१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

क्रिकेटमा देखिएला संरक्षकको भूमिका?

प्रधान मन्त्री पुष्पकमल दाहालले शपथ ग्रहण गरेपछिको पहिलो सार्वजनिक कार्यक्रम खेलकुदमा थियो। विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्न एम्सटरडम जाने टोलीलाई शुक्रबार प्रधान मन्त्री दाहालले बिदाइ गरे। राजनीतिक शक्तिसंघर्षको चलखेलबाट देशमा सबैभन्दा बढी प्रताडित क्षेत्र खेलकुद हो। अझ यस्तै राजनीतिक चलखेल र पदाधिकारीको व्यक्तिगत स्वार्थमा रुमल्लिँदा अन्तर्राष्ट्रिय जगतमा प्रचुर सम्भावना बोकेको नेपाली क्रिकेट अन्योलको भूमरीमा छ।

दाहालले क्रिकेटरलाई बिदाइ गर्ने क्रममा क्रिकेटको समस्याप्रति आफू जानकार रहेको बताउँदै समाधानका लागि गम्भीररूपमा लाग्ने वचनबद्धता व्यक्त गरे। नेकपा माओवादी केन्द्रका अध्यक्षबाट आएको यस्तो प्रतिबद्धता क्रिकेटका लागि जोखिमपूर्ण हुन सक्छ। किनकि पछिल्लोपटक पाँच वर्षअघि क्रिकेटमा राजनीतिक हस्तक्षेपलाई आधिकारिकता दिन सफल दलका नेता हुन् उनी। क्रिकेट अहिले त्रिपक्षीय प्रतिस्पर्धाको बीचमा अल्मलिइरहेको छ। साधारण सभाबाट आएको एउटा निर्वाचित संघ, राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गठन गरेको अर्को तदर्थ समिति र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पत्याएकी संघकी पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेबीचको शक्तिसंघर्ष वर्तमान क्रिकेटको मुख्य समस्या हो। तीनै पक्षमा दाहालको दलको नेतृत्व छैन। पछिल्लो समय खेलकुदमा नेकपा एमालेले 'एकपक्षीय कब्जा' जमाउँदा क्रिकेटमा सबैभन्दा पीडित दाहालको माओवादी नै थियो। खेलकुदमा एमाले नेतृत्व आएपछि नेपाल क्रिकेट संघ (क्यान) पुनर्गठनका क्रममा आफूहरूले धोका पाएको उनका कार्यकर्तालाई लागेको छ। त्यसैले भावुक दाहाल दलीय भावनाभन्दा माथि उठ्न सकेनन् भने क्रिकेट विवादमा चौथो पक्ष थपिनेछ। सरकारी हस्तक्षेपको बहानामा देशलाई निलम्बन गरी नेपाली क्रिकेटको सम्पूर्ण बागडोर पूर्व सिइओ घिमिरेलाई सुम्पेको आइसिसीले त्यसलाई झनै स्वीकार्ने छैन। समाधानको साटो क्रिकेट थप विवादको भूमरीमा पर्नेछ।

साधारण सभाबाट आएको एउटा निर्वाचित संघ, राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गठन गरेको अर्को तदर्थ समिति र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पत्याएकी संघकी पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेबीचको शक्तिसंघर्ष वर्तमान क्रिकेटको मुख्य समस्या हो।

दाहालको भनाइमा जति जोखिम छ, त्योभन्दा बढी क्रिकेटलाई सही बाटोमा लान सकिने अवसर पनि छ। शपथ लिएको २४ घन्टा नबित्दै राष्ट्रिय टोलीलाई बोलाएर बिदाइ गर्नुबाट उनले यो खेललाई दिएको प्राथमिकता पुष्टि हुन्छ। देशको कार्यकारी प्रमुखको हैसियतमा उनले जनाएको वचनबद्धता नेपाली क्रिकेटका लागि झनै आशलाग्दो हुनसक्छ। कम्तीमा क्रिकेटलाई कार्यकर्ता भर्ती र प्रतिशोध साँध्ने माध्यममात्र नबनाई साँचो अर्थमा समाधान खोजे भने समस्या समाधानका लागि उनी अहिलेका एकमात्र विकल्प हुन्। मैदानभित्रको प्रदर्शनका आधारमा नेपाली क्रिकेट दुई वर्षअघि सफलताको उत्कर्षमा पुगेको थियो। २० ओभरको विश्वकपमा दुई वर्षअघि सहभागिता जनाएको नेपाली क्रिकेट त्यसयता लगातारका विवादले ओरालो झरिरहेको छ। आन्तरिक विवादका कारण आइसिसीले नेपाललाई निलम्बन गरेको छ। निलम्बनमा रहँदा पनि राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागितामा चाहिँ रोक लगाइएको छैन। तर नेपाली टोलीको सम्पूर्ण अभिभारा आइसिसीले आफँै गर्ने लिएरमात्र सहभागी हुन दिइएको छ। टिम म्यानेजरका रूपमा नेपालको झण्डा अन्तर्राष्ट्रिय जगतमा विदेशी नागरिकले बोक्नेजस्तो दुर्भाग्य देशले भोगिरहेको छ।

