१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीले बुझेका दुई भालु वन कार्यालयलाई हस्तान्तरण

रौतहट— जिल्ला प्रहरी कार्यालय रौतहटले दुईवटा भालु समातेर जिल्ला वन कार्यालयलाई बुझाएको छ। भालुलाई नियन्त्रणमा राखेर नाच देखाउँदै हिँड्नु कानुनअनुसार अपराध हो। दुई व्यक्तिले सो कार्य गर्दै आएका थिए। बुधबार भालु नचाउनेहरु महमद सलमा र महमद ममताजले प्रहरीलाई भालु बुझाएका हुन्।

सिराहा जिल्लाको सुखीपुर–१ का महमद सलमान र महमद ममताजले सानोदेखि नै भालुलाई सिकाएर गाउँघरमा लगि नाँच देखाउने गरेका थिए। ती दुवै युवकले नाँच देखाएर कम्तिमा ३० जनाको परिवार पाल्दै आएको थियो। नाच देखाउँदै सिराहा हँुदै रौतहट आएका युवकहरु स्थानीय देवाही गोनाही नगरपालिकाको करुनियामा केही दिनदेखि अस्थायी डेरा लिएर आफना कार्यक्रम चलाउँदै आएका थिए।

त्यहीँका केही सचेत स्थानीय बासिन्दाहरुले वन्यजन्तु राख्न नपाइने तथा प्रहरीले समातेमा वन्यजन्तु ऐन अनुसार कारवाही हुने बताएपछि उनीहरु आफैँ जिल्ला प्रहरी कार्यालय गौर आएर प्रहरीलाई जिम्मा लगाएको बताए।

रौतहट प्रहरीले दुवै जनासँग रहेका भालेपोथी दुई वटा भालु बुझेको जानकारी दिदै एसपी यज्ञविनोद पोखरेलले कानुनको अनभिज्ञताका कारण उनीहरु सानो भालुलाई सिकाएर घरपालुवा जस्तो बनाई विभिन्न नाँच एवं खेल देखाएर जिवकोपार्जन गर्दै आइरहको बताए। उनीहरुलई कानुनको डर भएपछि हामीलाई बुझाएकाले एक पटकको लागि ती व्यक्तिलाई छाडेको जनाए।

नियन्त्रणमा रहेका भालुलाई जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरलाई जिम्मा लगाएको उनले जनाए। भालु राखेका सलमान र ममताजले अर्कै पेशा गरी जिवकोपार्जन गर्ने अब जनावरको खेल नदेखाउने भनी प्रहरी समक्ष लिखित रुपमा कबुल गरेपछि मात्र प्रहरीले छाडेको हो।

जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख वन अधिकृत दीर्घनारायण कोइरालाले प्रहरीद्वारा प्राप्त भएको २ वटा भालुलाई आवश्यक संरक्षण एवं सम्बद्र्धनका लागि नजिकमा रहेको पर्सा वन्यजन्तु आरक्षमा बुझाउने तयारी भइरहेको जनाए। त्यहाँ केही दिनसम्म राखेर दुवैको स्वास्थ्य परीक्षण गरी जंगलमा छाड्ने कि चिडियाखानामा पठाउने भनेर माथिल्लो निकायमा भर पर्ने उनले जनाए।

प्रकाशित: ५ पुस २०७४ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App