१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फास्ट ट्रयाक निर्माण क्षेत्रमा रुख कटान शुरु

बारा- गत जेठ १४ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यायस गरेको बहुचर्चित काठमाडौ–तराई जोडने फास्ट ट्रयाकको निर्माण कार्यलाई नेपाली सेनाले शुरु गरेको छ।

चार बर्ष भित्रमा ४ लेनमा  फास्ट ट्रयाकलाई निर्माण गर्ने उदेश्यको साथ  नेपाली सेनाले यसको निर्माण कार्यलाई अगाडी बढाएको हो।

नेपाली सेनाका सहायक रथी भरतबहादुर खडकाको नेतृत्वमा खटेको टोलीले फास्ट ट्रयाकमा पर्ने रुखहरुको कटान लगाएतका कार्यहरु समेत शुरु गरेको छ। फास्ट ट्रयाकको निर्माण कार्यमा प्रयोग हुने उपकरणहरुलाई राख्न र सेनाहरुलाई बस्नको लागि समेत जंगल भित्र व्यवस्था गर्ने कार्य समेत शुरु गरीएको सेनाका अधिकारीहरुले बताएका छन्।

अहिले फास्ट ट्रयाकमा पर्ने बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहको लगभग १२ सय जति रुखहरु कटान गरीएको समूहका अध्यक्ष रवीराज दंगालले बताए। फास्ट ट्रयाक र दोस्रो अन्तिराष्ट्रिय बिमानस्थाल निर्माण संघर्ष समितिका संयोजक समेत रहेका दंगालले नागमणी सामुदायीक वनको लगभग १५० मिटरसम्मको ३० मिटर चौडा रुखहरु कटान गरीएको बताए।

नेपाली सेनाका प्रवक्ता नयनराज दाहालले फास्ट ट्रयाकको निर्माण कार्यमा सेनाहरु खटिएको बताएका छन्। दाहालले शुरुमा फास्ट ट्रयकको ट्रयल ३० मिटर मात्रै खोलिएको र अहिले ५० मिटरको खोल्नु पर्ने भएकोले अव फेरी पनि २० मिटरमा पर्ने रुखहरुलाई शुरुमै कटान र छपानको लागि प्रक्रिया अगाडी बढाइएको बताए।

एक खर्ब १२ अर्व अनुमानित लागत रहेको फास्ट ट्रयकको ट्रयल नेपाली सेनाले नै २०७० सालमा खोलेको थियो। स्वदेशी लागानी मै निर्माण गर्न लागिएको फास्ट ट्रयकको लागि  आर्थिक बर्ष २०७३/७४ को बजेटमा सरकारले  १० अर्ब बजेट रकम समेत बिनियोजन गरीएको थियो।

देशका राष्ट्रिय गौरवका योजनाहरु मध्ये उच्च प्राथमिकतामा रहेको फास्ट ट्रयाक निर्माणको जिम्मा सेनाले पाएपछि सेनाको लागि यो अवसर र चुनौती दुबै विषय बनेको छ। ललितपुर जिल्लाको खोकना, काठमाडौको दक्षिणकाली, मकवानपुरको पञ्चकन्या,गढी,धियाल  र बाराको भरतपुरी,लाल हुदै निजगढको लामागढीमा पूर्व पश्चिम महेन्द्र राजमार्गमा आएर फास्ट ट्रयाक जोडने बताईएको छ।

फास्ट ट्रयाक निर्माणले यस क्षोत्रमा लगानीको बतावरण राम्रो बन्ने र धेरै जनाले रोजगारीको अवसर पाउँने व्यवसायी इच्छा बहादुर वाग्लेले बताएका छन्। फास्ट ट्रयाक निर्माण भए पछि काठमाडौमा बस्नु भन्दा यस क्षेत्रमा बसोबासका लागि उपयुक्त हुने वाग्लेले बताए। यसलाई समयमै निर्माण सम्पन्न गर्नको लागि यस क्षेत्रका जनताहरुले समय समयमा निगरानी समेत गर्न आवश्यक रहेको उनले बताए ।

७६.२ किलोमीटर लम्बाई रहेको फास्ट ट्रयाकको समतलमा चौडाई २५ मीटर हुनेछ भने पहाडी भागमा २३ मीटर रहने बताइएको छ । फास्ट ट्रयाकमा ९९ वटा पुल, २ किलोमीटर सुरुङ्ग मार्ग आवश्यकता अनुसार पर्खाल समेत निर्माण गरी अन्तराष्ट्रिय स्तरको निर्माण गरिने लक्ष्य रहेको सेनाका अधिकारीहरुले बताएका छन् ।

फास्ट ट्रयाक निर्माणको लागि सरकारले एक अर्ब ६४ करोड रुपैयाँ पहिला नै खर्च गरिसकेको भौतिक निर्माण मन्त्रालयले जनाएको छ। ट्रयाल खोल्न ८२ करोड निर्माणमा र बाँकी मुआवजामा वितरणमा खर्च गरेको जनाईएको छ ।

फास्ट ट्रयक निर्माण सम्पन्न भए पछि काठमाडौ देखि निजगढ एक घण्टामा मात्रै पुग्ने भएकोले  यसले बारा, पर्सा र रौतहट लगायतका क्षेत्रको विकासको साथ साथै तराई –मधेसका बिकास पनि यसले ठूलो भूमिका खेल्न सकिने सम्भावना रहेको छ।

 

प्रकाशित: २ पुस २०७४ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App