१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘ दी लास्ट हनी हन्टर’लाई दोहोरो अवार्ड

काठमाडौं–भीरमा मह काढ्ने कुलुङ राईको परम्परामाथि बनेको वृत्तचित्र ‘दी लास्ट हनी हन्टर’ले राजधानीमा सोमबार सम्पन्न १५ औं संस्करणको ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा दुई अवार्ड जितेको छ । ३५ मिनेट लामो यो वृत्तचित्रले ‘नेपाल पानोरामा’ अन्तर्गत ‘अडियन्स अवार्ड’ र ‘स्पेशल जुरी मेन्सन’ अवार्ड जितेको हो । यो वृत्तचित्र अमेरिकी नागरिक बेन नाइटले निर्माण तथा निर्देशन गरेका हुन् । उनले नेपालमा निर्माण गरेको यो पहिलो वृत्तचित्र हो । फिल्मको प्रडक्सन हेरेको बेन आयर्सले दोहोरो अवार्ड नेपालीलाई नै समर्पण गरे । नेपालीमा फरर बोल्ने उनले ‘दी लास्ट हनी हन्टर’ एरिक भ्यालीको ‘हनी हन्टर’को अन्तिम संस्करण भएको बताए । 

नेसनल जोग्राफी सम्बद्ध अमेरिकी नागरिक बेन नाइटले निर्माण तथा निर्देशन ३५ मिनेट लामो यो वृत्तचित्रले ‘नेपाल पानोरामा’ अन्तर्गत ‘अडियन्स अवार्ड’ र ‘स्पेशल जुरी मेन्सन’ अवार्ड जितेको हो । 

‘विगत २० वर्षदेखि म नेपालमा बस्दै आएको छु,’अवार्ड थाप्न गएका बेनले भने, ‘नेपाल र नेपालीले मलाई जति दिनु भएको छ, यो अवार्ड उहाँको गुन तिर्ने सानो प्रयत्न हो ।’
हिमाल एसोसिएसनको आयोजनामा भएको पाँच दिने फेस्टिभलमा धौलागिरी हिमाल आरोहणका विषयमा निर्माण गरिएको वृत्तचित्र ‘धौलागिरी, एसेन्ट टु दी ह्वाइट माउन्टेन’ले ‘अन्तर्राष्ट्रिय प्रतिष्पर्धा’ विधामा पहिलो बन्यो । अर्जेन्टिनाका दुई युवा गुइलेर्मो ग्लास र क्रिस्टियन हार्बरुकले हिमाल आरोहणमा गुमाएका आफ्ना साथीको सम्झनामा  निर्माण गरेको वृत्तचित्रले १५ सय अमेरिकी डलरको पुरस्कार पायो ।
यसै विधाअन्तर्गत रोजगारीको लागि अमेरिकामा पुगेका शेर्पा समुदायको कथा समेटिएको वृत्तचित्र ‘शेर्पा स्टीऊ’ले १ हजार रुपैंयाँ अमेरिकी डलर राशिको दोस्रो पुरस्कार जित्यो । अमेरिकी नागरिक एन्डी ककरमले निर्माण र निर्देशन गरेको वृत्तचित्रमा आरोही निमा दावा शेर्पा र किपा शेर्पालाई पात्र बनाउँदै अमेरिकाको न्यूर्योकमा बस्दै आएका शेर्पा समुदायको संघर्षलाई प्रस्तुत गरिएको छ ।
त्यस्तै कोरियन ओपेर गायक जाइ चाङ किमले भारतको पुनेमा सुकुम्बासीका छोराछोरी र उनीहरुको परिवारका लागि गरेको कन्सर्टबारे निर्माण गरिएको वृत्तचित्र ‘सिङ्गिङ विथ एङ्ग्री बर्ड’ले ५ सय अमेरिकी डलर प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझायो । एमी अवार्डमा मनोनित दक्षिण कोरियाली पत्रकार हेवान जीले यो वृत्तचित्रको निर्माण गरेकी हुन् ।
प्रतियोगितामा ‘नेपाल पानोरामा’ अन्तर्गत अस्मिता श्रीषले निर्माण गरेको वृत्तचित्र ‘ग्याल्मुज हाउस’ले ५० हजार रुपैंयाँसहित ‘बेस्ट डकुमेन्ट्री फिल्म’को अवार्ड चुम्यो । यो वृत्तचित्रमा दुई वर्ष अघि आएको विनाशकारी भूकम्पले ध्वस्त पारेको लाङटाङ उपत्यकामा वर्षदिन पछि त्यहीकी निमा ग्याल्मु नामकी महिलाले आफ्नो घर बनाउन गरेको संघर्षलाई देखाइएको छ ।
त्यस्तै मुगुको एक विकट गाउँमा बस्दै आएका बालिकाहरूमाथि केन्द्रित रहेर निर्माण गरिएको वृत्तचित्र ‘जालगेडी’ले ७५ हजार रुपैंयाँ राशिको ‘बेस्ट फिक्सन फिल्म’को अवार्ड जित्यो । यो वृत्तचित्रको निर्माण र निर्देशन राजेशप्रसाद खत्रीले गरेका हुन् । यो वृत्तचित्र २२ औं ‘बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा प्रिमियर गरिएको थियो ।
फेस्टिभलमा ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ चाहिँ भारतीय वृत्तचित्र ‘कहाँ का रास्ता’ले जित्यो । सब्यसाची अन्जु प्रबीरले निर्देशन गरेको यो वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार पायो । कार्यक्रममा नेपाल समीक्षक समाजले प्रदान गरेको ‘क्रिटिक्स अवार्ड’ फिल्म ‘ब्लड रोड’ले पायो । भियतनाम युद्धको पृष्ठभूमिमा बनेको डकुमेन्ट्रीले दुई महिलाको यात्राको कथा पेस गरेको थियो ।

