला शिल्पी थिएटर वत्तिसपुतलीमा मञ्चन भैरहेको नाटक ‘हरियो ढुंगा’ हेर्न पुग्नैपर्छ । चर्चित कवि तथा कथाकार उपेन्द्र सुब्बाको ‘लाटोपहाड’ कथा संग्रहमा रहेको ‘हरियो ढुंगा’ कथालाई नाटकमा रुपान्तरण गरेका हुन् नाट्यकर्मी सुनिल पोखरेलले । उनकै परिकल्पना तथा निर्देशनमा मंसिर २९ गतेदेखि यो नाटक मञ्चन सुरु भएको हो ।
भुटानको सर्वाङस्थित निचुलबाट आएका निचुले कान्छाको कथासँगै उतिबेला भुटानबाट लखेटिएका शरणार्थीहरूको कथा ‘हरियो ढु्रंगा’मा बुनिएको छ । भुटानी शरणार्थीलाई अमेरिका पुर्नस्थापनका लागि लैजाने बेलाको यो कथाभित्र शरणार्थीका रुन्चे हाँसोका पललाई प्रस्तुत गरिएको छ ।
यता जा भन्छ उता जा भन्छ खोलाको पातैले
न यता जानु न उता जानु भुटाने जातैले... कथाको सुरुवातमै शरणार्थीले गाएको यो गीतले उनीहरूको वास्तविकता उजागर गरेको छ । नेपालको झापास्थित बेलडाँगी शिविरमा बस्दाको उनीहरूको दिनचर्यालाई टपक्कै टिप्ने प्रयास नाटकमा गरिएको छ । निचुले कान्छाको भुमिकामा पोखरेलको निर्देशनलाई साकार पारेका छन् अभिनेता विपिन कार्कीले । त्यसैगरि, सुस्तीको रुपमा सुनिशा बजगाँईको भूमिकाले पनि दर्शकलाई प्रभावित पार्छ ।
 ‘कलाकारको अभिनय नै भयंकर छ,’ नाटक हेर्न आइपुगेका वरिष्ठ साहित्यकार अभि सुवेदीले भने, ‘कथा त पहिल्यै पढेको हो । नाटकमा कस्तो बनेछ भनेर हेर्न आएको, मज्जा लाग्यो ।’
निर्देशक सुनिल पोखरेलले कथाभित्र रहेको मानवीय पक्षले छोएका कारण नाटकको रुपमा तयार पार्ने सोच बनाएको बताए ।  ‘कुन नाटक गर्ने भनेर खोजिरहेका थियौं ,’पोखरेल भने ,‘खै कसो कसो यही कथामा गएर ठोक्कियौं ।’ हाम्रो समयको ठूलो त्रासदी को कथा भएकाले पनि मन पर्याे । कथाकार उपेन्द्र सुब्बाले भने ‘देशखोज्दै जाँदा’ नामको फिल्म सुटिङका बेला यो कथा फेला पारेको उल्लेख गरेका छन् । शरणार्थीले सुनाएको कथालाई हतारमै लेखेको उनले बताए । त्यही कथा मञ्चमा नाटक बन्दा उनी पनि मख्ख थिए ।
नाटकमा आभास अधिकारी, अनिल सुब्बा, मौसम खड्का, राज न्यौपाने, अर्जुन सिवाकोटी, दिपेन्द्र शाही, सुरज तमु, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात वास्कोटा, अर्जुन थापा, कृतिका भट्टराई लगायतले अभिनय गरेका छन् ।
ज्ञ समूहले तेस्रो प्रस्तुतिका रुपमा नाटक मञ्चमा उतारेको हो । समूहले यसअघि इन्द्रबहादुर राईको ‘जयमाया आफुमात्र लेखापानी आइपुगी’ र सेक्सपियरको नाटकमा आधारित ‘अ मिडसमर सपना’ नाटक प्रस्तुत गरिसकेको छ । नाटक ‘हरियो ढुंगा’ पुस २२ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित: ९ पुस २०७४ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App