निरन्तर ओरालीको यात्राले लामो समय बिताउँदा सफलताको शिखरबाट अहिले क्रिकेट 'नालायकी' को खाल्डोमा जाकिने अवस्थामा पुगिसकेको छ। नेपाली क्रिकेटलाई यो दयनीय अवस्थामा ल्याउनुमा यससँग सम्बन्धित सबै पक्ष जिम्मेवार छन्। चोखो कोही छैनन्। विवादका बेला अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने राखेप आफँै विवादको एउटा हिस्साका रूपमा प्रस्तुत भइसकेको छ। युवा तथा खेलकुद मन्त्रालयले पटकपटक क्रिकेटमा गरेका हस्तक्षेपका असफल शृंखलाबाट सबै जानकार भइसकेका छन्। अञ्जानमै कसै न कसैको गोटी बन्ने गरेका खेलाडी अछूतो छैनन्। आइसिसीले पत्याएकी घिमिरेमाथि नेपाली क्रिकेट 'परिवार' को विश्वास छैन। राष्ट्रिय क्रिकेटको सबैखाले सांगठनिक संरचना ध्वस्त पारेर आफू अगाडि बढ्न खोजेको आरोप उनीमाथि छ। आइसिसीलाई समेत दिग्भ्रमित गर्दै पर्दा पछाडिबाट एकलौटी ढंगमा नेपाली क्रिकेट चलाएको आरोप पनि उनीमाथि छ।  त्यसैले सतहमा बुझ्दा क्रिकेटको समस्या सामान्यजस्तो देखिए पनि समाधान सहज छैन। देशलाई नै एकताको सूत्रमा गाँस्न सक्ने क्रिकेट टुक्रा–टुक्रामा विभाजित छ। यसलाई एक बनाउन पनि अहिले विभागीय मन्त्रालयभन्दा माथिल्लो निकायले मात्र सक्छ, त्यो प्रधान मन्त्रीमात्र हो।

अन्तर्राष्ट्रिय सम्बन्धनलाई चुनौती दिँदै 'साहसी' निर्णय गर्न सक्ने अवस्थामा नपुगेसम्म नेपाली क्रिकेटका लागि आइसिसीको भूमिका महत्वपूर्ण छ। आइसिसीको विश्वास र सहयोगबिना यथास्थितिमा नेपाली क्रिकेट थप ओरालो लाग्ने निश्चित छ। तर आइसिसीले घिमिरेबाहेक नेपाली खेलकुदका अन्य कसैलाई पनि विश्वास गरिरहेको छैन। नेपाली क्रिकेटमा स्थायी शक्तिको भूमिकामा रहँदै आएको राष्ट्रिय टोलीले पनि देशभित्र अरु कसैलाई 'गन्दैन'। प्रधान मन्त्री नेपाली खेलकुदका संरक्षक हुने नीतिगत व्यवस्था छ। संरक्षकको भूमिका अप्ठेरो अवस्थामा नै खोजिन्छ। नेपाली क्रिकेट अहिले अप्ठेरोमा छ। त्यसैले देशको प्रधान मन्त्री एवं नेपाली खेलकुदको संरक्षकबाट आएको प्रतिबद्धताबाट आश गर्ने ठाउँ धेरै छ।

अवसर र जोखिम बराबर रहेको उनको प्रतिबद्धताको सकारात्मक पक्ष भनेको प्रधान मन्त्रीबाट खेलको पक्षमा सन्तुलित कदमको आशा हो। क्रिकेटभित्रको विवादमा तार्किक समाधान दिन आइसिसी र खेलाडीको विश्वास महत्वपूर्ण हुन्छ। प्रधान मन्त्रीले कार्यकर्ताको आकांक्षा र दलीय स्वार्थभन्दा माथि उठेर गर्ने हरेक सन्तुलित निर्णयमा आइसिसी र खेलाडीको साथ रहन्छ। प्रधान मन्त्री आफैँले निकास दिन चाहे विवादरत अन्य तीन पक्ष पनि आफँै बाटो लाग्न बाध्य हुनेछन्। समाधानमा सबैभन्दा ठूलो भूमिका रहने आइसिसीसँग नेपाली क्रिकेटको विषयमा धेरै विकल्प छैनन्। वार्षिकरूपमा दिने केही करोड रुपियाँको 'दम्भ' ले कुनै पनि देशको सार्वभौमिकतामाथि शासन गर्न खोजे त्यो सधैँ स्वीकार्य नहुने आइसिसीले बुझेको हुनुपर्छ। विश्वभर क्रिकेटलाई विस्तार गर्ने आइसिसीको अभियानमा नेपालजस्तो देशको उपस्थिति महत्वपूर्ण भएको पनि आइसिसीलाई थाहा छ। त्यसैले प्रधान मन्त्रीले आफँै चासो दिएर चाल्ने कदमप्रति आइसिसी सकारात्मक हुने नै छ। किनकि सधैँ सरकारलाई विपक्षी बनाएर नेपालमा क्रिकेट चलाउनु आइसिसीको पनि चाहना नहुन सक्छ।

सबै निकाय र सरोकारवाला आफँै समस्याको कारक भइरहँदा प्रधान मन्त्री दाहालले आफँै अग्रसर भएर आइसिसीलाई पत्राचार गर्नुपर्छ। प्रधान मन्त्री स्तरबाट गरिने कुनै पनि कदमलाई आइसिसीले महत्वका साथ हेर्ने गर्छ। आइसिसीबाट अहिलेसम्म दोस्रो वा त्योभन्दा तल्लो दर्जाका कर्मचारीले नेपाल मामला हेरिरहेका छन्। प्रधान मन्त्रीले सोझै आइसिसीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल निम्त्याएर वा आफ्ना विशेष दूत आइसिसी पठाएर दीर्घकालीन समाधानको पहल थाल्नुपर्छ। तर त्यसअघि वर्तमान विवादका सबै पक्ष (आफ्नै कार्यकर्तासहित) लाई बेवास्ता गर्दै विज्ञहरूको सहयोगमा उनले नेपाली क्रिकेट विकासका लागि निष्पक्ष र ठोस योजना तर्जुमा गर्नु आवश्यक छ।

प्रकाशित: २३ श्रावण २०७३ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App