१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय पार्टी पाँचवटा मात्र

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । शनिबार बेलुकीसम्मको मतपरिणामअनुसार प्रत्यक्षमा जस्तै समानुपातिकमा सबैभन्दा धेरै मत एमालेले ल्याएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । यस्तै पाँच दलमात्र राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ ।
 समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र संघीय समाजवादी फोरमले ६÷६ सिट ल्याउने देखिएको छ । मतगणना सकिँदासम्म पाँच दलमध्ये कुनैको एकदुई सिट थपघट हुन सक्नेछ ।
कुल मतको तीन प्रतिशत मतपरिणाम थ्रेस होल्ड राखिएका कारण अधिकांश साना दलको मत खेर जाने देखिएको छ । तीन प्रतिशतको मतको सीमितता राखिएकाले साना दलले प्राप्त गरेको मतको कुनै मूल्यांकन नहुने भएको हो । राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनुपर्नेछ ।
संघीय संसद्मा ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य बाध्यता दलहरुलाई रहेको छ । समानुपातिकतर्फबाट सबैभन्दा धेरै एमालेले महिला पठाउनुपर्ने देखिन्छ । प्रत्येक दलले प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा जुनसुकै माध्यमबाट एकतिहाइ महिलाको उपस्थिति बनाउनुपर्नेछ ।
निर्वाचन आयोगका अनुसार सुनसरी क्षेत्र ३ तथा सर्लाहीको क्षेत्र २, ३ र ४ मा मतगणना जारी छ । आइतबार मात्र मतगणना सकिने आयोगले जनाएको छ ।
शनिबार रातिसम्म एमालेले ३१ लाख ६१ हजार, कांग्रेसले ३१ लाख ११ हजार, माओवादी केन्द्रले १२ लाख ९५ हजार, राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७० हजार, संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६९ हजार बढी मत प्राप्त गरेका छन् ।
थ्रेस होल्ड कटाउन नसकेका विवेकशील साझाले २ लाख १२ हजार, राप्रपाले १ लाख ९६ हजार, राप्रपा प्रजातान्त्रिकले ८८ हजार, नयाँ शक्तिले ८१ हजार, राष्ट्रिय जनमोर्चाले ६२ हजार मत ल्याएका छन् । अन्य पार्टीले ३ लाख ५४ हजार मत ल्याएका छन् । साना अस्तित्वमा नभएका दलहरुले झिनो मत ल्याएका छन् ।
समानुपातिकतर्फ निर्वाचन आयोगमा ८६ दलले बन्दसूची बुझाएका छन् । बन्दसूचि बुझाएमध्ये ५ दलले मात्र प्रतिनिधित्व गर्न पाउने भएका छन् ।

प्रकाशित: २ पुस २०७४ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App