१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसद बन्न राजपा र फोरममा चलखेल

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालभित्र प्रतिनिधिसभा समानुपातिक सांसद बन्न चलखेल सुरु भएको छ । दुवै दललाई प्रतिनिधिसभा समानुपातिकमा क्लस्टर (समावेशी सूची) मिलाउनुपर्ने बाध्यता नरहेपछि नेताहरु चलखेलमा लागेका हुन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन  ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्धारण गरिएको कुल सदस्य संख्याको १० प्रतिशतभन्दा कम सिट संख्या प्राप्त गर्ने दलले कम्तीमा एक तिहाइ महिला निर्वाचित हुने गरी यथासम्भव अन्य समावेशी आधार मिलाइ निर्वाचन हुने उम्मेदवारको सूची पठाउनुपर्ने व्यवस्था छ । यस्तो प्रावधानले राजपा र संघीय फोरमले समावेशी आधारमात्र मिलाउनुपर्नेछ। 

ऐनको यस्तो प्रावधानले राजपा र संघीय फोरमलाई क्लस्टरमा रहेकाहरूलाई  मात्रै समानुपातिकमा सिफारिस गर्नुपर्ने बाध्यता हटेको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रतिनिधिसभा समानुपातिकतर्फ १० प्रतिशतभन्दा कम सिट संख्या प्राप्त गर्ने दलले समानुपातिकतर्फ  सबै क्लस्टर मिलाउनुपर्ने बाध्यतात्मक व्यवस्था ऐनमा गरिएको बताए । त्यसैले राजपा र फोरमलाई क्लस्टर मिलाउनुपर्ने बाध्यतात्मक व्यवस्था छैन । ढकालले यी दलले यथासम्भव अन्य समावेशी आधार भने मिलाउनुपर्ने बताए। 

राजपा र फोरम दुवै दलले समानुपातिकमा ६÷६ सदस्य सिट पाउने भएका छन् । तीमध्ये सबै सिटमा महिला पठाउनुपर्ने व्यवस्था ऐनमा छ । राजपा र फोरमले प्रतिनिधिसभा समानुपातिकमा १० प्रतिशत सिट नघाएका छैनन् । समानुपातिकतर्फ राजपाले ४.९५ र संघीय फोरमले ४.९३ प्रतिशत मत ल्याएका छन्। 

राजपाले समानुपातिकतर्फ निर्वाचन आयोगमा पठाएको सूचीमा खसआर्यमा नरमाया ढकाल, निर्जला राउतको नाम अगाडि छ । यसैगरी जनजातिमा रानी मण्डल, अमृता अग्रहरी, मधेसीमा चन्दा चौधरी, इन्दिरा झा, मुस्लिममा चुन्नी खातुन, खातुन राइन, थारूतर्फ सरिता चौधरी र दलिततर्फ दुलारीदेवी खातुन, माला पासवानको नाम छ। 

दोस्रो संविधानसभा चुनावमा मधेस केन्द्रित दलहरूले समानुपातिक सूचीमा सिफारिस गरिएका नाममध्ये केही नाम पार्टी अध्यक्षका श्रीमती र परिवारका सदस्य रहेका थिए । क्लस्टर मिलाउनुपर्ने बाध्यता नरहेपछि यसपटक पनि राजपा र संघीय फोरममा त्यस्तै स्थिति देखिने सम्भावना छ । राजपाबाट पुरुषतर्फ अग्रपंक्तिमा सिफारिस गरिएका अकबाल अहमद साह, विजयी सिंहको नाम भने समानुपातिकमा नआउने निश्चित भएको छ।

क्लस्टर मिलाउनुपर्ने बाध्यता नरहेपछि संघीय फोरममा पनि समानुपातिकबाट सिफारिस हुन पार्टीभित्र  चलखेल सुरु भएको छ । फोरमबाट सिफारिस गरिएका पुरुष नेताहरूले भने सांसद हुने अबसर नपाउने भएका छन् । संघीय फोरमबाट पुरुषतर्फ खस आर्यमा पर्शुराम बस्नेत, आदिवासीतर्फ राजेन्द्र श्रेष्ठ र मधेसीतर्फ रत्नेश्वरलाल कायस्थको नाम अग्रपंक्तिमा सिफारिस गरिएको थियो। 

संघीय फोरमले समानुपातिकमा पाउने ६ सिटमध्ये सबैमा मधेसी मूलका महिलालाई मात्र पठाउनुपर्ने माग फोरमका केही केन्द्रीय नेताहरूले उठाएका छन् । फोरमले समानुापातिकतर्फ पाएको मतमध्ये प्रायः सबै मत मधेसबाट मात्र आएकाले पार्टीबाट सिफारिस गरिनेहरू पनि मधेसी मूलको हुनुपर्ने अडान ती नेताको छ । पार्टीकी एक केन्द्रीय सदस्य भन्छिने, ‘समानुपातिकतर्फ  हामीलाई सबै भोट मधेसबाट मात्र आएको छ । त्यसैले समानुपातिकबाट पठाइने नाम पनि मधेसी मूलबाटै हुनुपर्छ ।’ संघीय फोरमले  समानुपातिकतर्फ निर्वाचन आयोगमा पठाएको सिफारिसमा खस आर्यबाट सरिता गिरी, लीला सिटौलाको नाम अग्रपंक्तिमा छ ।  जनजातिबाट रेणुका यादव, सुशीला श्रेष्ठ, मधेसीतर्फ रेणु यादव, रेखा यादव, मुस्लिमतर्फ रूही राज, थारूतर्फ रीता चौधरी, लीला चौधरी, दलिततर्फ कलुदेवी विश्वकर्मा, सविता विकको नाम अग्रपंक्तिमा छ।

प्रकाशित: ८ पुस २०७४ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App