१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्यास उद्योग दुर्घटना : छानबिन गर्न दुई समिति

सुपर ग्यास उद्योग प्रालि वीरगञ्जमा आगालागीबाट  क्षती भएका बुलेट ।

काठमाडौं-वीरगन्जमा रहेको सुपर ग्यास उद्योग प्रालिमा बुधबार भएको दुर्घटनाको विषयमा छानबिन गर्न दुई समिति गठन भएका छन् । नेपाल आयल निगम र ग्यास उद्योगीले बुधबार छुट्टा–छुट्टै छानबिन समिति बनाएका छन् । ग्यास अनलोड गर्ने क्रममा सुपर ग्यासको बोटलिङ प्लान्टमा बुलेटबाट ग्यास चुहावट भएर मानवीय र करोडौंको क्षति भएपछि छानबिन गर्न लागेका हुन् ।
आपूर्ति मन्त्रालयका सचिवसमेत रहेका नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष अनिलकुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकले निगमकै गुणस्तर तथा अनुगमन विभागका निर्देशक करुणा क्षेत्रीको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिमा निगमकै इन्जिनियरिङ विभागका निर्देशक राजिव शर्मा, एलपिजी विभागका निर्देशक दीपक बराल, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि सम्मिलित छन् । 
उद्योगमा भएको दुर्घटनाले गम्भीर चिन्तित भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘ग्यास उद्योगमा भएको घटनापछि तत्कालन सञ्चालक समितिको बैठकले छानबिन समिति बनाएका छौं,’ भट्टराईले भने, ‘१५ दिनभित्र प्रतिवेदन बुझाउन समय सीमा तोकेका छौं ।’
सुपर ग्यासका प्रयोगकर्तालाई अन्य उद्योगका बोटलिङ प्लान्टबाट भर्ने व्यवस्था मिलाउने निगमले जनाएको छ । सुपर ग्यासको मासिक तीन सय ६० टन कोटा रहेको छ । सो उद्योगका करिब २५ हजार सिलिन्डर छन् । 
नेपालको ग्यास उद्योगमै आगालागी भएको पहिलो दुर्घटना भएकाले संवेदनशील बनाएको भट्टराईले बताए । ‘सेफ्टीको विषयमा छुट्टै निकाय नहुँदा पनि प्रभावकारी अनुगमन हुन सकेको छैन,’ उनले भने, ‘हाम्रो मुलुकमा एक्स्प्लोसिभ एक्ट नहुँदा समस्या छ ।’ यस्ता प्रज्ज्वलनशील उद्योगको लाइसेन्स, पूर्वाधार डिजाइनको विषय समेत प्राविधिक पक्षमा ध्यान दिनुपर्ने उनले बताए । ‘अब एक्स्प्लोसिभ पदार्थ प्रयोग हुने उद्योगको विषयमा नियमन गर्न छुट्टै खालको नियमनकारी निकाय खडा गर्नुपर्छ भन्ने महसुस भएको छ,’ भट्टराईले भने, ‘यो विषयमा अब मापदण्ड बनाउनुपर्नेछ ।’
ग्यास उद्योगको नियमन गर्ने प्रभावकारी संयन्त्र नभएको उनले बताए । ‘निगम कच्चा पदार्थ उपलब्ध गराउने निकाय हो,’ उनले भने, ‘प्राविधिक पक्षको विषयमा उद्योगीले नै ध्यान दिनुपर्छ ।’
यता नेपाल एलपी ग्यास उद्योग संघले पनि उक्त दुर्घटनाको अध्ययन गर्न संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा घिमिरे सहित मनोजकुमार दास, कुशप्रसाद मल्ली, विजयहरि शर्मा, राजकुमार सिन्दी रहेका छन् । 
सो टोली स्थलगत अध्ययन गर्न बुधबारै वीरगन्ज गएको छ । पाँच दिनभित्र सत्यतथ्य बाहिर ल्याउने समितिका संयोजक घिमिरेले बताए । ‘नेपालको ग्यास उद्योग इतिहासमा पहिलो ठूलो दुर्घटना हो,’ घिमिरले भने, ‘यसले सबै उद्योगीलाई चिन्तित बनाएको छ ।’ घटनास्थलमै पुगेर उद्योगका कर्मचारीसँगको छलफलपछि वास्तविकता बाहिर आउने उनले बताए । यो विषयमा आवश्यक परेमा विदेशबाट विज्ञ ल्याएर समेत अध्ययन गर्ने बताए । 
ग्यास ढुवानी गर्ने बुलेटबाट लिकेज भएर आगालागी भएको प्रारम्भिक सूचना आएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए । सो बुलेट २० वर्षभन्दा धेरै पुरानो भएकाले पनि दुर्घटना निम्त्याएको हुन सक्ने बताए । ‘भारतमा १० वर्ष पुराना बुलेट चल्न पाउँदैन,’ भण्डारीले भने, ‘यहाँ २० वर्ष पुराना बुलेटबाट ग्यास ढुवानी भइरहेको छ ।’ ग्यास लिकेज भएपछि उद्योगका कर्मचारी भागेकाले दुई जनाको मात्र ज्यान गएको उद्योगीले बताए ।
नेपालमा ५३ ग्यास उद्योग रहेका छन् । ग्यास प्रयोग गर्दा सिलिन्डर पड्केर पटक–पटक मानवीय क्षति भए पनि ग्यास उद्योगभित्र भने यस्तो दुर्घटना भएको थिए । ग्यास उद्योगीले पनि फायर फाइटिङ लगायतका न्यूनतम मापदण्ड पूरा नगरेको आरोप लाग्दै आएको छ । तर, ग्यास उद्योगी भने यसमा सहमत छैनन् । ‘उद्योगमा दैनिक ८–१० घन्टा हामी आफैं बिताउछौं,’ भण्डारीले भने, ‘आफ्ना उद्योगलाई जोखिममा राख्न कसैले चाहँदैन । दुर्घटना हुँदा त्यसको सिकार आफैं हुुनुपर्छ ।’

 

प्रकाशित: ६ पुस २०७४ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App