१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

समानुपातिकमा कांग्रेस दोस्रो दल

काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरेको नेपाली कांग्रेसले समानुपातिकतर्फ भने आफ्नो अवस्था सुधार गरेको छ । कांग्रेसले समानुपातिकतर्फ झन्डै साढे ३१ लाख मत पाएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक गरिनसके पनि कांग्रेसले एमालेभन्दा झन्डै ५५ हजार कम मतसहित दोस्रो स्थान सुरक्षित गरेको छ । उसले ३१ लाख २८ हजार बढी मत ल्याएको छ भने एमाले ३१ लाख ७३ हजार बढी मतसहित पहिलो दल बनेको छ । तर, प्रत्यक्षतर्फ भने माओवादी केन्द्रभन्दा पनि कांग्रेस धेरै पछि छ ।
स्थानीय तह निर्वाचनमा कांग्रेसले २६ लाख ५८ हजार मत पाएको थियो । यो हिसाब कांग्रेसबाट नगर र गाउँपालिका प्रमुखमा लडेका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा निकालिएको हो ।
केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समानुपातिकतर्फको मत हेर्दा कांग्रेसप्रति जनताको ठूलो भरोसा देखिएको बताए । ‘दुई ठूला दल मिल्दा पार्टीको आकार (निर्वाचित सिट) खुम्चिएको छ तर, कांग्रेसप्रति जनताको भरोसा कायमै छ,’ अर्थमन्त्रीसमेत रहेका कार्कीले भने, ‘व्यवस्थित र एकताबद्ध तथा अनुशासित बनाएर पार्टीलाई अघि बढाउनुपर्छ ।’
निर्वाचनमा पार्टी पराजयको दोष नेतृत्वले लिनुपर्ने भन्दै विभिन्न तहका नेताले विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा अघि सारिरहेका बेला नेता कार्कीले भने अहिलेको अवस्थाको जिम्मेवारी सबैले लिनुपर्ने तर्क गरेका छन् । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको साइज घट्नुमा दोष अरूमाथि थोपर्नुभन्दा जसजसले जे जिम्मेवारी लिएका थियौं सो अनुसार हारको जिम्मेवारी पनि लिनुपर्छ,’ उनले भने, ‘अब पार्टीको जिम्मेवारीमा बसेका सबैले जेजति गर्नुपर्ने हो पूरा गर्नु जरुरी छ ।’
केन्द्रीय सदस्य गुरुराज घिमिरेले दुई ठूला दल मिलेर निर्वाचनमा गएपछि पार्टीको अवस्था कमजोर हुनु अस्वाभाविक नभएको बताए । ‘दुई ठूला दल मिलेपछि कांग्रेसपछि पर्ने कुरा अस्वाभाविक थिएन,’ घिमिरेले भने, ‘पार्टीले हार्ने भयो भनेर निर्वाचन सार्ने कुरा आउँदैन थियो । कांग्रेस नेतृत्वमा निर्वाचन सम्पन्न गरेर ऐतिहासिक जिम्मेवारी पूरा गरेका छौं । अब वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ ।’
पार्टीले समानुपातिकमा पाएको मतभन्दा कतिपय स्थानमा उम्मेदवारकै सक्रियताले बढी मत आएको छ । झापा–१ बाट कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्माले समानुपातिकमा पार्टीले पाएभन्दा झन्डै दस हजार बढी मत पाएका छन् । शर्माले ३३ हजार ३ सय १० मत पाएका छन् भने  समानुपातिकतर्फ पार्टीले २४ हजार ६ सय ७० मत पाएको छ । शर्माले मात्र होइन मोरङ–१ बाट उम्मेदवार बनेका डिकबहादुर लिम्बुले पनि छ हजार बढी मत पाएका छन् । लिम्बुले ३१ हजार ४ सय ३६ मत ल्याएका छन् भने समानुपातिकतर्फ त्यहाँबाट पार्टीको पक्षमा २५ हजार ७ सय २३ मात्र आएको छ ।
त्यस्तै, चितवन–१ बाट उम्मेदवार बनेका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३ सय ६० मत पाएका छन् । तर, पार्टीले उनको भन्दा पाँच हजार कम मत ३० हजार ७ सय ५० पाएको छ । सुर्खेत–१ मा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्णबहादुर खड्काले चाहिँ समानुपातिकमा भन्दा झन्डै एक हजार मात्र बढी मत ल्याएका छन् । उनले ३१ हजार ८ सय ८१ मत पाएका छन् भने समानुपातिकमा पार्टीले ३० हजार ६ सय ६२ मत पाएको छ ।
समानुपातिकतर्फ पाएको मत कांग्रेसप्रति प्रतिबद्ध र सैद्धान्तिक मत भएको दाबी गर्दै केन्द्रीय सदस्य घिमिरेले भने, ‘अहिले पनि कांग्रेस कमजोर छैन खाली आन्तरिक अव्यवस्थापनको परिणामले प्रत्यक्ष निर्वाचनमा हार भएको हो ।’ उनले पार्टी संस्थागत ढंगबाट अघि बढ्न सकेको र भ्रातृ संगठन पनि पूर्णरुपमा सक्रिय भएको भए परिणाममा केही सुधार आउने दाबी गरे । ‘नेता आआफ्नो ढंगबाट सक्रिय भए पनि केन्द्रदेखि गाउँ तहसम्म पार्टी परिचालित भएन,’ उनले भने, ‘केन्द्रीय निर्वाचन परिचालन समिति सक्रिय भएजस्तो देखिए पनि केही कमजोरी रहे ।’
केन्द्रीय सदस्य प्रकाशमान सिंह, गगनकुमार थापासहितका केही नेताले भने पार्टी पराजयको जिम्मेवारीसहित नेतृत्वले पद त्याग गर्नुपर्ने सार्वजनीक अभिव्यक्ति दिँदै आएका छन् । थापाले तत्काले विशेष महाधिवेशन बोलाउनुपर्ने भन्दै यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने तर्क अघि सारेका छन् । ‘कम्युनिस्टहरू मिलेर आएपछि उनीहरूसँग प्रतिस्पर्धा अहिलेको यही स्थितिबाट गर्न गाह्रो छ,’ उनले भने, ‘नेतृत्व फेरेरमात्र हुँदैन । काम गर्ने तरिका र पार्टीको पोजिसन पनि फेर्नुपर्छ ।’
तर, सभापति शेरबहादुर देउवासहितका नेता निर्वाचन समीक्षाका लागि केही समयपछि केन्द्रीय समिति बैठक बोलाउने र पार्टी विधान संशोधनसहितका केही विषयलाई सुल्झ्याउन विधानकोे व्यवस्थाअनुसार फागुन वा चैतसम्म महासमिति बैठक बोलाउन सक्ने पक्षमा रहेको जानकारी एक नेताले दिए ।

प्रकाशित: ३ पुस २०७४ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App