१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुलुकको समृद्धिका निम्ति सबै मिल्नुपर्छ : अध्यक्ष दाहाल

बुटवल (रासस)-  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मिलेर मुलुकको विकास र समृद्धितर्फ लाग्नुपर्ने बताएका छन्। उनले लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका निम्ति हुनुपर्नेसमेत बताए।

नेपाल जेसिजको ४४औँ राष्ट्रिय महाधिवेशनलाई आज भैरहवामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कायम गर्दै अघि बढ्नुपर्ने बताए।

उनले मुलुकलाई आर्थिक समृद्धिको पाटोमा अगाडि डोर्‍याउन सबै दलबीच सहमति, सहकार्य र समन्वयको जरुरी हुनुपर्नेमा जोड दिए। उनले भने, “अब ढिला नगरी समृद्ध नेपाल निर्माण गर्नतर्फ लाग्नुपर्छ, मुलुक विकसित भए विश्वले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुन्छ।”

तीन तहको निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले राजनीतिक दल र नेताका लागि अब परीक्षाको घडी शुरु भएको बताए।  

देशमा स्थायित्व दिन नसके मुलुक फेरि पुरानै राजनीतिक चक्रब्यूहमा फस्ने उनको भनाइ थियो। अध्यक्ष दाहालले राष्ट्र निर्माण र मुलुकलाई आर्थिकरुपमा सक्षम र सवल बनाउनका लागि युवाको भूमिका थप बढेको बताउँदै देशलाई समृद्ध बनाउन युवालाई अहम् भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहरा, खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, महाधिवेशन निर्देशक महेन्द्रकुमार श्रेष्ठ, नेपाल जेसिजका अध्यक्ष प्रकाश अधिकारीलगायतले बोलेका थिए। आजदेखि शुरु भएको जेसिजको महाधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सकिने जनाइएको छ।

 

प्रकाशित: ८ पुस २०७४ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App