१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फिल्म रंगाउँदै रेनिस

काठमाडौं–उनी सानैदेखि जुनसुकै विषयको स्केच कोर्न माहिर थिए । उनले कोहीबाट ज्ञान नलिइ भित्री मनबाट आएका कुरालाई स्केचमार्फत प्रस्तुत गर्थे । अहिले उनी स्केच नगरे पनि रंग खेलाउन खप्पिस छन् । तर, उनको रंग क्यानभासमा हैन, सिनेमा हलको पर्दामा चम्किन्छ । अर्थात रेनिस फागो, कलर ग्रेडिङ आर्टिष्टका रुपमा नेपाली फिल्ममा कलर करेक्सनको काम गर्छन् ।  
आकाश अधिकारी निर्देशित फिल्म ‘काठमाडौं’बाट फिल्म रंगाउन थालेका रेनिसले हालसम्म झण्डै ७० बढी फिल्मलाई रंगाएर सुन्दर बनाएका छन् । नेपालमा पहिलोपटक रेड फोरके क्यामराले खिचिएको यो फिल्मको प्राविधिक पक्षमा काम गर्न पाउँदा उनी गर्व गर्छन् । ‘पहिला फिल्म हेरेपछि दृश्यमा कस्तो रंग प्रयोग गर्ने भन्ने निचोड निकालिन्छ,’रेनिस भन्छन्,‘फिल्ममा प्रयोग गरिने रंगले फिल्मको मर्मलाई न्याय गर्न सक्नुपर्छ । फिल्मको भाव अनुसार रंग संयोजन गर्न सकिएन भने फिल्मको कथा मर्छ । किनभने रंगले कथा भन्न सक्नु पर्छ ।’
फिल्ममा रंग खेलाउनकै लागि रेनिसले जमलमा रहेको पेन्टा सफ्टबाटबाट ४ वर्षको मल्टिमिडियाको डिप्लोमा कोर्स पूरा गरेका छन् । त्यहाँ पढाइ सकेपछि राजधानीको महाराजगञ्जमा रहेको किन्डल सिने स्टुडियो (रेड स्टुडियो)मा तीन भारतीय कलरिस्टसँग कलर ग्रेडिङका विषयमा ज्ञान लिएपछि उनी सोलो रुपमा कलर ग्रेडिङ गरिरहेका छन् । ‘अहिले एकैसाथ सात फिल्मको कलर ग्रेडिङ गरिरहेको छु,’उनले भने,‘धेरै फिल्मको ग्रेडिङ गर्दा फिल्मका विषयमा धेरै कुराको ज्ञान हुँदोरहेछ ।’

उनी एउटा फिल्मको कलर ग्रेडिङ अधिकतम २५ दिनमा सक्छन् । रेनिस किन्डल रेड स्टुडियोसहित मुभी फ्याक्ट्री, फिल्म मोसन नेपाल र आरबीए फिल्मस्मा फिल्मको कलर ग्रेडिङ गरिरहेका छन् । ‘बिहान, दिउँसो र बेलुका समय मिलाएर काम गर्छु । काम अनुसारको पारिश्रमिक पनि राम्रै लिन्छु ’ उनले भने । उनले हिन्दी फिल्म ‘सुराग’को पनि कलर ग्रेडिङ गरेका छन् । यसबाहेक झण्डै ३० बढी म्युजिक भिडियो र ४५ बढी वृत्तचित्रमा पनि कलर ग्रेडिङ गरेका छन् । परिवारको जेठो छोरो भएकाले रेनिसलाई उनका बुवाले इञ्जिनियर बनाउन चाहन्थे । तर, उनले फिल्म क्षेत्र नै रोजे । ‘सानैदेखि रचनात्मक कार्यमा रुची भएकाले पनि फिल्मको कलर ग्रेडिङ क्षेत्रमा लागें,’रेनिसले विगत सम्झिए, ‘त्यो बेला नेपालमा कलर ग्रेडिङलाई नयाँ व्यवसायका रुपमा लिइन्थ्यो । नयाँ काम गर्ने सानैदेखिको रुचि भएकैले अहिलेसम्म रमाइरहेको छु ।’ इलाममा जन्मिएर कक्षा दुईसम्म त्यही पढेका रेनिसको परिवार हाल मकवानपुरको हेटौडामा बस्छ । 

 

प्रकाशित: ४ पुस २०७४ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App