१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चुक्ता पुँजी पुर्याउने बाटोमा वाणिज्य–विकास बैंक–वित्त कम्पनी

काठमाडौं–वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी चुक्ता पुँजी वृद्धि गर्ने अभियानमा लागेका छन् । राष्ट्र बैंकले पुस मसान्तभित्रै चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि उनीहरु चुक्ता पुँजी बढाउने अन्तिम कसरतमा लागेका हुन् ।
गत आर्थिक वर्षको साधारण सभा गरिसकेका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले बोनस सेयरमार्फत चुक्ता पुँजी पुर्याइसकेका छन् भने केहीले हकप्रद जारी गरेर पुर्याउने तयारी गरेका छन् । साधारण सभा नगरेकाले पनि बोनस, हकप्रदको माध्यमबाट पुस मसान्तसम्म चुक्ता पुँजी पुर्याउने अन्तिम कसरत गरेका छन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकले आठ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकले दुई अर्ब ५० करोड, चारदेखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले एक अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएकाले ५० करोड पुँजी पुर्याउने पर्छ । राष्ट्रियस्तरको फाइनान्स कम्पनीले ८० करोड, चारदेखि १० जिल्लाकाले ८० करोड र एकदेखि तीन जिल्लाकाले ४० करोड पुँजी पुर्याउने पर्नेछ । 
केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०७२÷७३ को मौद्रिक नीतिमा चुक्ता पुँजी बढाउनुपर्ने प्रावधान राखेपछि बैंक, वित्तीय संस्थालाई पुँजी बढाउन दबाब परेको थियो । त्यसबेला अधिकांश वाणिज्य बैंकको चुक्ता पुँजी दुईदेखि तीन अर्ब रुपैयाँको बीचमा थियो । अहिले चुक्ता पुँजी आठ अर्ब पुर्याउने छन् ।
धेरैजसो वाणिज्य बैंकले पुस महिनाभित्र चुक्ता पुँजी पुर्याउने छन् । केही वाणिज्य बैंकले भने पुस मसान्तसम्म चुक्ता पुँजी पुर्याउने सम्भावना नभएको बैंकर बताउँछन् । उनीहरुले चालु आर्थिक वर्षभित्रै चुक्ता पुँजी पुर्याउने छन् ।
‘हकप्रद जारी गर्नुपर्ने बैंकको चुक्ता पुँजी बढाउन समय लाग्ने भएकाले पुस मसान्तभित्रै चुक्ता पुँजी पुर्याउन नसकिएको हो,’ वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले भने, ‘केही ढिलो भए पनि चुक्ता पुँजी पुर्याउने अभियानमा लागेका छन् ।’
विकास बैंक पनि चुक्ता पुँजी बढाउने अभियानमा लागेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष भरत ढकालले मंगलबार नागरिकलाई बताए । ‘पुस समान्तभित्रै सबै विकास बैंकले चुक्ता पुँजी पुर्याउन नसके पनि चालु आर्थिक वर्षभित्रमा भने अवस्य पुर्याउँछन्,’ मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने, ‘गण्डकी, सांग्रिला, देवले हकप्रद निकालेर पुर्याउँदै छन् । अरु राष्ट्रिय स्तरका विकास बैंकले चुक्ता पुँजी पुर्याइसकेका छन् ।’ एक जिल्लेबाहेक अन्य विकास बैंकलाई चुक्ता पुँजी पुर्याउन समस्या नभएको ढकालको भनाइ छ ।
वित्त कम्पनीले पनि चालु आर्थिक वर्षभित्र चुक्ता पुँजी पुर्याउने तयारी गरेको वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । ‘धेरैजसो वित्त कम्पनी चुक्ता पुँजी पुर्याउन बाँकी रहेकाले यस वर्षभित्र मात्रै पुर्याउन सक्छन्,’ गुडविल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने, ‘हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी पुर्याउने प्रक्रियामा रहेकाले पनि पुस मसान्तसम्म चुक्ता पुँजी पुर्याउन समस्या भएको हो ।’
राष्ट्र बैंकले तोकेको समयभित्र चुक्ता पुँजी पुर्याउन नसके पनि चालु आर्थिक वर्षभित्र २८ वाणिज्य बैंकले चुक्ता पुँजी आठ अर्ब पुर्याउँदै छन् । चुक्ता पुँजी नपुर्याएका बैंकले बोनस, हकप्रद र मर्जरको बाटो अपनाएका छन् ।
राष्ट्र बैंकले आगामी पुसभित्र आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन समय सीमा तोकेको थियो । त्यही समयभित्रै वाणिज्य बैंकले चुक्ता पुँजी आठ अर्ब पुर्याउन अभियानमा लागेका छन् । 
