१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुलले बढायो हलेसीमा पर्यटक

देश विदेशबाट हलेसी दर्शन तथा भ्रमण गर्न आएका दर्शनार्थी ।

खोटाङ– खोटाङ जोड्ने पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक आगमन बढेको छ । खोटाङको जयरामस्थित दूधकोसीमा मोटरेबल पक्की पुल बनेपछि आवत–जावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक बढेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए । ‘पुल बनेयता हलेसीमा दर्शनार्थी बढेका छन्,’ कार्यकारी निर्देशक भुजेलले भने, ‘बिदाका बेला तथा शुक्रबार र शनिबार हलेसीमा बाक्लो घुइँचो लाग्ने गरेको छ । पुल बनेको खबर सबै ठाउँ पुगे भने अझ बढी भीड लाग्ने अवस्था छ ।’ 
निर्माण सुरु गरिएको आठ वर्षपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयराम र ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका जोड्ने दूधकोसी पुल गत मंसिर ८ गतेदेखि सञ्चालमना आएको हो । दूधकोसीमा हिउँद याममा बेलिब्रिज राखेर आवत–जावत सहज बनाउने गरिए पनि वर्षायाममा बेलिब्रिज निकाल्दा जिल्ला भित्रिन र बाहिरिन असहज हुने गरेको थियो । 
पक्की पुल बनेपछि हिउँद वर्षा बा¥है मास नदी वारपार गर्ने वातावरण बनेसँगै हलेसीमा दर्शनार्थी, पर्यटक ओइरिन थालेको कार्यकारी निर्देशक भुजेलले बताए । मध्यपहाडी लोकमार्गले छोएका कारण हलेसी आउन सहज भएपनि पुल अभावमा वर्षायाममा आन्तरिक तथा बाह्य दर्शनार्थी कम आउने गरेका थिए । पक्की पुल अभावमा झोलुंगे पुलबाट नदी तर्ने क्रममा हलेसी आउने दर्शनार्थी जयराममा घन्टौं जाममा बस्ने गरेका थिए । पुल बनेसँगै सहजरुपमा सवारी साधनबाट सीधै नदी तर्ने वातावरण बनेपछि हिजोआज हलेसीमा दैनिकजसो बाक्लो भीड लाग्न थालेको छ । 
स्थायी पुलका कारण हलेसी र काठमाडौं जोडिएपछि राजधानी, भक्तपुर, ललितपुर, पोखरा, महोत्तरी लगायत ठाउँबाट तीर्थयात्री तथा पर्यटक गाडी रिजर्भ गरेर सीधै हलेसी आउने जानेक्रम बाक्लिएको छ । हलेसी विकास समितिका अनुसार सिक्किम, दार्जीलिङ लगायत ठाउँबाट समेत रिजर्भमा दर्शनार्थी हलेसी आइरहेका छन् । हाल दैनिकजसो हलेसी–घुर्मी–कटारी र हलेसी–घुर्मी–काठमाडौं सडक खण्डमा हलेसी आउनेजाने दर्शनार्थी तथा पर्यटक बोकेका रिजर्भ जीप र बस बाक्लो मात्रामा ओहोर–दोहोर गरिरहेका भेटिन्छन् । काठमाडौं लगायत पश्चिमका जिल्लाका दर्शनार्थी मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी हुँदै हलेसीमा आउने गरेका छन् भने पूर्वी नेपालका दर्शनार्थी कटारी–घुर्मी हुँदै हलेसी आउने गरेका छन् । 
चीन, तिब्बत, भारत, भुटान, फ्रान्स लगायत देशबाट आउने पर्यटक भने सीधै हेलिकप्टरमार्फत हलेसी आउने जाने गरेका छन् । तीर्थयात्री तथा पर्यटकले हलेसीका सानादेखि ठूला होटल तथा पसल दैनिकजसो भरिभराउ हुन्छन् । हलेसीमा परिवार तथा आफन्तसहित आउने पनि बढेका छन् । हलेसीमा दर्शन, भ्रमण बाहेक ‘रिफ्रेस’का लागि समेत दर्शनार्थी आउने गरेको पाइएको छ । यद्यपी, हलेसीमा दर्शन गर्न, ध्यान गर्न, घुमफिर गर्न र भाकल पूरा गर्न आउने दर्शनार्थी तथा पर्यटकको तथ्यांक राख्ने व्यवस्था गरिएको छैन । 
धार्मिक तथा सांस्कृतिक दृष्टिले प्रसिद्ध तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेव गुफा, धर्मद्वार, पापद्वार, बसासा गुफा, भैरव गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफाको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थी हलेसी आउने गरेका छन् । भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्यसम्भवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ स्थल रहेकाले पनि त्रि–धार्मिकस्थल मानिएको हलेसीमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको बाक्लो भीड लाग्ने गरेको छ । मारातिका गुम्बा रहेको हलेसीमा हरेक हिउँद विश्वभरका बौद्धमार्गीले चार–पाँच महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् । 

 

प्रकाशित: २ पुस २०७४ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App