१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फोहोर बाल्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला है

काठमाडौं- काठमाडौंको वायुप्रदूषण गराउने प्रमुख कारक बनेको फोहोर बाल्ने कार्य नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सक्रियता देखाएको छ ।

कचौराजस्तो भौगोलिक अवस्थिति भएको उपत्यकाबाट धुवाँ हत्तपत्त निस्किन पाउँदैन । त्यसमा पनि चिसो मौसममा प्रदूषणका कण गह्रौं हुने भएकाले जमिनको सतहवरपर नै बसिरहन्छ ।

घर वरपर वा सडक सफा राख्न वा आगोसमेत ताप्ने उद्देश्यले फोहोर बाल्दा प्रदूषण बढेर जनस्वास्थ्यमा समेत जोखिम बढेको भन्दै त्यसलाई रोक्न महानगरपालिकाले कारबाही बढाएको हो ।
पछिल्ला दिनमा फोहोर जथाभावी बाल्ने कार्यमा संलग्न ५÷७ जनालाई दैनिक जरिवनासमेत तिराउने गरेको छ । काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले कानुनअनुसार सचेत गराउँदा पनि यस्तो कार्य जारी राखेको पाएपछि कारबाही थालिएको बताए ।
महानगरले काठमाडांैभित्र अनुगमन टोली खटाएर फोहोर बालेको÷नबालेको अनुगमनसमेत थालेको जनाएको छ । ‘कहीँकतै फोहोर बाल्ने कार्य भएको पाइएमा कारबाही हुन्छ,’ कार्कीले भने । समातिएकाहरूलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० बमोजिम ५ हजार जरिवाना गरेर छाडिएको जानकारी कार्कीले दिए ।
केही दिनअघि महानगरपालिकाले सूचनासमेत जारी गरेर महानगर क्षेत्रभित्र फोहोर जलाउने कार्यप्रति ध्यानाकर्षण भएको भन्दै रोक्न आग्रह गरेको थियो । महानगरले फोहोर जलाउँदा प्लाष्टिक, टायर जस्ता पदार्थसमेत जल्ने र हानिकारक फ्युरानलगायतका ग्याँस निष्काशित हुने भन्दै त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असरगरी क्यान्सरजस्ता घातक रोगसमेत निम्त्याउने भन्दै महानगरले उक्त कार्य तत्काल बन्द गर्न अनुरोध गरेको छ ।
चिसो बढेसँगै विभिन्न स्थानमा जतततै भेटिने फोहोरमा विशेषगरी प्लाष्टिक वा जंगफुटका खोलदेखि टायरसमेत बालेर आगो ताप्ने प्रचलनसमेत बढेको छ । यसो गर्दा निस्किने धुँवा चिसो मौसममा लामो समयसम्म जमिनको सतह र वायुमण्डको तल्लो भागमा रहिरहने गर्छ ।
जर्मनस्थित इन्स्टिच्युट फर एडभान्स सस्टेनेबिलिटी स्टडिज (आइएएसएस) का अनुसन्धान टोली प्रमुख महेश्वर रुपाखेतीसहितको टोलीले गरेको काठमाडौं उपत्यकाको वायुले गुणस्तरसम्बन्धी अध्ययनले  उपत्यकाको प्रदूषित वायु मध्याह्नपछि मात्रै उपत्यकाबाट घट्ने गरेको देखाएको थियो । मध्याह्नपछि तातेर हलुंगो भएपछि मात्रै त्यो वायु बिस्तारै नगरकोटबाट बाहिरिन्छ ।
त्यसमा पनि चिसो पनि बढी हुने भएकाले ताप्ने प्रयोजनका लागिसमेत बिहानको समय र साँझको समयमा बढी आगो बालिने गर्छ । त्यो समयमा चिसो हुने भएकाले यस्तो धुँवा उपत्यकाबाट बाहिरिन धेरै समय लाग्ने विज्ञहरू बताउँछन् । साँझ आगो बाल्दा रातभर र बिहान बाल्दा मध्याह्नसम्म सतहमै धुँवा रहिरहन्छ । जुन श्वासप्रश्वासका क्रममा सिधै फोक्सोमै पुग्छ ।
अन्य अध्ययनले पनि उपत्यकामा बिहान ८ देखि ९ बजेसम्म बढी प्रदूषण हुने र मध्याह्नदेखि साँझसम्म घट्ने देखाएको थियो ।
सन् २०१५ को अध्ययनअनुसार उपत्यकामा हुने वायु प्रदूषणको कुल हिस्सामा फोहोर तथा कृषिजन्य अवशेष बाल्नाले २३ प्रतिशत ओगट्छ । तीबाहेक सडकको धुलोले ३५ प्रतिशत यातायातका साधनबाट निस्किने धुवाँको हिस्सा ३४ प्रतिशत प्रदूषण गराउँछ । इँटाभट्टाका कारण ६ प्रतिशत र अन्य स्रोतबाट दुई प्रतिशत वायु प्रदूषण भएको पाइएको छ । प्रदूषित हावाको अध्ययन गर्दा प्रदूषित वायुमा सबैभन्दा बढी ब्ल्याक कार्बन छ ।
बिहानको समयमा बढी फोहोर बालिने भएकाले स्वस्थ हावा र शारीरिक व्यायामका लागि घरबाहिर निस्किने, बिहानैदेखि काममा जाने र चाँडै विद्यालय जाने बालबालिका बढी प्रभावित भइरहेका छन् ।
यसरी जथाभावी फोहोर बाल्ने प्रवृत्ति घटाउन सरकारले कार्ययोजना ल्याउने निर्णयसमेत गरे पनि प्रभावकारी कार्यान्वयन तथा अनुगमन हुन सकेको थिएन ।
सरकारले गत चैत २९ मा मन्त्रिपरिषद्ले वायु प्रदूषण घटाउन २३ निकायको भूमिकासहित गर्नुपर्ने योजना प्रस्ताव गरेसँगै कार्ययोजना बनाएर लागू गर्ने निर्णय गरेको थियो । सो कार्ययोजनाको तेस्रो नम्बरमा फोहोर जलाउने कामलाई व्यवस्थित गर्ने बुँदा परेको थियो । कार्ययोजनामा फोहोर जलाउँदा उत्पन्न हुने तŒव वायु प्रदूषणको कारक भएको भन्दै फोहोर नजलाउन चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र फोहोर जलाएको भेटिएमा दण्डित गर्ने उल्लेख गरिएको थियो ।
विज्ञका अनुसार यसरी आगो बाल्दा कचौराजस्तो भौगोलिक अवस्थिति भएको उपत्यकाबाट धुवाँ हत्तपत्त निस्किन पाउँदैन । त्यसमा पनि चिसो मौसममा प्रदूषणका कण गह्रौं हुने भएकाले जमिनको सतहवरपर नै बसिरहन्छ । डा. अर्यालका अनुसार प्लास्टिक वा टायरजस्ता सामग्री बाल्दा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, फ्युरेनजस्ता तŒव निस्किन्छन् । त्यसमध्ये डाइअक्सन र फ्युरेनजस्ता तत्वले क्यान्सर गराउँछ ।

प्रकाशित: ७ पुस २०७४ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App