मेगा बैंकले टुरिजम बैंकलाई गाभ्दै छ । उसले टुरिजमलाई गाभेपछि चुक्ता पुँजी नौ अर्ब ४७ करोड पुग्ने बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी गराए । एभरेस्ट, जनता बैंकले पनि बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउँदै छन् । सेन्चुरी बैंकले पनि चुक्ता पुँजी आठ अर्ब पुर्याउँदै छ । उक्त बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई खरिद गरी चुक्ता पुँजी सात अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ । नपुग रकम गत वर्ष बैंकले कमाएको नाफाबाट बोनस सेयर जारी गरेर पुर्याउँदै छ ।
चुक्ता पुँजी आठ अर्ब पुर्याउन स्ट्यान्डर्ड चार्टर्ड बैंकले शतप्रतिशत बोनस सेयर जारी गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिले उक्त निर्णय गरिसकेको छ । हाल चार अर्ब ५७ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी बोनस सेयर वितरणपछि आठ अर्ब नाघ्नेछ ।
आठ अर्ब चुक्ता पुँजी नपुर्याएका अन्य वाणिज्य बैंकले गत वर्षको नाफाबाट बोनस सेयर, हकप्रद, मर्जर र खरिद प्रक्रियाबाट चुक्ता पुँजी पुर्याउने तयारी गरेका छन् । साधारण सभा गरिसकेका बैंकले आठ अर्ब चुक्ता पुँजी पुर्याइसकेका छन् । साधारण सभा गरिनसकेका बैंकले गत वर्षको नाफाबाट बोनस सेयर दिने प्रस्ताव साधारण सभामा लैजाने तयारी गरेका छन् । यसबाट पनि बैंकको चुक्ता पुँजी पुर्याउन सहयोग पुग्नेछ ।
सबै वाणिज्य बैंकले आगामी पुस मसान्तसम्म साधारण सभा गरिसक्नु पर्ने कानुनी प्रावधान छ । सबै वाणिज्य बैंक तोकिएको समयभित्रै साधारण सभा गर्ने तयारीमा छन् । 
केन्द्रीय बैंकले आर्थिक वर्ष ०७३÷७४ को बाह्य लेखापरीक्षण एवं वित्तीय विवरण सार्वजनिक गर्दाको अवस्थासम्ममा तोकिए बमोजिम न्यूनतम चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । त्यही निर्देशनका आधारमा बैंकहरुले चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव अघि सारेका हुन् । 
नेपाल बंगालादेश बैंकले बोनस सेयर दिएर चुक्ता पुुँजी आठ अर्ब आठ करोड रुपैयाँभन्दा माथि पुर्याएको छ । अर्को वाणिज्य बैंक माछापुच्छ«ेले पनि बोनस सेयर दिएर चुक्ता पुँजी आठ अर्ब रुपैयाँभन्दा माथि पुर्याएको छ । 
लक्ष्मी बैंकले पनि बोनस सेयर दिएरै चुक्ता पुँजी आठ अर्ब २१ करोड पुर्याएको छ । सनराइज बैंकको पुँजी आठ अर्ब १५ करोड पुगेको छ । 
नबिल, एनआइसी एसिया, सिटिजन्स, सानिमा लगायत बैंकले बोनस सेयर वितरण गरेरै चुक्ता पुँजी आठ अर्ब रुपैयाँभन्दा माथि पुर्याएका छन् । हकप्रद सेयर चुक्ता पुँजी वृद्धि गर्ने अर्को आधार भएको बैंकर बताउँछन् । चुक्ता पुँजी आठ अर्बमाथि पुर्याउन सिभिल बैंकले हकप्रद सेयर जारी गर्दैछ । 
हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ । धितोपत्र बोर्डले चुक्ता पुँजी पु¥याउन बाँकी रहेका बैंक तथा वित्तीय संस्थालाई छिटो अनुमति दिने निर्णय गरेको छ । उनीहरुले हकप्रद सेयर जारी गर्न बोर्डले लामो समय लगाउँदै आएको गुनासो बैंकरले गर्न थालेपछि अनुमति दिने काम छिटो छरितो गरेको बोर्डको भनाइ छ । 
सार्कस्तरमै नेपालका बैंकहरुको चुक्ता पुँजी सबैैभन्दा कम भएको भन्दै राष्ट्र बैंकले दुई वर्षअघि चुक्ता पुँजी बढाउने निर्देशन दिएको थियो । 
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आगामी पुस मसान्तसम्ममा पनि केन्द्रीय बैंकले तोकेको पुँजी नपुर्याउने बैंक, वित्तीय संस्थालाई कारबाही गर्नेसमेत प्रस्ट पारेको छ । यसबाट जोगिन पनि बैंकहरुले चुक्ता पुँजी पुर्याउन बाध्य भएका हुन् ।
तोकिएको चुक्ता पुँजी नपुगेमा विद्यमान व्यवस्था अनुरुप नगद लाभांश र बोनस सेयर वितरण एवं शाखा विस्तारमा रोक लगाउने, निक्षेप संकलन र कर्जा प्रवाहमा सीमा तोक्ने तथा बाध्यकारी मर्जरमा लैजाने लगायत कारबाही अगाडि बढाउने चेतावनी केन्द्रीय बैंकले दिँदै आएको छ । 
पुँजी बढाउन बैंक तथा वित्तीय संस्थालाई बोनस, हकप्रद, मर्जर र प्राप्तिबाहेक अर्को विकल्प छैन ।

 

प्रकाशित: ५ पुस २०७४ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App