१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एकतालाई सार्थक निष्कर्ष दिन अध्यक्ष दाहाललाई आग्रह

  (रासस) - युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्ष  प्रदान गर्नका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

आज अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बधाई तथा धन्यवाद ज्ञापनका लागि पुगेका दुवै युवा संगठनको संयुक्त टोलीले राष्ट्रिय आवश्यकता र जन चाहनाका आधारमा निर्माण भएको वाम गठबन्धनले करिब करिब दुई तिहाइ स्थानमा विजय हासिल गरेकाले त्यसलाई सार्थक निश्कर्ष प्रदान गर्नका समेत पार्टी एकतालाई टुंगो लगाउनुपर्नेमा जोड दिएको हो ।

एकतामा नै बल हुन्छ भन्ने मान्यताका आधारमा नेकपा (एमाले) र माओवादी केन्द्रको संयुक्त गठबन्धनले निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको भन्दै युवा संगठनले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नेतृत्व लिनसमेत अध्यक्ष दाहाललाई आग्रह गरेका हुन् ।

नेपाली जनताले जनमतबाट वाम गठबन्धनलाई अनुमोदन गरेको भन्दै उनीहरुले एकताका लागि सार्थक संवाद गर्न र त्यसलाई निष्कर्ष दिन अनुरोध गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

युवा संगठनको बधाई ग्रहण गर्दै अध्यक्ष दाहालले वाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले त्यसलाई संस्थागत गर्ने र त्यसको प्रयास भइरहेको धारणा राखे ।

,उनले भने “वाम गठबन्धनका उम्मेदवारलाई जनताले दुई तिहाइ बहुमत दिएका छन् । गठबन्धनका लागि एमाले अध्यक्ष केपी ओली र मैले गरेको सार्थक प्रयास अनुमोदित भएको छ । हामी त्यसलाई शीघ्र निष्कर्ष दिदै छौ ।”

जनताले दिएको अभिमत ऐतिहासिक रुपमा जनताको सम्पत्ति बनिसकेको चर्चा गर्दै उहाँले एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुयाउन सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

जनताले शान्ति, राजनीतिक स्थिरता, आर्थिक समृद्धिका लागि वाम गठबन्धनलाई मत दिएकाले जनताको अपेक्षालाई पूरा गरेर जान आफूहरुले कुनै पनि कसरत बाँकी नराख्ने उनको भनाइ थियो ।

देशलाई समृद्ध र सबल बनाएर युवा नेतृत्वलाई देशको जिम्मा दिने मनसायमा आफूहरु रहेको अध्यक्ष दाहालले बताए

अध्यक्ष दाहालले भने, “मुलुकलाई समृद्ध बनाएर समाजवादी नेपाल युवाको जिम्मा लगाउने सोचमा हामी छौँ । त्यसका लागि युवाले एकपटक पहल गर्न जरुरी छ ।”

युवा संघ नेपालका अध्यक्ष राजीव पहाडीले जनताको माग र भावनालाई सम्बोधन गर्दै सार्थक एकताको पहल गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए  ।

वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन युवा संगठनले खेलेको भूमिकालाई राष्ट्र निर्माणमा प्रयोग गर्न आफूहरु सधैँ इच्छुक रहेको वाइसिएलका अध्यक्ष सापकोटाको भनाइ थियो ।

यस्तै, आजै विभिन्न बुद्धिजीवी तथा पेशाकर्मीले समेत वाम गठबन्धनलाई विजयी गराएको र जनताको अपेक्षा पूरा गरेको भन्दै अध्यक्ष दाहालको सम्मान गरेका थिए ।
 

प्रकाशित: ४ पुस २०७४ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App