भियतनाम युद्धमा बितेका आफ्नो पिताको अवशेष खोज्दै आएकी अमेरिकनलाई भियतनामी युवतीले दिलोज्यानले लक्ष्यमा पुग्न गरेको सहयोगको कथा समीक्षकको नजरमा उत्कृष्ट ठहरिएको थियो । फिल्म समीक्षक समाजका तर्फबाट सामीप्यराज तिमल्सेना, प्रभाकर गौतम र सजना बरालले प्रतिस्पर्धामा रहेका १४ फिल्मबाट ‘ब्लड रोड’लाई उत्कृष्ट ठहराएका थिए । 
५ दिनसम्म कुमारी हलमा चलेको फेस्टिभलमा निर्णायकका जिम्मेवारी बान्फ माउन्टेन फिल्म फेस्टिभलका जोआना क्रोष्टन, भारतका रीना मोहन र नेपालका केसाङ छेतेनले निर्वाह गरेका थिए ।  यसपटकको संस्करणमा ‘किम्फ लाइभ डक पिच’ सेसन थियो । जसमा दर्शककै अघि फिल्म बनाउने व्यक्तिले आफ्ना फिल्मको आइडिया साटासाट गरेका थिए ।  गतवर्षदेखि सुरु गरिएको ‘किम्फ डक ल्याब’को सुविधालाई यसवर्ष पनि निरन्तरता दिइएको थियो । 
३७ देशका ७६ फिल्मको सहभागिता रहेको कार्यक्रममा नेपाल पानोरमा अन्तर्गत १५ फिल्म प्रदर्शन गरिएको थियो । १४ फिल्म प्रतिस्पर्धी रहेको संस्करणमा ४८ वटा अप्रतिस्पर्धी फिल्म रहेका थिए । किम्फका निर्देशक बसन्त थापाले सन् २०१८को प्रतियोगिता डिसेम्बर ६ देखि १० सम्म काठमाडौमा गर्ने जानकारी गराएका थिए ।
 

 

प्रकाशित: ४ पुस २०७४ ०१:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App